मकाउमा रोजगार राम्रो छ भन्दै अझै पनि नेपालीहरू ठग्ने कार्य रोकिएनन् - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

मकाउमा रोजगार राम्रो छ भन्दै अझै पनि नेपालीहरू ठग्ने कार्य रोकिएनन्



कर्ण बहादुर अधिकारी 

नेपालीहरूका लागि बैदेशीक रोजगारीको सुनौलो गन्तव्य स्थल चीनको स्वशासित क्षेत्र मकाउ पनि एक हो।लगभग ३०.३ वर्ग किलोमिटरमा फैलिएको मकाउ विश्वका सम्पन्न शहरहरूको सुचीमा पर्दछ। सन १९९९ भन्दा अगाडी पोर्चुगलको अधिनमा रहेको मकाउलाई सन १९९९को डिसेम्वरमा २० तारिकका दिन चीनलाई हस्तान्तरण गरिएको थियो।मकाउ भौगोलिक बनावटले सानो भएता पनि आर्थिक हैसियतमा भने एकदमै सम्पन्न छ।यहाँको हावा पानी पनि हामीहरू नेपालीहरूका लागि एकदमै राम्रो छ। यहाँ लगभग ६ लाख ५० हजार जति मानिसहरू बसोबास गर्छन।शालिन महलै महलबाट निर्मित यस शहर होटल र क्यासिनोले नै भरी पूर्ण रहेको छ।मकाउमा लगभग ३०/३५ को हाराहारीमा ठुला ठुला क्यासिनो र तारे होटलहरू छन्।भेनिशियन,ग्यासेक्सी,एम.जी.एम,सेण्ड्स ,ग्रयाण्ड लिस्वो, वीन,सिटी अफ ड्रिम्स यिनीहरू मकाउका सबै भन्दा ठुला होटल र क्यासिनो हुन।यस क्यासिनोमा काम गर्नेको पारीश्रमिक पनि राम्रो नै छ।

यहाँको आर्थिक स्रोत नै होटल र क्यासिनो ब्यवसाय हुन।यहि होटल र क्यासिनो नै प्रमुख ब्यवसाय भएको हुँदा पैसाको कारोबार पनि अधिक हुने हुनाले यी होटल र क्यासिनोका संचालकहरूले नेपाली गोरखालीहरूको पहिचानका आधारमा गोरखालीहरूले नै सुरक्षाको जिम्मेबारी बहन गर्न सक्छ भन्ने सोच लिएर सन १९९६ देखि गोरखालीको नामले मकाउमा नेपालीहरूलाई सुरक्षाकर्मीको रूपमा हाल सम्म रोजगारी दिदै आई रहेको छ।हाल ३९९६ नेपालीहरू मकाउमा कार्यरत छन्।नेपाली प्रति बिश्वासका कारण अति नै संबेदनशील मकाउ जेलमा समेत नेपालीलाई नै सुरक्षाको जिम्मेवारी दिएको छ।प्रथम पटक सन १९९६मा नेपाल,मैतिदेवी स्थित माउन्टेन ओभर्सिजले पुष्पा गुरूङ मार्फत मकाउमा नेपाली सेक्युरिटी ल्याउने कामको सुरूवात भएको थियो भने त्यस पछि एक्सकम म्यानपावर कम्पनी,ब्रिटिस गोरखा ओभरसिज लगाएत एकदमै चर्चित म्यानपावर कम्पनी एकता ईन्टर नेशनल ओभरसिज र वल्डवाईड म्यान पावर कम्पनीले मकाउमा सेक्युरिटी ल्याउने काम गर्दै छन।

