ट्रम्पलाई चिठ्ठी - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

ट्रम्पलाई चिठ्ठी



आदरणीय नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ज्यू ,
सर्वप्रथम त बधाई तथा शुभकामना ।

चुनाव अघि म तपाईँको सपोर्टर थिइन र अहिले पनि छैन । तर तपाईँको हिम्मत र अठोटको म जरुर प्रशंसक भएको छु । संसारमा असम्भव केही छैन भन्ने कुराको सजीव सबूत हो तपाईँको उम्मेदवारी र विजय । तपाईँकी प्रतिद्वन्दी हिलारीले भन्दा कम चुनावी खर्च गर्नु भयो रे भन्ने सुन्दा अझ खुसी लाग्यो । अरबपति राष्ट्रपति ज्यू,तपाईँको यो मितव्ययिताको म मुक्तकण्ठले प्रशंसा गर्न चाहंछु । म यस्तो देशको नागरिक हुँ,जहाँ एक पटक गरिने चुनावी ख़र्चले देशलाई कैयौँ वर्ष पछाडि धकेल्छ । र यस्ता चुनाव बर्सेनि हुन्छन् हाम्रो देशमा । सांसद बन्न मात्र करोडौंको खोलो बगाएर टाट पल्टेका धेरै छन् मेरो देशमा अनि सांसद बनेपछि चुनावमा गरेको खर्चको सयौँ गुणा बढ़ी असुलेर राजा महाराजाको जीवन बाँचेका पनि छन् । मेरो देश विचित्रको छ,यो छोटो पत्रमा त्यो सबै वर्णन गरी साध्ये छैन ।

तपाईँका प्रशंसक र आलोचक दुबैथरि छन् विश्व भरि । अमेरिकी जनताले आफ्नो विवेक र राजनीतिक चेतनाको प्रयोग गरेर तपाईँलाई जिताए । जनमतको सम्मान गर्ने लोकतांत्रिक आचरण भएको व्यक्तिको लागि चुनावी जीत हार एउटा सामान्य प्रक्रिया हो , यो कुनै असम्भव र अनौठो विषय होइन । तथापि, संसारकै शक्तिशाली राष्ट्रको राष्ट्रप्रमुखको सनसनीपूर्ण जीतलाई लिएर न म मौन बस्न सक्छु न अन्य कोही ।
मेरो मतभेद तपाईँको चुनावी एजेण्डा सँग मात्र छ,तपाईँको जीतलाई त मैले स्वीकार गरिसकेको छु । आदरणीय राष्ट्रपति ज्यू, म एक ग़रीब,विपन्न र बेरोजगारीले जकडिएको देशको नागरिक हुँ । म मा राजनीतिक चेतना आए यता मैले बुझेका सबै वाद र दर्शनहरुले फेल खाने गरी यहाँले चुनाव जित्नुभएको छ ।

जब अन्ध राष्ट्रवाद,धर्म र सम्प्रदायको आधारमा राजनीति गरिन्छ,मान्छे को जीवनभरको ज्ञान,विवेक र चेतना लल्याकलुलुक पर्छ भन्ने कुराको गहिरो प्रमाण हो तपाईँको जीत । किनकि यसरी राजनीति गर्नेहरूले अप्रत्यक्ष रूपमा डर पैदा गर्छन् जनताको मनमा । डर भगवानको,डर धर्मको,डर सम्प्रदायको अनि डर जीविकाको । म एक आशिक्षा,ग़रीबी र बेरोज़गारीको पिडामा जकडिएको देशको नागरिक,यसको अभ्यास आफनै देशमा सफल भएको नदेखेको होइन । तर जब अमेरिकाको कुरा आऊँथ्यो म फरक तरिकाले सोंच्ने गर्थें ।त्याहाँको राजनीतिक चेतनाको मापन म त्याहाँको समृद्धि मार्फ़त गर्थें । तर एउटा यस्तो शक्तिशाली र समृद्ध देशमा त कट्टरपन्थ को यति सशक्त अभ्यास हुँदोरहेछ भने हाम्रो जस्तो देशमा हामीले उदार राजनीतिको भविष्य कसरी देख्ने राष्ट्रपति ज्यू ?

मलाई राजनीतिमा आउने चाहना सानो छँदै देखि थियो । ठुलो भए पछि बिस्तारै त्यो मर्दै गयो,कारण देशमा हामी जस्ता सर्व साधारण राजनीतिको मूलाधारमा आउन सक्ने व्यवस्था नै आएन । प्रजातन्त्र,लोकतन्त्र वा गणतन्त्र जे नाम दिइए पनि त्यो निश्चित केही शक्तिवाला समुदायको मुट्ठीमै क़ैद भैरह्यो । बडो मुस्किलले एउटा संविधान त ल्याइयो भनियो तर त्यसमा पनि जनताको चाहाना अनुसारको जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुखको व्यवस्थालाई समेटिएन । एउटा मधुर आवाज़ बुलन्द हुँदै गएको थियो अमेरिकी मोडलको कार्यकारी प्रमुखको लागि त्यो पनि तपाईँको जीतले थला पर्ने अवस्था देखिरहेको छु मैले ।

