२०७५ जेष्ठ ७, सोमवार

कुवेतकी सितल !

January 20, 2018
339 Views
Spread the love
  • 153
    Shares

हाउडे

नेपाल बाट बुढाले म्यासेन्जरमा पठाईदेको छोरीको फोटोलाई हेरेर सितल आधा घण्टा रोई , दर्जनौँ थोपा आँसु मोबाइलको स्क्रीनमै खसे । उसले आँसु पुछ्दै फोटो हेरिरही , अनि दर्जनौँ पटक छोरीको फोटोमा चुम्बन गर्दै भनी “ मेरो बाबा ! तिमी यती ठुली भैग्यौ । मामुले तिमीलाई धेरै मिस गरेको छ है । ”

धेरै बेर सम्म उ एक्लै बरबराई रही ।

उ सम्हालिई , मोबाइलको डाटा अफ गरी । आँसु ले भिजेका आँखा निचोर्दै खाना बनाउने तयारी गरी । पल्लो कोठाबाट मालिक्नी कराउदै भनी “ ओए सितल ! अक्कल तर्तिव खलास बल्ल माफी खलास ? ”

उ चिच्याउदै भनी “ सोईए ! खम्सा दिगिग । ”

मालिक्नी हतारिएकी थिई , सितलले पाँच मिनेटमै सबै काम सक्ने उत्तर दिएकी थिई ।

अरबमा घरको काम गर्ने भिसामा चार वर्ष अघि कुवेत आईपुगेकी सितल दिनहुँ रुन्छे । कहिले बा आमाको यादले रुन्छे त कहिले बुढा र छोरीको मायाले रुन्छे ।

एक सुरमा काम गर्दै गरेकी सितललाई फिलिपिनी जेनिले झस्क्याउदै भनी “ यल्ल सोरा ! ”

झस्केकी सितलको हातबाट स्टिलको जग फुस्कियो । भुईँको टायलमा खसेको जगको आवाज बाहिर सम्म पुग्यो । बाहिर बसेको अरबी मालिक अनि पल्लो रुममा भएकी मालिक्नी किचेनमा प्रवेश गरे ।

फिलिपिनी जेनि ले जग उठाई , सितलले पोखिएको पानी । अरबी मालिक केही नबोली फर्कियो , मालिक्नीले अनुहार बिगार्दै आफ्नै भाषामा गाली गरी ।

जेनि र सितल मिलेर खाना पकाईसकेपछी उनीहरू बाहिर आए । अरबी परिवारका सबै मिलेर खाना खाए ।

एक घण्टा पछाडि अरबी परिवारको खानपिन सकिएपछि जेनि र सितल भान्सा छिरे । बचेको दुई वटा खबुस सादेको अचार सँग सितलले खाई । जेनि ले चैँ मस्तले बिरयानी खाई । जेनि कृश्चियन हो , उ गाईको या उटको मासु खान्छे । सितलले अरब छिरेपछी माछा मासु सबै खान छाडी । उ पकाईदिन्छे तर खादैने ।

नेपाल हुँदा सितल माछा मासु भनेपछि हुरुक्कै हुन्थी रे । एक प्लेट मात्र होइन , उ एक किलो मासु एक्लै खाई सक्ने हिम्मत राख्थी ।

सुकाएको माछा , पाडाको सुकुटी या खसीको मासु ! यी सबै सितलका फेवरेट थिए । तर कुवेत छिरेपछी मात्र थाहा पाई कि अरबका भान्सामा गाई या उटको मासु नपाकेको दिनै हुँदैन । अनि सितलले निर्णय गरी ! अब अरबको बसाई सम्म माछा मासु केही पनि खाँदैन ।

अनि उ शुद्ध साहाकारी बनी ।

बचेको खानाले नै जेनि र सितलको पेट भरियो । जेनि जुठो , फोहर या छोईछुतो मान्दिनथी । उसको फिलिपिन्समा पनि यस्तै अरबको जस्तै चलन छ रे । तर सितल जुठो र फोहर सँग टाढै बस्थी । उ जेनिको जुठो सम्म खाँदिनथी । जेनिले जुठो खान प्रेरित गर्दा भन्थी “ जुठो त हामी नेपाली आफ्नै बुढाको मात्र खान्छौ । बाँकीको खाने हो भने त जिब्रो अनि ओठमा घाउ निस्कन्छ । ”

सितलको कुराले जेनी मस्तले हाँस्थी अनि हसुर्थी एक्लै बचेका खाना ।

छोरीको फोटो हेरेर मन चञ्चल बनाकी सितलले आज छिट्टै भान्साको काम सकी । भान्सा भित्र पोछा लगाउने काम जेनिलाई सुम्पेर उ आफ्नो कोठामा आई ।

बिस्तरामा पल्टेर मोबाइल डाटा अन गरी , म्यासेन्जरमा आँको फोटो फेरि एक पटक हेरी । अनि चुमेर फोटोलाई सेभ गरी ।