यसरी नेपाल स्थित म्यानपावर कम्पनी मार्फत आउँदा कुनै पनि नेपालीहरू ठगिनु परेन।म्यानपावर मार्फत आउँदा नेपाली ठगिने संभावना एक दमै कम हुन्थ्यो भने पछि नेपालीहरू मकाउ प्रति लालायित भए पछि नेपालमा नेपालीहरूलाई एजेन्टले बिभिन्न प्रलोभन देखाएर मकाउ ल्याएर अलपत्र पारेका घटनाहरू धेरै छन् ।आज भन्दा ६/७ वर्ष अगाडीसम्म मकाउ नेपालीहरूका लागि पनि फ्रि पोर्ट थियो एयरपोर्टमा १ महिनाको भिषा लाग्थ्यो त्यहि समयमा मौकाको फाईदा उठाउँदै दलालहरूले नेपालीहरूलाई ठग्नु सम्म ठग्यो।सन २०१० पछि भने नेपालीकै कारणहरूले गर्दा मकाउ सरकारले नेपालीका लागि फ्रिपोर्ट बन्द गरिदियो र मकाउ घुम्न आउँनका लागि स्पोन्सर गरेर मात्र भिजिट भिषाका लागि नेपाल स्थित चाईना एम्विसीबाट लाग्ने भए पछि दलाली गर्नेहरूको केहि कमी त भयो तर ठगी गर्ने र अलपत्र पार्ने काम भने रोकिएन।बिभिन्न तवरबाट मकाउमा नेपालीहरू भित्राई रहे।

दलालहरूले भिजिट भिषामा मकाउमा मान्छे ल्याउने र यहाँकै एजेन्सीहरूसंग समन्वय गरी काम लगाई दिने माहौलको वृद्धि हुन थाल्यो यसरी काम लगाउँदा २ महिनाको तलव एजेन्सी फी भन्दै लिने चलन रहदै आएको छ।भिषा पनि लगाउछन् काम पनि मिलाई दिन्छन तर भिषा हुँदा हुँदै बिभिन्न गल्ति देखाएर जागिरबाट हटाई नेपाल पठाई दिन्छन् र रिक्त रहेको ठाउँमा अर्को नेपालीलाई त्यसरी नै फसाईन्छ। मकाउ दलालीहरूका लागि कमाई खाने माध्यम बनेको छ।नेपालबाट मकाउ आउँदा पनि मोटो रकम लिने गर्छन तर काम र दाम भने सोचेको जस्तो पाईदैन।

मकाउमा भिजिट भिषामा जागिर दिने भनेको सेक्युरिटी सप्लाएर्स कम्पनीहरू,हाउस किपिङ,लण्ड्री, घरेलु कामदारका रूपमा र कतै कतै रेष्टुरेन्टमा पनि काम लगाईएको पाईएको छ।यसरी काम गर्ने हरूको तलव पनि कम हुन्छ त्यसैले आदरणीय दाजुभाई तथा दिदिबहिनीहरू तपाईहरू एजेन्टको कुटिल चालमा परेर भिजिट भिषामा मकाउमा आएर काम गर्छु भन्ने सपना नदेख्नु होला।मकाउ तपाईहरूले कल्पना गरेको भन्दा फरक पनि हुन सक्छ।यहाँ यसरी आएर काम गर्नेहरूको हालत कस्तो छ भन्ने हामीले प्रत्यक्ष देखेका छौ।मकाउ आउँदा मकाउका लागि आधिकारीक रूपमा काम गर्ने म्यान पावर कम्पनी मार्फत आउनका लागि अनुरोध गर्दछु।

