लमही नगरपालिकाले भन्यो– ‘पदाधिकारी र सदस्यहरूको पारिश्रमक नियम संगत’ - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

लमही नगरपालिकाले भन्यो– ‘पदाधिकारी र सदस्यहरूको पारिश्रमक नियम संगत’



दाङ । दाङ जिल्लाको लमही नगरपालिकाले पदाधिकारी र सदस्यहरूले लिएको पारिश्रमिक, नगरसभाको खर्च सम्बन्धमा विभिन्न पत्र पत्रिका तथा सञ्चार माध्यमहरूमा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी, उपप्रमुख देवका वेल्वासे लगाएत वडा अध्यक्षहरूले आइतबार एक विज्ञप्ती प्रकाशीत गर्दै पदाधिकारी र सदस्यहरूले लिएको पारिश्रमिक नियम संगत भएको दावी गरेको छ ।

विज्ञप्तीमा भनिएको छ– ‘तत्कालीन स्थानीय तहको सेवा संचालन तथा ब्यवस्थापन आदेश, २०७४ को दफा ६८ मा उल्लेखीत प्राबधान अनुसार स्थानीय तहका पदाधिकारीहरूको सुविधा नेपाल सरकारले स्विकृत गरेको सिमा भित्र रही नगरसभाले निर्णय गरे अनसार सुविधा प्रदान गर्न सक्नेछ भन्ने भएको प्राबधान अनुसार लमही नगरपालिको प्रथम नगर सभावाट निर्णयगरी मासिक पारिश्रमिक सुविधा लिएको ब्यहोरा अनुरोध छ ।’

विज्ञप्तीमा भनिएको छ– ‘प्रथम नगरसभा बढीमा १५ दिनसम्म सञ्चालन गर्न सकिने प्रावधान हुँदाहँुदै पनि खर्च मितब्ययितालाई ध्यान दिएर २ दिनमा सम्पन्न गरिएको उल्लेख छ । लमही नगरसभा सञ्चालन कार्यविधि, २०७४ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को भावना अनुरूप समेत नगरसभाको बैठक बढीमा १५ दिनसम्म गर्न सकिने अवस्था रहेको छ ।

तथापि, लमही नगरसभा भदौ २७ र २८ मा दुई दिनमा सम्पन्न गरी खर्च मितब्ययितालाई ध्यान दिएकै छ ।’ लमही नगरपालिकाको प्रथम नगरसभाबाट मेयरको ३५ हजार, उपमेयरको ३० हजार, वडा अध्यक्षको २५ हजार र वडा सदस्यको ५ हजार मासीक पारिश्रमिक तोकिएको थियो । पाँच महिनासम्म पारिश्रमिक वुझेका जनप्रतिनिधिहरूले यही पुसबाट भने कार्यपालिकाको बैठकबाट पारिश्रमिक नलिने भन्दै स्थगित गरेका छन् ।

विज्ञप्तीमा प्रमुख, उपप्रमुखसहित वडा नं. १ का वडा अध्यक्ष नुमराज पौडेल, वडा नं. २ का वडा अध्यक्ष नेपालु चौधरी, वडा नं. ४ का वडा अध्यक्ष सुवास न्यौपाने, वडा नं. ५ का वडा अध्यक्ष विमबहादुर केसी, वडा नं. ६ का वडा अध्यक्ष गणेशमान चौधरी, वडा नं. ७ का वडा अध्यक्ष मोनह गिरी, वडा नं. ८ का वडा अध्यक्ष मेघनारायण चौधरीको हस्ताक्षर छ ।