मन्त्री बिष्टको सक्रियता बढेपछि म्यानपावर व्यवसायी आत्तिए - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

मन्त्री बिष्टको सक्रियता बढेपछि म्यानपावर व्यवसायी आत्तिए



काठमाडौँ– वैदेशिक रोजगारीको क्षेत्रमा देखिएको बेथिति अन्त्य गर्न श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले तयारी थालेपछि म्यानपावर व्यवसायी त्रसित भएका छन्। बैदेशिक रोजगारीको क्षेत्रमा देखिएका सबैखाले बेथिति अन्त्य गर्न मन्त्री बिष्टको सक्रियता बढेपछि म्यानपावर व्यवसायी आत्तिएका हुन्।

मन्त्री विष्टले वैदेशिक रोजगारीका सबै ठाउँमा बेथिति देखिएको भन्दै भित्रभित्रै तयारी गरिरहेका छन्। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेको एक महिनासम्म पनि मन्त्री विष्टले तयारी नै गरिरहेको बताएपछि व्यवसायीलाई थप सशंकित बनाएको छ। श्रम मन्त्रालय सम्हालेपछि मन्त्री विष्टले विभिन्न मन्त्रालय, कूटनीतिक नियोग, मन्त्रालय मातहतका विभाग र बोर्डका पदाधिकारीसँगै आन्तरिक गृहकार्य पनि गरिरहेका छन्।

मन्त्री विष्टलाई भेट्न पुगेका व्यवासायीलाई भने मन्त्री विष्टले सबैपक्षसँग छलफल गरेर मात्रै निर्णय लिने बताएपछि व्यवसायीले बेवास्ता गरेको बताएका छन्। म्यानपावर व्यवसायी भित्रै संघमाथि प्रश्न उठाउन थालेका छन् ।

स्वास्थ्य व्यवसायीले भने म्यानपावर व्यवसायीको कुरा सुनेर मन्त्रीले निर्णय गर्न थालेको आरोप लगाएका छन्। मन्त्री विष्टले गरेका पछिल्ला दुई निर्णय म्यानपावर व्यवसायीले यसअघि नै माग गर्दै आएका थिए । स्वास्थ्य व्यवसायीको सिन्डिकेट तोड्न र नयाँ म्यानपावर कम्पनी दर्ता बन्द गर्नुपर्ने म्यानपावर व्यवसायीका पनि माग थिए।

अहिले म्यानपावर दर्ता रोकिएको छ भने स्वास्थ्य परीक्षण सरकारी अस्पतालबाटै गराउने तयारी सुरु भएको छ। अहिले नेपालमा आन्तरिक तयारी र रोजगारदाता देशसँग कूटनीतिक पहल भैरहेको छ। मन्त्रालयले समिति नै बनाएर काम थालेको छ ।

यस्तै मन्त्रीले म्यानपावर कम्पनीविरुद्ध पनि एक्सन लिने तयारी गरिरहेको म्यानपावर व्यवसायीको बुझाई छ । श्रम मन्त्री विष्टले गृह मन्त्री र गृह सचिवसँग छलफल गरिसकेका छन् । केहि दिनमै एक्सनमा जाने मन्त्रीले संकेत गरिसकेका छन् ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री विष्टले भने, ‘अब वैदेशिक रोजगारीको क्षेत्रमा कसैको राज चल्दैन, तपाईहरु ढुक्क भए हुन्छ केहि दिनमै यसको नतिजा देख्न पाउनु हुन्छ, मैले गृह मन्त्रालयसँग समन्वय गरिसकेको छु ।’

मन्त्री विष्टले यतिमात्रै भनेनन् । पहिले लागत तोकिएका देशको लागतमा पुर्नरविचार नगर्ने र कार्यन्वयन गरेरै छाड्ने समेत बताए । फ्रि भिसा, फ्रि टिकटको निर्णय कार्यन्वयन गरेरै छाड्ने मन्त्री विष्टले बताए । अरु देशको हकमा भने अध्ययन गरेर शुल्क निर्धारण गर्न समिति बनाएका छन् ।

मन्त्रीको संकेतले एक्सन लिने तयारी गरेको र त्यसको संघले प्रतिरक्षा गर्न नसकेको भन्दै म्यानपावर व्यवसायीभीत्र खैलाबैला सुरु भैसकेको छ । बिमल ढकाल समुहले काम गर्न नसकेको आरोप संघलाई लगाएका छन् । वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष समेत रहेका बिमल ढकालले श्रम मन्त्रालय गैरसरकारी संस्था र माफीयाको इसारामा चलेको आरोप लगाएका छन् ।

यस्तै उनले संघका वर्तमान अध्यक्ष सहितका पदाधिकारीको कमजोरीका कारण म्यानपावर व्यवसायीलाई अप्ठेरो पर्न लागेको बताएका छन्। व्यवसायीले ल्याउने माग पत्र दूतावासबाट प्रमाणित गर्न लगाउनुले म्यानपावर व्यवसायीलाई अप्ठेरो पार्ने संकेत गरेको म्यानपावर व्यवसायीको बुझाई छ । म्यानपावर कम्पनीले नक्कली माग पत्र ल्याएर कामदार ठगेपछि माग पत्र दूतावासबाट अनिवार्य प्रमाणित गराउनु पर्ने निर्णय भएको छ ।

मन्त्रीका यी निर्णय रोक्न नसकेको भन्दै संघका अध्यक्षको आलोचना भएको छ । प्रधानमन्त्री, परराष्ट्रमन्त्री र श्रम मन्त्री आफ्नै पार्टीको हुँदा पनि निर्णय रोक्म्न नसकेको भन्दै ढकालले संघका अध्यक्ष रोहन गुरुङको आलोचना गरेका हुन् । संघको चुनावमा ढकाल गुरुङसँग पराजित भएका थिए । यसअघिको कार्यकालमा अध्यक्ष रहेका ढकालले आफूले यस अघि यस्ता निर्णय गर्न मन्त्रीलाई रोकेको दावी गरेका छन् ।

संघका वरिष्ठ उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष रामप्रसाद भन्तनाले भने मन्त्रीका गलत निर्णय रोक्न सबै व्यवसायी एक हुनु पर्ने बताए । उनले मन्त्रीका पछिल्ला गतिविधिले वैदेशिक रोजगारलाई व्यवस्थित नगर्ने बरु अझै समस्या थपिने बताए । मन्त्रीका हरेक निर्णयलाई संघले नजिकबाट नियालीरहेको भन्दै व्यवसाय बन्द गर्नु पर्ने अवस्था आउनसक्नेतर्फ सचेत रहेको बताए । उनले भने, ‘सरकारले गरिसकेपछि निर्णय मान्नुपर्छ, निर्णय मान्न सकिएन भने व्यवसाय छाड्नुको विकल्प हामीसँग छैन ।’