महायज्ञको तयारी अन्तिम चरणमा , प्रदेश प्रमुख मल्लले उद्घाटन गर्ने - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

महायज्ञको तयारी अन्तिम चरणमा , प्रदेश प्रमुख मल्लले उद्घाटन गर्ने



लोकेन्द्र रावल / टीकापुर ,कैलाली ।।

कैलालीको जानकी गाउंपालिका–३ भगतपुरमा फागनु ७ गतेबाट आयोजना हुने महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ ।

महायज्ञ उद्घाटन प्रदेश नं. ७ का प्रमुख मोहनराज मल्लले  उद्घाटन गर्ने आयोजक समितिका संयोजक महेन्द्रसिंह बमले जानकारी दिनुभयो । उहांले धर्म रक्षा र दिगो शान्तिका लागि महायज्ञ गर्न थालिएको बताउंदै विशालधाम स्थापना गर्ने उद्देश्य आयोजकले राखेको बताउनुभयो ।

नेपालकै नमूना राधाकृष्ण दिव्य धाम निर्माण गर्ने उद्देश्यले फागनु ७ गतेबाट आयोजना गर्न थालिएको विराट श्रीमद् भागवत ज्ञान महायज्ञ तथा कैलाली धार्मिक महा महोत्सव २०७४ को तयारी तिब्र भइरहेको आयोजकले जनाएका छन् ।

ईश्वर प्रेमी सेवा आश्रमको आयोजनामा हुन थालेको महायज्ञ फागनु १४ गतेसम्म चल्ने महायज्ञ आयोजक मूल समितिका संयोजक महेन्द्रसिंह बमले बताउनुभयो । महायज्ञमा ईश्वर प्रेमी सेवा आश्रमका पीठाधीश आवाल ब्रह्मचारी माध्वौ गौडेश्वर वैष्णवाचार्य श्री १००८ महा मण्डलेश्वर स्वामी ईश्वर चैतन्य जी महाराजले कथावाचन गर्नुहुने भएको छ ।

महामण्डलेश्वर स्वामी ईश्वर चैतन्य जी महाराजले हत्या हिंसाबाट त्रसित मानव समाजमा देखिएको विकृति र विसंगतिको अन्त्य गर्दै समाजमा सतसंग, अनुशासन, आदर सम्मान र सद्भाव कायम गर्न महायज्ञ आवश्यक रहेको बताउनुभयो । चैतन्य महाराजले महायज्ञले परस्परमा बैमनस्यता त्यागेर सर्वधर्म समन्वयको भावना जागृत गराउने बताउंदै भन्नुभयो ‘बैदिक सनातन मान्यतालाई आत्मसात गरी सदाचारी समाजको निर्माणार्थ कुरिति, कुसंस्कार ,अन्धविश्वास हटाई अमूल्य उज्जवल जीवनका लागि महायज्ञ गर्दैछौं ।’ चैतन्य महाराजले भन्नुभयो ‘हाम्रो ठाउं राम्रो हो । खानपान र व्यवहारले नराम्रो भएको छ ।’

‘महाराज कसैको हुंदैन, म नेपाल आमाको छोरा हुू, केही गरौं भनेर लागेको छु ।’ उहांले नेपाल आमाको पीडा, आमाको पीडा र गौमाताको पीडा हटाउन यस्ता महायज्ञ आवश्यक रहेको बताउनु भयो । महायज्ञमा शान्ति कलश, जोडी शान्ति कलशपञ्च कलशसमेत खरिद गर्न सकिने छ ।

महायज्ञमा भक्तजन तथा दान दाताहरुलाई ५ हजार एक सय शान्ति कलशको दिव्य दर्शन, १००८ तुलादान, भूमिदान, अन्नदान, १००८ सालिग्रामको दिव्र्यदर्शन, गौदान, चौरासी दान, ब्रतबन्ध, विवाह, नौ ग्रह शान्ति पूजा, पितृ पूजा, ब्राह्मण भोजन, प्रसाद वितरण, ग्रह शान्ति, विवाह लगायतका कार्यक्रम हुने आयोजक समितिका महासचिव पुष्प बमले जानकारी दिनुभयो । महायज्ञमा दान गर्ने दाताहरुलाई सम्मान गरिने समेत व्यवस्था गरिएको छ ।

महायज्ञमा दैनिक योग विज्ञान शिविर, भागवत, रुद्री, चण्डी, वेद पाठ, भागवत मूल पारायण, संगीतमय कथा प्रवचन तथा भजन किर्तन, काल संस्कार, बृहत भागवत चर्चा, कृष्ण लिला राम लिला तथा थारु झांकी दर्शनको कार्यक्रम हुने आयोजकले बताएको  छ ।