फेसबुकमा फोटो पोष्टिदै क्याप्सन लेखी “ मिस यु छोरी , लभ यु सो मच । ”

फोटोमा आएका कमेन्टको रिप्लाई दिँदै लाइक गनेर बस्दै थिई , एक्कासि म्यासेन्जर ट्वाङ बज्यो । उसको बुढाले म्यासेज गरेका रहेछन् ।

म्यासेज पढेर खिस्स हाँसी । बुढाले लेखेका थिए “ छोरीलाई मात्र मिस गर्छ्यौ है सितल त्यो परदेश बाट ? मलाइ भुल्यौ ? ”

उ मुन्टो ठाडो पारेर सिलिङ तिर हेरी , रसाएका आँखा बाट आँसु नचुहोस् भनेर उ माथि फर्केकी थिई । उ आँसु लुकाउन चाहन्थी । तर पल पल आँसु बगिरहन्थे । बेस्सरी आँखाका परेली झिम्कायर आँसुलाई आँखामै लुकाई ।

बुढालाई रिप्लाई गर्ने शब्द उ सँग थिएन । उ बुढालाई यति धेरै माया गर्छु भनेर छाती चिरेर देखाउन पनि सक्दिनथी । शब्दले बयान गर्नै नसक्ने माया उ बुढालाई गर्थी ।

म्यासेन्जरमा भएको लभको सिंग्नल वाला इमो पठाउँदै बुढाको म्यासेजमा रिप्लाई गरी । यत्तिले मात्र पुगेन , अँगालोमा बेरेर किस गरेको इमो पनि पठाईदिई । अनि तल बाट लेखिदीई “आई मिस यु काले अनि मुटु भरीको माया पनि ल । ”

बुढाले हेरे , तर केही लेखेनन् , सायद बुढाले उता आँसु लुकाउँदै होलान् । उस्तै गरेर , जसरी सितलले लुकाउँछे ।

सितल फेरी फेसबुकमा आएका लाइक गन्दै कमेन्टमा रिप्लाई गर्न व्यस्त भई ।

उ निक्कै राम्रो गजल लेख्छे । एउटा शिक्षित परिवारको छोरी भएर पनि उसका आफ्नै बाध्यता थिए कुवेत आउनुमा । उ गजलमा आफ्नो वास्तविकता झल्काउथी । आफै गजल लेख्थी , अनि यही गजल पढेर आफै रुन्थी । आफ्नै जीवनको कथा सम्झेर उ रुन्थी , अरूका कथा फिक्का लाग्थे उसलाई ।

कुवेतमा बसेर बिग्रेका नेपाली चेलीकै कारण कति पटक उ पनि घरपरिवारको नजरमा शङ्काको घेराबन्दीमा परेकी छे । एक दिन कुवेतमा बस्ने नेपाली केटीको छाडा भिडियो युटुबमा भेटेका उसका बुढाले त्यही भिडियोको लिङ्क सितललाई म्यासेन्जरमा पठाउँदै भनेका थिए “ सानु ! म धेरै पटक डराउछु यस्ता कुराले । भो चाहँदैन त्यो धन , बरु आजै फर्क । ”

यस्ता शङ्काको घेरामा उ आफन्त बाट मात्र होइन , साथी भाइ बाट पनि परेकी छे ।

एक दिन उसको फेसबुके साथी दीपकले च्याट बाटै भन्यो “ कुवेतमा बस्ने नेपाली केटीहरू धेरै बिग्रेका हुन्छन् रे । तिमी पनि त्यै क्याटोगेरीको त हैन्यौ ? ”

दीपकलाई दिने जवाफ उ सँग थिएन । बाध्यताले परदेशमा आउने र रहरले परदेशमा आउने बिच निक्कै भिन्नता छ भनेर उ बुझेकी थिई तर समाज यसरी बुझ्दैन्थ्यो । उ कुवेत पुगेपछि उसको खुट्टा तान्ने अनि उसलाई गलत देखाउनेहरूको ठुलै जमात बन्यो नेपालमा । तर उ खुट्टा कमाउने मध्यकी आइमाई थिइन ।

दीपक सँगको च्याटमा पनि उ भन्थी “ म मेरो बाबाको , आमाको अनि बुढा र छोरीको इज्जत सोचेर बसेकी एउटी नेपाली नारी हु । म रहरले परदेश आएको होइन , आफ्नै बाध्यता छन् । ”

उसको कुराले उसलाई गलत भन्नेहरू मुखभरि को जवाफ पाउँथे । नबुझ्नेहरुका लागी उ कराईरहन सक्दिनथी । भन्थी “ गलत नगर्दा सम्म डराउनु पर्दैन । कुकुर भुक्दै गर्छ , हात्ती लम्किरहेकै हुन्छ । ”

उ साँच्चै एउटा असल नारी थिई । घरायसी बाध्यताले कुवेत छिरेपनी उसको मन नेपालमै थियो । छोरीको यादले निदाउनै नसकेकी सितल राती अबेर सम्म अनलाइन बसेर लाइक र कमेन्ट गनिरही ।

