नलेखिएको प्रेम-पत्र

December 30, 2017
29 Views
Spread the love

-अञ्जना केसी-

पुसको महिना चिसो सिरेटो मुटु नै लुग-लुग कमाउने जाडो , सिरकभित्र गुजुल्टिएकी छु । मेरा खुट्टा अहिले सम्म पनि कठ्याङ्रीएका छ्न । भित्ताको घडीले २ बजाइसक्यो । म निदाउन सकेकी छैन । मानौं म दमको रोगी हुँ  र, म पल्टिएर निदाउन सक्दिनँ, उठिरहनुपर्छ ।

यस्तै यस्तै हालत मैले थुप्रै दिन देखि भोगिरहेकी छु । यसरी उठिरहेको पनि महिनौ हुनै आँटेछ । हिमालको बरफजस्ता यी मेरा आँखाहरू पग्लिएर भूपि शेरचनको लेते नदी बन्दैछन् । थाहा छैन, यो नदीमा कति भेलबाढी बग्छन् । कति जंघार र भेल उर्लेर आउँछन् । कति दोभान, त्रिवेणीहरू मिसिएर हराउँछन् ।
जतिबेला देखि म निश्चल तिम्रो प्रेममा परेँ, मेरा दिन मेरा रात कसरी बितिरहेका छन् मलाई थाह छैन, मैले के लेखिरहेकी छु, आफैँलाई थाहा छैन । जे होस् केही न केही त लेखिरहेछु ।

कहिलेकाहीँ म के खाइरहेकी छु, आफैँलाई थाहा हुन्न । के बोलिरहेकी हुन्छु, के गरिरहेकी हुन्छु, त्यो केही पनि थाहा हुन्न । तर पनि म खाइरहेकी छु, बोलिरहेकी छु, गरिरहेकै छु । तर केही थाह पाउदिन । सायद मेरो गिदीको एक चिम्टी भाग निश्चलको पकेटमा अल्झिरहेको छ ।

उ कतै अनलाइन देखिन्छ कि भनेर बेलाबेलामा फेसबुकको म्यासेनजर चेक गर्छु वन आवर अगो २/३/४ आवर अगो देखाउदै गयो फेसबुकले पनि । मलाई अनलाइन देखेर मिठा-मिठा लामा म्यासेजहरुको चाग थपिदै छ । मलाई कसैको लामो म्यासेजमा दिल गएको छैन , अरूको सट्टा निश्चलले हाई मात्र लेखिदिएको भए पनि मेरो दुनियाँ बेग्लै हुन्थ्यो । उसको एक कल वा म्यासेजको लागी म कति तड्पिएकी छु। कास उसले यो कुरा महसुस गरिदिएको भए ।

“किन आउँछ याद तिम्रो सधैँ सधैँ सॉझमा” भन्ने बोलको सुमधुर गीत बज्दैछ, एफएम रेडियोमा। सङ्गीत, आवाज र शब्द कसको होला, थाहा छैन । जसले गाए पनि यो मेरो निम्ति रेकर्ड गरेको एउटा गीत रहेछ । सङ्गीत र शब्द निश्चलको कानैसम्म पुगे नि हुन्थ्यो भनेर म भगवानसँग प्रार्थना गर्छु । त्यसो त मेरो भगवान् आजकल उही त भएको छ । बिहान छ बजेको अलराम सँगै उठेर हातमुख धोएर भगवानको मुख हेर्दै पूजा गर्ने मैले आजकल ऑखा खुल्नसाथ उसलाई हेर्छु । फेसबुकमा अनि मोबाइलको स्क्रिनमा फोटो जुम गरेर एक चुप्पा खाएर “तिम्रो दिन सुखद बितोस” भन्ने कामना गर्दै दिनको सुरुवात गर्छु। मैले भगवानलाई छोडेर उसको पूजा गर्न थालेको धेरै भईसक्यो।

हाम्रो प्रेमको सुरुवाती दिनमा सेकेन्ड, सेकेन्डमा ताजा खबर सुनाउनुपर्थ्यो, उसले पनि मैले पनि। टाउको दुखेको, खोकी लागेको, भोकै सुतेको, निधारमा पसिना आएको, रातमा ऐंठन परेको, राम्रो नराम्रो सपना देखेको खाना नरुचेको सबै थाहा हुन्थ्यो । तर, आजकल खै किन हो अनिदो ले महिनौ रात नसुतिरहदा पनि मर्‍यौ कि ज्युँदै छ भनेर सोधखोज सम्म गरेनौ निश्चल ।

