मोहम्मद सालह: राष्ट्रिय टिम छोड्न चाहन्छन् ! - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

मोहम्मद सालह: राष्ट्रिय टिम छोड्न चाहन्छन् !



इजिप्टको फुटबल एसोसिएसनले आफू र स्टार खेलाडी मोहम्मद सालहबिच कुनै किसिमको समस्या नरहेको बताएको छ । सालहले राष्ट्रिय टिम छोड्न सक्ने खबर आइरहेका बेला इएफएले खेलाडी र आफूबिच कुनै समस्या नरहेको बताएको हो ।

तर इएफएसँग लगातार असहमति भइरहेको र विवादको क्रम चलिरहेकाले सालहले राष्ट्रिय टिम छोड्ने बारेमा सोचिरहेको खबर सिएनएनले प्रकाशित गरेको थियो ।

चेचन लिडर रामाजान काडिरोभसँग तस्बिर खिचाउन लगाएपछि साहल बेखुशी भएको खबरमा उल्लेख गरिएको छ । तर इएफएले भने सालहले राष्ट्रिय टिम छोड्न लागेको भन्ने खबर पूर्णरुपले असत्य रहेको बताएको छ ।

उसले भनेको छ, ‘यो खबर पूर्ण असत्य हो । सालह हामीसँगै छन् र प्रशिक्षण क्याम्पमा खुशी छन् । उनी साथी खेलाडीसँग रमाइरहेका छन् । उनले राम्रोसँग प्रशिक्षण पनि गरिरहेका छन् ।’

खेलाडीलाई राजनीतिक प्रोपोगाण्डाका लागि प्रयोग गरेको आरोप लागेका काडिरोभसँग सालहले तस्बिर खिचाएका थिए । इजिप्ट विश्वकप फुटबलको क्रममा चेचेन्यामा आधारित छ ।

शनिबार सालहका एजेन्ट रामी अब्बासले गरेको ट्वीटले पनि सालह र इएफएबिच समस्या रहेको संकेट गरेको थियो । काडिरोभमाथि मानवअधिकारको उल्लंघन गरेको आरोप लाग्ने गरेको छ, जुन आरोप उनले अस्वीकार गर्दै आएका छन् ।

सालह र इएफएबिच गएको अप्रिलमा तस्बिरको अधिकारका बारेमा विवाद भएको थियो । सालहको तस्बिर इएफएले आफ्नो प्रायोजकको प्रोसनका लागि प्रयोग गरेको थियो । तर सालहले भने आफ्नो तस्बिरको अधिकार आफैसँग हुनु पर्ने बताउँदै आएका छन् ।