मन्त्रालय बाँडफाँडका लागि नेताबीच छलफल - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

मन्त्रालय बाँडफाँडका लागि नेताबीच छलफल



धनगढी , कैलाली  । मुख्यमन्त्रीको सपथ ग्रहणकै दिन सानो आकारमा भए पनि मन्त्रीमण्डल विस्तार गर्ने गरि बाम गठबन्धनले छलफल शुरु गरेको छ ।  एमाले प्रदेश ईन्चार्ज भीम रावल र माओवादी प्रदेश ईन्चार्ज लेखराज भट्टबीच सरकार विस्तारमा कसरी अगाडि बढ्ने भन्नेबारे बिहीबार छलफल भएको हो ।

एमाले प्रदेश कार्यालयमा दुई नेताबीच भेट भएको हो । मुख्यमन्त्रीको सपथकै दिन सानो आकारमा भए पनि मन्त्रीपरिषद विस्तार गर्नेबारे दुई नेताबीच प्रारम्भीक छलफल भएको र दुई नेताबीच शुक्रबार पुनः छलफल हुने बताइएको छ । कुन मन्त्रालय कसले लिने भन्ने शुक्रबार टुङ्गो लाग्ने बताइएको छ ।

 मुख्यमन्त्रीसहित ७ सदस्यीय मन्त्रीमण्डलमा माओवादीले दुई मन्त्रालय पाउने संभावना छ ।    माओवादी सचिवालय सदस्यसमेत रहेका प्रदेश ईन्चार्ज भट्टले सरकार गठनबारे दुई दलबीच छलफल शुरु भएको बताए । उनले सपथ ग्रहणकै दिन सानो आकारमा मन्त्रीमण्डल गठन हुने संभावना रहेको बताए ।

एमाले–माओवादीले कुन–कुन मन्त्रालय पाउने भन्नेबारे शुक्रबार टुङ्गो लाग्ने भट्टले बताए । ‘भोलि मन्त्रालय बाँडफाँटको टुङ्गो लागेपछि हाम्रो पार्टीबाट मन्त्री को बन्ने भन्ने पर्सि बिहानसम्म टुङ्गो लगाई सक्छौं ।’ भट्टले भने, ‘सपथ ग्रहणकै दिन सानो आकारमा भए पनि मन्त्रीमण्डल विस्तार गर्ने गरि छलफलहरु भईरहेका छन् ।’

 माओवादीबाट कैलालीकी बिनिता चौधरी मन्त्री बन्ने लगभग तय भएको बताइएको छ । महिला र थारु समुदायको प्रतिनिधित्वका लागि पनि चौधरी मन्त्री बन्ने संभावना बलियो रहेको माओवादी नेताहरुले बताएका छन् । माओवादीले अर्को अर्थ मन्त्रालय पाएमा झपट बोहरा र अर्थबाहेक अन्य मन्त्रालय पाएमा दार्चुलाका सांसद मानबहादुर धामी र बैतडीका प्रेमप्रकाश भट्टमध्ये एक जना मन्त्री बन्ने संभावना रहेको बताइएको छ ।

एमालेमा बाजुराका एमाले वैकल्पिक केन्द्रीय सदस्य प्रकाश शाह, कैलाली जिल्ला अध्यक्ष दीर्घ सोडारी, कञ्चनपुरका अध्यक्ष तारा लामा तामाङ्ग तथा बैतडीका लिलाधर भट्ट र डडेल्धुराका पठानसिंह बोहराको नाम मन्त्रीको चर्चामा छ ।

 शाह र सोडारी संसदीय दलको नेताको दावेदार हुन् । संसदीय दलको नेता चयन भए दुई मध्ये एक जनालाई दलको नेता र अर्कोलाई शक्तिशाली मन्त्रालय दिने गरि सहमति हुनसक्ने एमालेका एक सांसदले बताएका छन् । एमाले संसदीय दलको बैठक शुक्रबार बिहान बस्दै छ । बैठकले संसदीय दलको नेता चयन गर्र्ने बताइएको छ । epaschimtoday बाट