उसलाई राती अबेर सम्म अनलाइन देख्नेहरुले गलत सोचे । कतिले त फोहर शब्द लेख्दै म्यासेज सम्म गर्न भ्याए । उ केही लाई तुरुन्तै अनफ्रेन गर्थी भने केही लाई ब्लक नै गर्दिन्थी । अनि केही मन मिल्ने साथीहरू सँग चैँ मज्जाले गफिन्थी ।

बाध्यताले कुवेत पुगेकी सितल जस्तै युवती हो फिलिपिनी मूलकी जेनि पनि । घरमा सात वर्ष पूरा भएको छोरा छ रे अनि बुढा पनि छन् । तर जेनि अर्काको देशमा पसिना बगाउँदै छे । कहिले काहीँ नबुझिने भाषामा बुझिने गरी थोरै बोलेर भएनी जेनि र सितल सँगै रुन्छन् । छोरालाई सम्झेर जेनि रुन्छे अनि छोरीलाई सम्झेर सितल । उनीहरू नेपाल फर्कने दिन औला भाचेरै गन्छन् अनि बुढाको न्यानो अँगालो र सन्तानको मीठो चुम्बनको सपना देख्छन् ।

उ हरेक दिन चार बजे मोबाइलको आलार्म सँगै उठ्छे । तातो पानी , चिया नास्ता बाट सुरु हुने घरायसी काम रातीको दस बजिसक्दा पनि सकिँदैन । दिउँसो एक घण्टा फ्री भए पनि कहिले के काममा त कहिले के काममा व्यस्त बनाईरहन्छन यी कुवेती मालिक्नीहरु । अनि जब सबै काम सकेर बिस्तरामा पुग्ने समय आउँछ तब बल्ल अनलाइन आउछन सितलहरु । तर नेपालमा छ बजे नै घरको काम सकेर हिन्दी सिरियल या फेसबुकमा मस्त हुने आईमाईहरु सितलहरु जस्तालाई निक्कै गलत देख्छन् ।

उ कथा लेख्न जान्दिन रे । नत्र आफ्नै कथाको एउटा किताब तयार गर्छु भन्दै थिई । गजल लेख्छे तर पढ्ने हिम्मत आउँदैन उसलाई । भन्छे “ कति रुनु ? बाबा आमाको यादले आधा घण्टा आँसु चुहिन्छ , छोरी र बुढा यादले एक घण्टा आँसु चुहिन्छ । कहिले काहीँ त अरबी मालिक्निका तिखा शब्दले दिनै भर आँसु झर्छन् । यस्तो अवस्थामा आफैले लेख्या गजलले पनि रुवाईदिन्छ त्यसैले लेख्छु तर पढ्दिन । ”

परदेशीएका हजारौँ सितल जस्ताहरूको आफ्नै कथा छ । कसैका बाध्यता छन् त कसैका रहर । तर सबै परदेशीएका लाई एकै देखेर हेप्ने हाम्रो सोचमा परिवर्तन हुन जरुरी छ ।

Facebook Comments
  • 153
    Shares

You may be interested

नीति तथा कार्यक्रम: विदेश जानु पर्ने अवस्थाको अन्त्य गरिने
राजनीति
0 shares5 views
राजनीति
0 shares5 views

नीति तथा कार्यक्रम: विदेश जानु पर्ने अवस्थाको अन्त्य गरिने

himal post - २०७५, ७ जेष्ठ १७:५६

काठमाडौँ । सरकारले आगामी दश वर्षभित्र मुलुकलाई मध्यमस्तरको आय भएको देशका रूपमा स्तारोन्नती गर्ने लक्ष्य राखेको छ । संघीय संसद्को…

बिरामी ब्रोईलर चेक गर्न प्रदेश ५ मा ल्याब आवश्यक
समाचार
0 shares5 views
समाचार
0 shares5 views

बिरामी ब्रोईलर चेक गर्न प्रदेश ५ मा ल्याब आवश्यक

himal post - २०७५, ७ जेष्ठ १७:४७

आचार्य प्रदीप बुटवल। बिरामी बोईलरको चेकजाँचको लागी ल्याब नहुँदा किसान मर्कामा परेको ब्रोईलर पालक कृषकहरुले बताएका छन् । लुम्बिनी ब्रोईल…

ठेकेदारहरुलाई भेटेरै बादलले भने: सच्चिनुहोस, नत्र जेल जान तयार हुनुहोस !
राजनीति
0 shares10 views
राजनीति
0 shares10 views

ठेकेदारहरुलाई भेटेरै बादलले भने: सच्चिनुहोस, नत्र जेल जान तयार हुनुहोस !

himal post - २०७५, ७ जेष्ठ १७:२६

काठमाडौं- गृहमन्त्री रामबहादुर थापाले ठेकेदारलाई सच्चिन आग्रह गरेका छन् । उनले सच्चिन मात्र होइन नसच्चिए जेल जान पनि तयार रहन भनेकाछन् ।…