लम्कीचुहाका नगर प्रमुखले आफ्नै घर भत्काएर सुरु गरे अतिक्रमित राजमार्ग खाली गर्ने अभियान - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

लम्कीचुहाका नगर प्रमुखले आफ्नै घर भत्काएर सुरु गरे अतिक्रमित राजमार्ग खाली गर्ने अभियान



लम्की ,कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईंले राजमार्गको बीच भागबाट २५ मिटर अतिक्रमित सडक खाली गर्ने अभियानको क्रममा आफ्नै घर भत्काएर अभियान सुरु गरेका हुनाले लम्कीचुहा नगरपालिकामा अतिक्रमित पूर्व–पश्चिम महेन्द्र राजमार्ग खाली गर्ने अभियानले तीब्रता पाएको छ।

नगरभित्रका सबै सडकहरू कम्तीमा ३० फिट फराकिलो बनाउने अभियानपछि नगरपालिकाले राजमार्ग क्षेत्रमा दिन प्रतिदिन सडक दुर्घटना बढ्दै गएको भन्दै नगरको क्षेत्रभित्र पर्ने राजमार्गको बीच भागदेखि सडक विभागको मातहत रहेको २५ मिटर अतिक्रमित जग्गा खाली गर्ने १५ दिने सार्वजनिक सूचना प्रकाशन गरी अभियान चलाएको थियो।

त्यसपछि चैत १ गतेसम्मका लागि दोस्रो पटक थप सात दिने सार्वजनिक सूचना प्रकाशित गरी अटेर गर्नेलाई कारवाही गर्ने नगरपालिकाले चेतावनीसमेत दिएको छ।

नगर कार्यपालिकाले गरेको निर्णय कार्यान्वयन गराउनतर्फ जनप्रतिनिधिहरूले समेत राजमार्गको दायाँ–बायाँ २५–२५ मिटरभित्र बनाएका भौतिक संरचना, घर टहरा, निर्माण सामग्री, खोका ठेला हटाउन लागिरहेको नगरपालिकाको कार्यालय भल्काले जनाएको छ।

यसअघि पनि सडक विभागको डिभिजन कार्यालय महेन्द्रनगरले राजमार्गको दायाँ–बायाँ २५ मिटरभित्र सडक अतिक्रमित गरी बनाएका घर टहरा, खोका छाप्रा हटाउन पटक–पटक चेतावनी दिए पनि स्थानीयले भने अटेर गर्दै आएका थिए। राजमार्गको दायाँ–बायाँ नयाँ संरचना निर्माण गर्नेका लागि भने २५ मिटरमा छ मिटर थप गरी ३१ मिटर कायम गरेको नगरपालिकाले जनाएको छ।

सडक छेउछाउमा राखेका ठेला खोका र निर्माण सामग्रीले कुरूप देखिँदै आएको नगरपालिकाको मुटु मानिने लम्की बजार भने अतिक्रमित खाली हुन थालेपछि सुन्दरतामा बदलिँदै गएको स्थानीयले बताएका छन्। ठेला खोका हटाउने अभियानसँगै लम्की बजारमा सार्वजनिक जग्गा तथा खोलानाला अतिक्रमण गरी बनाएका संरचना भत्काउनुपर्नेसमेत लम्कीवासीले नगरपालिकासँग आग्रह गरेका छन्। थाहा खबरको सहयोगमा