तिमीलाई थाह छ निश्चल ? मलाई छटपटी भयो भने राति घरको छतमा जान्छु । मुखमा उज्यालो बालेर घर अगाडिको बाटोमा बाईकहरु ठुलो आवज गर्दै घुइकिन्छन, मलाई लाग्छ कि यो निलो पल्सर पक्कै निश्चलले चलाइरहेको छ मुसुक्क मुस्कुराउँदै । ऊ मलाई लिन मतिर आइरहेको छ, म उसको कम्मरमा समातेर उसकै पछाडि बस्नेछु अनि यसपालि पनि हामी ककनि जानेछौ, कहिले चोभार जानेछौ । म तिम्रो आडमै बसेर कफिको सुर्पि तान्नेछु अनि लिविस्टिकको डोप पुछेर तिमीलाई खुवाउनेछु। अलिकति लाज मान्दै । धेरै खुसी हुँदै, यस्तै सोचाईले गर्दा मलाई क्यान्सर भएको छ– सोचाइहरूको । फोक्सोको क्यान्सर त्यति ठुलो खतरनाक होइन । छातीको क्यान्सर पनि खासै खतरनाक होइन । सबैभन्दा ठुलो खतरा हो– सोचाइको क्यान्सर । सबैभन्दा प्राणघातक क्यान्सर हो अटुट सम्झनाहरुको । हो, शिथिल हुँदैछु भने सोचाइको कारण हुँदैछु । कमजोर हुँदैछु भने सम्झनाका कारण हुँदैछु । र, मर्दैछु भने निश्चल म तिम्रै कारण मर्दैछु । कहिलेकाहीँ त लाग्छ सोचाईका कारण प्रचन्ड पुत्रलाई जस्तै एक्कासि इन्द्रले मलाई पनि खुसुक्क बोलाउने पो हुन कि।

निश्चल तिमीले मेरो जन्मदिनमा किनिदिएको घडीले मेरो हातमा आफ्नै गतिमा टाइम बजाउदै मलाई हेरिरहेको छ । मेरो मोबाइलमा सेभ तस्बिरहरूले हामी प्रेमीप्रेमिका मात्र थिएनौं, श्रीमान-श्रीमती नै हौँ भन्ने सङ्केत गरिरहेका छन् । मलाई थाह छैन तिमी किन टाढीदैछौ । के यो हाम्रो प्रेम थिएन ? के यो आकर्षण थियो ? वा अरू केही ? मेरो माया यति सस्तो भयो मानौं ठेलामा बेच्न राखिएको बदाम हो । दुईचार गेडा बाटोमा हिँड्ने जो कोहीले निकालेर नि खान सक्छ ।

तिमी के सोचेर बद्लियौ जान्न पाए कति जाति हुन्थ्यो। तर तिमी मेरो कलेजीको कुनामा अझै पनि बिराजमान भएर बसेका छौ। लाग्दैन तिमी बदिलियौ, तिम्रो कमाण्डिङ स्वर, अलिकति हाँसो, तिम्रो चस्मा भित्रका आँखाको भाका र ठट्टाउलो बानीले मेरो हृदयको कुनासँग घरजम गरिसकेका छन् । अनि जीवनको रङ्गशालामा फुटबल खेलिरहेका मेरा यी मानसपटलका चित्रहरू कतै हार स्वीकार गरेर भाग्छन् कि भनेर ‘दिमाग भित्रै कैद गरिरहेकी छु । मलाई थकानको महसुस भएकै छैन सधैँ सधैँ यही दिल भित्र सकुशल र सुरक्षित राखेकी छु । हार्नु छैन मलाई तिम्रो प्रेममा जित्नु छ । काँडा बनेर कसैलाई घोच्नु छैन, गुलाबको फुल बनेर तिम्रो कानमा चुम्बन गर्नुछ । मरेर पनि बाँच्नु छ तिम्रा लागि । तिमीले खाएको खाना, लगाएको लुगा, बोलेको कुरा, घुमेको कुरा याद गरिरहनु छ मलाई, सातै जुनीसम्म । यदि मिल्छ भने आठौ जनम सम्म ।

