मन्त्रीपरिषद् बैठक : प्रादेशिक योजना आयोग गठन - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

मन्त्रीपरिषद् बैठक : प्रादेशिक योजना आयोग गठन



बुटवल । प्रदेश नम्बर ५ मा प्रादेशिक योजना आयोग गठन गरिएको छ । मन्त्रीपरिषद्को मंगलबार बसेको बैठकले तीन सदस्यीय योजना आयोग गठन गरेको हो ।

प्रदेशको विकासका लागि योजनाको निर्माण महत्वपूर्ण पाटो रहेको भन्दै सरकारले योजना आयोग गठन गरेको हो । मंगलबार बसेको मन्त्री परिषद बैठकले आयोगको गठन तथा कार्यसञ्चालन बिधि पारित गरेको छ । मुख्यमन्त्री अध्यक्ष हुने योजना आयोगको उपाध्यक्षमा राष्ट्र बैंकमा कार्यरत डा. प्रकाश कुमार श्रेष्ठलाई नियुक्त गरिएको छ । श्रेष्ठले अर्थशास्त्रमा विद्यावारिधी गरेका छन् ।

तीन सदस्यीय आयोगमा एक महिलासहित दुई सदस्य भने पछि नियुक्त गरिने छ । आयोगमा भौतिक पूर्वाधार विकास तथा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव पदेन सदस्य र सदस्य सचिवमा मुख्यमन्त्री कार्यालयका सचिव रहने व्यवस्था गरिएको छ ।

योजना आयोगले बिभिन्न निकाय तथा मन्त्रालयबाट आउने योजनाहरुको समुचित अध्ययन गरी दीर्घकालीन, मध्यकालीन र अल्पकालीन योजना निर्माणको काम गर्ने भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बताए । आयोगले केही दिनमै पूर्ण पाउने र असारमा आउने बजेट निर्माण अघि नै कार्यक्रम निर्धारण गर्ने उनले जानकारी दिए ।

‘मुख्यमन्त्रीले सबै मन्त्रीहरुलाई आफ्नो मन्त्रालय क्षेत्रमा पर्ने योजना तथा बर्तमान अवस्थाको विषय अध्ययन गरेर प्रतिवेदन बनाउन निर्देशन दिनुभएको छ, सरकार प्रवक्ता समेत रहेका चौधरीले भने–‘त्यसकै आधारमा सरकारको नीति तथा कार्यक्रम तय हुन्छन ।’

बैठकले मुख्यमन्त्रीको प्रेस सल्लाहकारमा शेर बहादुर केसीलाई नियुक्त समेत गरेको छ । नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष केसीले बुटवलमा रहेर झण्डै २० वर्ष पत्रकारिता गरिरहेका छन् ।