लुम्बिनी विकास कोषको परिसरमा फोहरको डंगुर - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

लुम्बिनी विकास कोषको परिसरमा फोहरको डंगुर



लुम्बिनी : लुम्बिनीको मुटु मानिने महिलवार चोक तथा लुम्बिनी विकास कोषको परिसरमा फोहरको डंगुर थुप्रिएको छ । लुम्बिनीको महिलवारका स्थानीय तथा होेटलहरूले जथाभावी फोहर फालेपछि फोहर थुप्रिँदै गएको छ ।

फोहर थुप्रिएपछि महिलवार क्षेत्रमा दुर्गन्धसमेत बढेको छ । दिनहँु होटलहरूबाट निस्कने फोहर अधिकांश होटलले कोषको कम्पाउण्डभित्र फाल्ने गरेपछि दुर्गन्ध बढेको हो । लुम्बिनी साँस्कृतिक नगरपालिकाले फोहर व्ययवस्थापनमा चासो नदिएपछि लुम्बिनी क्षेत्रमा प्रदूषण बढेको स्थानीयहरू बताउँछन् ।
‘स्थानीय निकायको निर्वाचन भएको महिनांै दिन बित्यो, काम केही भएको छैन फोहर व्यवस्थापन होला भन्दा झन् समस्या बढयो’, स्थानीय व्यवसायी विनोद कोहारले सुनाए । ‘संसारभरबाट पर्यटक घुम्न आउँछन्, चोकमै फोहरको डंगुरले स्वागत गर्छ । यति हुँदा पनि नगरपालिकालाई कुनै चासो छैन’, कोहार भन्छन् ।

फोहरको दुर्गन्धका कारण आन्तरिक तथा विदेशी पर्यटकहरूले हैरानी ब्यहोर्नु परेको छ । पर्यटहरू नाक छोपेर घुम्न बाध्य छन् ।
‘भगवान् गौतम बुद्धको जन्मस्थल कति राम्रो होला भनेको त फोहरै फोहर रहेछ’, विराटनगरबाट लुम्बिनी घुम्न आएका महेश झाले भने– ‘पहिले आउँदा यस्तो भएजस्तो लागेन, अझ विकास भए होला भनेको त झन् फोहरले भरिएछ ।

स्थानीय निकायको निर्वाचनबाट प्रतिनिधि छानिएपछि लुम्बिनीमा फोहरमैला व्यवस्थापन हुनेमा स्थानीय आशावादी थिए । तर नगरपालिकाका प्रतिनिधिहरूबीच नै तालमेल नभएपछि विकासका कामले गति लिन पाएको छैन ।

लुम्बिनी आउने बित्तिकै पर्यटहरूको नजर नै फोहरमा जान्छ । ‘फोहरले विश्वमाझ लुम्बिनीको नकारात्मक सन्देश पुगेको छ’, सिद्धार्थ होटल एशोशिएसन लुम्बिनीका उपाध्यक्ष गोविन्द ज्ञवालीले भने– ‘व्यवसायी र नगरपालिका मिलेर केही गरौँ भनेर प्रस्ताव गर्दासमेत नगरपालिकाले सुनुवाइ गरेको छैन । फोहर व्यवस्थापनका लागि डम्पिङ साइडको व्यवस्था नहँुदा समस्या समाधान हुन नसकेको उनको भनाइ छ ।

फोहर देखेर पर्यटकहरू र अन्य क्षेत्रका व्यवसायीले सारै गुनासो गर्छन्, आफूलाई लुम्बिनीबासी हुँ भन्दा गर्व लाग्नुपर्नेमा झन् लाज लाग्न थालेको ज्ञवालीको गुनासो छ । लुम्बिनीमा फोहर बढ्दै गएपछि स्थानीय मायादेवी प्रगतिशील आमा समूहले सरसफाई अभियान नै चलायो तर सरोकारवाला निकायले नै तदारुकता नदेखाएपछि अभियान अहिले रोकिएको समूहकी सचिव टिका कटेलले जानकारी गराइन् । समूहले मात्रै कति गर्नु जिम्मेवार निकायले दीर्घकालीन उपाय नखोजेसम्म समस्या समाधान नहुने देखेर अहिलेलाई अभियान रोकेको कटेलले बताइन् ।
नगरको विकास र सम्बृद्धिका लागि नगरका प्रतिनिधिहरू एक हुन सकेका छैनन् । बजेट बाँडफाँडमै कुरा नमिलेपछि नगर परिषद्समेत हुन सकेको छैन । वडा नम्बर १० का अध्यक्ष रमजान अली मियाँले बजेट बाँडफाँडको विषयमा धेरै समय लागेकाले अब केही दिनमै फोहरमैला व्यवस्थापनका लागि योजना बनाइने बताए ।
नगरको विकास र बजेट बाँडफाँडमा सबै प्रतिनिधिहरू एकमत नहँुदा काम गर्न समस्या भएको नगरपालिका प्रमुख मनमोहन चौधरीको भनाइ छ । नगरको विकास तथा फोहरमैला व्यवस्थानका लागि आफू तयार भए पनि सबै प्रतिनिधिबीचमा केही अप्ठ्याराहरू भएकाले त्यसको अन्त्य गरी छिटै योजना बनाउने बताए ।
लुम्बिनी नगरमा मात्रै होइन लुम्बिनी विकास कोषभित्र पनि प्रदूषण बढेको छ । घुम्न आउने पर्यटकहरूले आफूले खाएको खाना तथा प्लााष्टिक जथाभावी फालेपछि लुम्बिनीको सुन्दरता बिग्रिएको छ ।

पर्यटकहरूले खाएका प्लाष्टिक तथा पानीका बोतलहरू लुम्बिनीभित्रका पोखरी तथा पार्कहरूमा जथाभावी फाल्दा पनि प्रदूषण बढेको छ । यसतर्फ विकास कोषको पनि ध्यान जानु जरुरी छ । विकास कोषभित्रको सरसफाईका लागि कर्मचारी खटाएको विकास कोषले जनाएको छ ।

नगरपालिकाले डम्पिङसाइडको व्यवस्था गरी नियमित फोहर संकलनको व्यवस्था मिलाउने हो भने समस्या समाधान हुने कोषका वनस्पति अधिकृत सब्बिर खाँले बताए ।