– जिन्दगीको धावनमार्गमा मेरा चाहना र सपनालाई सफल अवतरण गराउन नसके पनि कम्तीमा उड्न त उड्यो नि हाम्रो पिरतीको जहाज ! अवतरण हुनका लागि उड्न जरुरी हुन्छ । उडिसकेपछि पहाडसँग ठोक्किने कुरा र बादलमा कतै हराउने कुरा, कुहिरोभित्र अल्मलिने कुरा, गति र उचाइ पक्रन नसकिने कुराको पूर्वानुमान गर्न सकिन्न रहेछ निश्चल ! तिमीलाई यो सबै चिजको पूर्वानुमान थिएन तर, मैले हाम्रो मायाको जहाज उडाइरहेको थिएँ । मलाई हम्मेहम्मे थियो खराब मौसम जस्तै मेरो जिन्दगीको परिस्थिति छिचोल्न । त्यो त तिमीलाई पनि थाहा छ कि म असिना–पसिन सहँदै केही मसिना सपना साँचेर बाँचेकी थिएँ। मैले सबै तिम्रो जिन्दगी मागेकी थिईन । तिमी कसैको शरीरको न्यानोमा रात बिताउदा पनि म कठागंरिदो रातमा एक्लै निदाउथे । थोरै खुसीमा पनि धेरै रमाउथे, म पहाडसँग ठोक्किएकी थिएँ, बादलभित्र हराएकी थिएँ, कुहिरोभित्र अल्मलिएकी थिएँ, तर तिम्रो साथले गति र उचाइ लिदै थिएँ । हाम्रो समाजले माया जस्तो पवित्र कुरालाई पनि बर्जित गरेको छ, मॉया जहॉ जो सँग जहिले पनि बस्न सक्छ । तर त्यसको अन्तिम रूप नै विवाह भनेर सिकाएको हाम्रो समाजले तिमी सँगको मायालाई पचाउने सामर्थ्य पक्कै पनि राख्ने छैन भन्ने कुरा जानेरै मैले प्रेम गरे । तिमीबाट मलाई धेरै अपेक्षा पक्कै थिएन । तर तिमीले के बुजेर मसँग प्रेम गर्‍यौ त्यो रहस्यकै गर्वमा लुकेको छ । मलाई त्यो जान्न जरुरी पनि छैन । तर तिमी मलाई तड्पाएर पनि खुसी छौ, खुबै रमाइलोमा छौ । अस्ति फेसबुकमा बुढाबुढीको अँगालो हालेको फोटो हालेको थियौ, त्यो हेर्दा निष्ठुरी दुस्मनले दोबाटोमा उभिएर गुलाफको फुल उचालेको जस्तो लाग्यो मलाई । यसबाटै थाहा हुन्छ, तिमीले बिताइरहेको जुनी कति फरासिलो छ, कति धैरै आनन्दको छ । तर निश्चल ! विगतलाई भुलेर वर्तमानलाई कसरी इतिहास बनाउन सक्छौ ?

म तिम्रो ध्यानाकर्षण गराउन चाहन्छु निश्चल । एक दिन तिमीलाई एक कप तातो कफीले होइन कि मेरो मुरीका मुरी सम्झनाले भतभती पोल्नेछ । तिमीले आफ्नो छातीलाई ज्वालामुखी ठान्नेछौ, तिमीले आफ्नो सपनालाई कुनै भूतले छलकपट गरेको सम्झिनेछौ, तिमीले आफ्नो हरेक दिनचर्यालाई देउरालीमा ध्वजा बाँधेर पहाड नाघेजस्तो धेरै अग्लो पहाड ठान्नेछौ । तिमीले आफ्नै छायामा मेरो अनुहार देख्नेछौ । मेरो ममता देख्नेछौ , तिम्रो जिन्दगीमा कति कस्ता महिला भित्रिए वा किन भित्रिए त्यो तिमी आफै समीक्षा गर। तर मसंगको दिनचर्या पक्कै पनि रमाइलो थियो, मैले काउकुति लगाएका पलहरू, तिमीलाई उचालेका बोकेका पलहरू तिम्रो सामु पटक पटक रोएका पलहरू, तिम्रो मायामा भिजेका परेलीहरु तिमीले पक्कै सम्झिन्छौ ।

