जिज्ञासा (लघुकथा ) - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

जिज्ञासा (लघुकथा )



रवीन्द्र समीर

‘हजुरबुबा ! खेतमा त्यो मान्छे किन उभिएको ?’ तीन वर्षे नातिलाई बोकेका तथा आफु स्वयम् पनि लौरोमा बोकिएका वृद्धले सेतो दाह्री सुमसुम्याउँदै जवाफ दिए – ‘नाति ! त्यो मान्छे होइन, दाउरामा मान्छेका कपडा बेरेको हाउगुजी हो ।’

‘त्यो किन राखेको हजुरबुबा ?’ नातिको अबोध जिज्ञासालाई नातिका भन्दा थोरै दाँत भएका वृद्धले यसरी शान्त पारे –‘त्यो हाउगुजी देखेपछि बाँदर, ढेडुवा, सारौँ आदि जङ्गली जनावर तथा चराचुरुङ्की हाम्रो खेतमा आउन डराउँछन् अनि तरकारी, फलफूल चोर्न पाउँदैनन्, बुझ्यौ ?’

‘………अनि हजुरबुबा ! सर्प, बाघ, भालुको हाउगुजी बनाएर किन नराखेको ? मलाई त सर्प, बाघ, भालु, कुकुरको असाध्यै डर लाग्छ ।’ बृद्धले डुब्नै आँटेको सूर्यलाई धमिलो आँखाले हेर्दै प्रसङ्ग टुङ्ग्याए –‘बाबु ! तिमी अहिले धेरै सानो छौ, ठूलो भएपछि तिमीलाई पनि सम्पूर्ण प्राणीहरूलाई जस्तै मान्छेकै डर लाग्नेछ ।’