लघुकथा - रातो साडी - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

लघुकथा – रातो साडी



-राजन पनेरू

गोथे सानो छँदा आमाले सोध्थिन्, “बाबू ! तँ ठूलो भएपछि मलाई के किनिदिन्छस् ?”
उसले लाडिएको आवाजमा भन्थ्यो, “म रातो साडी किनिदिन्छु आमा ।”
“मलाईचाहिँ के किन्दिन्छस् त ?” बाबुले सोध्थे ।
“इस्टकोट किनिदिन्छु बा ।”

गोथे ठूलो भएपछि धन कमाउन विदेश जाने भयो ।
विदेश जाने बेलामा गोथेले भन्यो, “बाआमा म दुई वर्षपछि आउँछु । कम्पनी राम्रो छ अरे ! काम पनि सजिलो छ रे ! पैसा नि राम्रै कमाई हुन्छ भन्या’ छन् । मेरो कुनै चिन्ता नलिनू ! आफ्नो ख्याल गर्नू ! धेरै दुःख नगर्नू ! म चिठी पठाइरहन्छु ।”

बाबुले भने, “हुन्छ बाबू, राम्रोसँग जानू ! आफ्नो ख्याल गर्नू !”
आमाले भनिन्, “कहिल्यै भोको नबस्नू, बेलैमा खानू, जीउको ख्याल गर्नू, चिठी पठाइरहनू ।”
आँखाभरि आँसु पार्दै बूढाबूढीले छोराको बिदाइ गरे ।

उसलाई दलालीले ठग्यो । गोथे कठिन काम र थोरै ज्याला पाउने विकट ठाउँमा पर्यो । घरमा चिठी पठाउने उपाय नै भएन । चार वर्षपछि बल्ल गोथे घर फिर्न पायो ।
उसले आमाका लागि रातो साडी र बाबुका लागि कोट किन्यो । अत्यासलाग्दो मरूभूमिबाट बाआमाको न्यानो माया सम्झिँदै घर फर्कियो ।

आँगनको डिलमा पुगेपछि गोथेले खुसी हुँदै बोलायो, “बाआमा ! म आइपुगेँ !”
“मेरो बाबू ! तिमी आयौ ?” भित्रबाट आमा बाहिर निस्किइन् ।
गोथे आमालाई देखेर डाँको छाडेर रून थाल्यो ।
उसले ल्याएको रातो साडी आमाका लागि काम नलाग्ने भइसकेको रहेछ ।।
(लघुकथा सङ्ग्रह `बिन्दुमा सिन्धु’बाट)