आधिकारीक रूपमा मकाउका लागि मात्रै काम गर्ने म्यान पावर कम्पनी मार्फत आउदा ठगिने संभावना एकदमै कम र पैसा पनि तोकिएको मात्र हुन्छ।आफु खुशी लिने भन्ने हुदैन।मकाउ आउँदा सबै कुरामा बिचार पुराएर काम गर्नु पर्दछ।हैन भने पछि पछुताएर केहि हुदैन।आफ्नै साथीले पनि मकाउमा फसाएका थुप्रै उदाहरण छन।केहि दिन अगाडी स्याङ्जा नयाँ बजारका नवराज रेग्मी लगाएका २ जनालाई भिजिट भिषामा मकाउमा कार्यरत रहेका नेपालीले ल्याएर काम दिन नसकेर अलपत्र अबस्थामा पारेका छन।नीज पीडित ब्यक्तिसंग समन्वय गर्दा जागिर लगाई दिन्छु भन्ने आश्वासन अझै दिई रहेको छ भन्छन। यदि मकाउमा नेपालीलाई पीर मर्का परेमा बेदना पोख्ने ठाउँ भने एकदमै कम छ।नेपालीका हितका लागि भनेर खोलिएको संस्था मकाउ सरकारमा दर्ता भएको २/३ वटा दर्ता नभएका केहि संघ संस्था छन्:-
१.गैर आबाशीय नेपाली संघ मकाउ।
२.नेपाली जनसम्पर्क समिति मकाउ।
३.नेपाली मैत्रीपूर्ण संघ मकाउ।
४. मकाउ तामाङ्ग घेदुङ्।
५.ब्रदर हुड एशोशियसन मकाउ।
६.किराँत राई यायोक्खा मकाउ।
७.तमु समाज मकाउ।
८.प्रवासी नेपाली मञ्च।
९. किराँत चुम्लुङ्ग याक्थुङ् मकाउ।
१०. नेपाली समाज मकाउ।
यी संस्थाहरूले मकाउमा कार्यरत रहेका नेपालीहरू र नेपालमा पीडामा रहेका दुखिहरूको परी आएको समस्याहरूलाई समाधान गर्ने माध्यम बनेको छ।त्यसैले यस्ता संघ संस्थाहरूका बारेमा पनि जानकारी लिन जरूरी छ।मकाउमा नेपालीहरूका लागि नेपाली महाबाणिज्य दुताबास नभएको हुदाँ सबै कामहरू हङ्कङ स्थित नेपाली माहाबाणिज्य दुताबासले नै गर्दै आई रहेको छ।
तपाईहरू माझ मकाउको हालको स्थिति बारेमा पनि जानकारी गराउनु मेरो कर्तव्य हो।ब्यापारको हिसाबमा मकाउको विजनेश अहिले निकै नै तल झरेको छ।५ बर्ष यता कै सबै भन्दा कम खासै भन्दा आउँदा दिनहरूमा अझै घट्ने कुराहरू तथ्याङ्कबाट देखिन्छ।साना साना क्यासिनो बन्द हुने अबस्थामा छ किनकी मकाउमा ९०%भन्दा बढि क्यासिनो खेल्ने खेलाडी चीनको जनता नै हुन।बिगत केहि महिना देखि चीनले मकाउका लागि भिषा प्रणालीमा कडाई गरेको हुँदा महत्वपूर्ण खेलाडीहरू नै आउने बाटोहरू बन्द छन तसर्थ मुल नै सुके पछि त्यहि रहेको पानी मात्रै खाने हो भने झै भएको छ।केहि दिन अगाडी मात्रै ग्यालेक्सी क्यासीनोबाट १०० जनाको हारहारीमा नेपाली सेक्युरिटी कटौती गरेको छ।अझै नेपालीहरूको संख्या घट्ने पक्का पक्की नै छ।मकाउ सरकारले पनि ओभरसिज वर्करलाई भन्दा स्थानीयहरूलाई नै स्थान दिने रणनीति अपनाई रहेको छ ।नयाँ खुल्ने क्यासिनोहरूको ओभरसिज कोटामा अझै पनि मकाउ सरकारले स्वीकृति दिएको छैन।चीनको उदेश्य पनि बिस्तारै मकाउबाट क्यासिनो बिस्तापित गराएर पर्यटन व्यवसायलाई प्राथमिकता दिनु पर्छ भन्ने सोचमा अगि बढि रहेको छ।त्यसैले मकाउ आउने सोच गर्नु भएको छ भने मकाउको बस्तु स्थितिका बारेमा पनि बुझ्नु हुन अनुरोध गर्दछु।

लेखक हाल मकाउ,चीनमा छन् ।