सायद यी सबै कुरा ‘मजाक’ लाग्छन् तिमीलाई । ‘भर्चुअल’ दुनियाँमा बाँचेकाहरूसँग भावना हुँदैन । तिमीले धेरैथोक देखेको छौ, जो मैले अहिलेसम्म देख्न सकेकी छैन । तिमीले धेरै कुरा बुझेको छौ, जो मैले अहिलेसम्म बुझ्न सकेकी छैन । तिमीले धेरै कुरा पढेको छौ, जो मैले अहिलेसम्म पढ्न सकेकी छैन ।
हो निश्चल ! म निरीह छु तिम्रा लागि । यद्यपि मेरो एउटा सानो दाबी छ, तिमीले मेरो हृदयलाई देख्न, बुझ्न र पढ्न कहिल्यै सकेनौ ।

एक दिन मेरो माया पक्कै पुरानो हुनेछ । मायासँगै सम्झना पनि पुरानै हुनेछन् तिम्रा लागि । तर एउटा कुराको ख्याल गर्नू– दुधिलाको रुखमा जोडी ढुकुर बसेको दृश्य कहिल्यै पुरानो हुनेछैन । होला, पुरानो होला– दुधिलाको रुख, फेरिएलान् ढुकुरका पखेटाहरू । तर ती उम्रिन कहिल्यै बिर्सने छैनन्, उड्न पनि भुल्ने छैनन् । म त भगवानसँग यही कामना गर्छुु– मेरो मुटु र कलेजो प्रत्यारोपण गर्नु परे पनि तिम्रो ‘माया’ अलग्गै झिकियोस् ।

कतिपय मानिसहरू मर्ने बेलामा चुरोट तान्ने वा मासु खाने इच्चा प्रकट गर्छन् रे ! मेरो अन्तिम घडीमा तिमीलाई एक चुप्पा खाने सामार्थ्य राख्न सकूँ । तिमीलाई छातीमा टाँसेर अन्तिम पटक महसुस गर्न सकुं ।
अनि मुटुको कुनातिर लगेर लामो सास तान्दै धित मरुन्जेल हेरिरहूँ ।

सर्वाधिकार : हिमालपोष्ट मिडिया सँग सुरक्षित

Facebook Comments

You may be interested

प्रचण्डद्वारा  प्रधानमन्त्री देउवालाई पत्र ,सरकारमा नरहेको जनाकारी !(पत्र सहित)
राजनीति
0 shares1 views
राजनीति
0 shares1 views

प्रचण्डद्वारा प्रधानमन्त्री देउवालाई पत्र ,सरकारमा नरहेको जनाकारी !(पत्र सहित)

himal post - २०७४, २८ पुष १४:१७

काठमाडौं। नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारबाट आफ्नो पार्टी बाहिरिएको जनाएको छ । शुक्रबार नेकपा…

भारतीय युवकद्वारा नेपाली युवक माथि चाकु प्रहार
प्रवास
0 shares3 views
प्रवास
0 shares3 views

भारतीय युवकद्वारा नेपाली युवक माथि चाकु प्रहार

himal post - २०७४, २८ पुष १३:१२

हरी महर भारतको कर्नाटाका राज्यको बेँगलोर जे पी नगरमा कार्यरत एक नेपाली युवक माथी सँगै काम गर्ने भारतीय नागरिक बिहार…

बुटवल औद्योगिक क्षेत्र : स्थान पर्याप्त छैन
अर्थ/व्यवसाय
0 shares2 views
अर्थ/व्यवसाय
0 shares2 views

बुटवल औद्योगिक क्षेत्र : स्थान पर्याप्त छैन

Pradeep Acharya - २०७४, २८ पुष १३:०८

बुटवल । बुटवल औद्योगिक क्षेत्र उद्योग सञ्चालनका लागि साघुँरो बन्दै गएको छ । उद्योगको विस्तार संगै जग्गा प्रयाप्त नहुँदा औद्योगिक…