एउटा सामान्य शिक्षित जुनकुनै देशको नागरिकले अमेरिकालाई भौतिक समृद्धि र उर्वर राजनीतिक चेतनाको पर्याय ठान्छ अनि सोही अनुरूपको शासन व्यवस्थाको कल्पना गर्छ आफ़्नो देशमा पनि । तर तपाईँको जीतले राजनीतिक चेतनाको पाटोमा थुप्रै प्रश्न हरू उठाइदिएको छ डियर प्रेसिडेण्ट । तपाईँ अमेरिकाको लागि उत्तम राष्ट्रपति साबित हुन सक्नुहुन्छ भोलीका दिनमा, त्यसमा कुनै शङ्का छैन । तर अमेरिकाले हाच्छ्यूँ गर्दा मात्र पनि संसार भर छींटा फैलिने आजको विश्वमा तपाईँको जीतले विश्वलाई सशंकित बनाएको जरुर छ । तपाईँ जे जस्ता एजेण्डा अगाड़ी सारेर निर्वाचित हुनु भो ,मात्र ती एजेण्डाको कारणले राष्ट्रपति ज्यू । तपाईँको राष्ट्रप्रेम,अनि अमेरिकाको समृद्धिप्रतिको अठोट आफ़्नो ठाउँमा तर तपाईँले विश्वमाँझ स्थापित गराउनु भएको चुनाव जित्ने कट्टरपन्थको आधारलाई लोकतन्त्रको अभ्यास गरिरहेका बाँकी देशहरूले कसरी लेलान ?

मलाई पहिले अमेरिका जाने मन थियो,अधिकांश नेपालीलाई जस्तै। एक त त्याहाँको शासन पद्धति मन पर्ने,दोस्रो त्याहाँको मानव अधिकार र स्वतन्त्रता लाई लिएर गरिने रंगीन प्रचारको कारण । तर कारणवस अहिले जापानमा छु । यहाँका सड़कहरुमा पनि निश्चित समुदायले ‘हेट गाईजिन’ अर्थात् ‘विदेशीलाई घृणा गरौँ’ भन्ने अभियान चलाएको देख्ने गर्छु कहिलेकाहीँ । धेरै कुरामा अमेरिकाबाट प्रभावित हुने जापान तपाईँ बाट अब अझ कति प्रभावित होला र त्यसको प्रभाव हामीलाई कस्तो पर्ला ? त्यो भोलिका दिनमा देखिएला ।

अवश्य पनि अबक़ा केही वर्ष फेरि एक किसिमको अतिवाद,घृणाको राजनीति,धार्मिक वा सांस्कृतिक कट्टरता तथा विभेद र विद्वेषको भ्रामक प्रचारबाजी हुनेछ । विशेष गरी हाम्रो जस्तो अल्पबिकशित देशमा जहाँ हल्ला मात्र पनि चुनाव जित्ने आधार बन्छ । मलाई चिन्ता तपाईँ राष्ट्रपति बन्नु भो भन्ने कुरा सँग छैन,तपाईँ अमेरिकाको लागि बन्नु भो त्यहिंको लागि गर्नुहुन्छ राम्रो नराम्रो जे गर्नु हुन्छ । चिन्ता छ त केवल मेरो देशले तपाईँको जीत बाट के सिक्नेछ भन्नेमा मात्र ।

निश्चित छ,सर्व साधारणले राजनीति मार्फ़त राष्ट्र-सेवा गर्छु भन्ने पलाउँदै गरेका सपनाहरू यसरी निमोठिने छन् नेपालमा :
१) निश्चित धर्म वा समुदाय हाबी भएको फ़ाईदा उठाउँदै चर्का राष्ट्रवाद फलाक्दै राजनीति गर्नेहरु मूलधारमा आउने छन् ।
२) अमेरिकी मोडलको प्रत्यक्ष कार्यकारीको व्यवस्थामा ट्रम्प जस्ता सन्कीहरु पनि शासकको रूपमा आउन सक्छ्न भन्ने हाउगुजी मिडिया मार्फ़त फैलाउँदै झिनो आवाज़मा अधिकतम जनताबाट उठिरहेको प्रत्यक्ष निर्वाचित कार्यकारीको चाहनालाई बेस्सरी दबाउने छन् ।

फेरि पनि डियर प्रेसिडेण्ट चुनाव नै सबथोक होइन,यो एक आवधिक व्यवस्थापनको इकाई मात्र हो भन्ने बुझेका मेरो देशका सचेत युवाहरू यो परिणाम र यसले ल्याउने सामयिक परिवर्तन हरुले आत्तिने छैनन् । जनताको चेतना भनेको चुनाव लगायतका प्रविधिक प्रक्रियाले च्यांपिने खालको हुँदैन । यसले समय अनुसार विद्रोह गरिरहन्छ । तपाईँलाई अमेरिकी जनताको मन जित्न सक्नुहोस भन्ने शुभकामना छ ।
अलबिदा ।।

aadarsajeevan@gmail.com