माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन नाटकीय : मन्त्री विश्वकर्मा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन नाटकीय : मन्त्री विश्वकर्मा



काठमाडौं, १ कार्तिक ।

वाणिज्यमन्त्री मिन विश्वकर्माले तोकिएकै मितिमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुने स्पष्ट पारेका छन् । उनले भने,‘वामपन्थीहरुलाई भन्दा हामीलाई निर्वाचनको चिन्ता बढि छ।’

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री विश्वकर्माले निर्वाचन हुँदैन कि भनेर शंका गर्ने आधार नै नभएको जिकिर गरेका हुन् ।

उनले थपे,‘निर्वाचनप्रति पूर्ण प्रतिबद्ध छौं, हामीसँग ७० वर्षको निर्वाचन अनुभव छ, हामी निर्वाचनबाट कुनैपनि हालतमा डराउँदैनौं, अहिलेसम्म हामीले कहिले दुई तिहाईपनि ल्याएका छौं, कहिले एक तिहाईमै पनि खुम्चिएका छौं, बरु एमाले र माओवादी केन्द्र मिलेर उम्मेद्धवार दर्ता मनोनयनको मिति सार्न आग्रह गरेका थिए, तर प्रधानमन्त्रीले निर्वाचन गराउने कुराबाट कोही पछि हट्नुहुँदैन भनेर तीनीहरुको प्रस्ताव ठाडै अस्विकार गर्नुभएको थियो, यसले के बुझिन्छ भने एमाले र माओवादीले चुनाव सार्न खोजेका थिए ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले आफूहरुले तोकिएकै मितिमा चुनाव गराउने विश्वास दिलाए । निर्वाचन आयोगलाई निर्वाचन समयमै सम्पन्न गराउनको लागि जस्तोसुकै सहयोग गर्न पनि सरकार तयार रहेको उनले बताए ।

मओवादी केन्द्रका मन्त्रीहरुले अहिले प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना गरेकोप्रति टिप्पणी गर्दै उनले भने,‘हरेक मान्छेहरु आउने बेलामा प्रशंसा गर्छन तर छोड्ने बेलामा रिसाएर जान्छन्, यो स्वभाविक कुरा हो, माओवादीका मन्त्रीहरुले आलोचना गर्नु नौलो होईन्।’

वामपन्थी गठबन्धन गरेका दलहरुले कम्युनिष्ट साम्यवाद ल्याउँछौं भनेर सार्वजनिक अभिव्यक्ति दिएकोले आफ्नो पार्टी संशकित बनेको मन्त्री विश्वकर्माले स्पष्ट पारे । यद्धपी उनले वाम गठबन्धनबाट आफूहरु नडराएको जिकिर गरे ।

प्रधानमन्त्रीय प्रणालीमा माओवादी केन्द्रका मन्त्रीहरुले राजिनामा नदिएको विषयलाई लिएर उनले नैतिकताको प्रश्न उठाए । उनले भने,‘सरकारमा एउटा पार्टीसँग बस्ने अनि प्रतिपक्षी दलसँग तालमेल र एकता प्रयास गर्ने यो नैतिक रुपमै नसुहाउने कुरा हो, संसदीय व्यवस्थामा यसो गर्नुहुन्न, यसले स्वयम् माओवादी केन्द्रको गरिमालाई स्खलित गर्ने र जनतामा नङ्ग्याउने काम गरेको छ।’

उनले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन नाटकीय भएको र निर्वाचनको मुखमा सरकार ढाल्ने षड्यन्त्र भएकोले आफूहरुले अरु दलको समर्थन लिएको स्पष्ट पारे ।