कुटपिटबाट मलेसियामा ज्यान गुमाएका केसीको शव झिकाइदिन अपिल - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

कुटपिटबाट मलेसियामा ज्यान गुमाएका केसीको शव झिकाइदिन अपिल



फलेवास । आफ्नै साथीहरुको कुटपिटबाट मलेसियामा ज्यान गुमाएका पर्वतका किशोर केसी (नसिब) को तीन साता बितिसक्दा पनि शव नेपाल आउन सकेको छैन ।

लामो समयसम्म पनि शव नेपाल आइनपुगेपछि परिवारले छोराको शव नेपाल झिकाइदिन अपिल गरेका छन् । पर्वतको मोदी गाउँपालिका–५ बाजुङ धमिलपानी गाउँका २२ वर्षीय किशोरको शव मृत्यु भएको १५ दिनसम्म पनि नआएपछि मृतकका बुबा भीमबहादुर केसीले छोराको शव नेपाल झिकाइदिन आग्रह गरेका हुन् ।

घरको आर्थिक अवस्था निकै कमजोर भएका कारण पनि आफूहरुलाई विभिन्न निकायमा पुगेर ताकेता गर्न समस्या भएको भन्दै मृतक नशिवको परिवार शव नेपाल झिकाउन विभिन्न संघ संस्थामा धाइरहेको उनले गुनासो गरे ।

रोजगारीका लागि मलेसिया पुगेका नशिवमाथि नेपाली साथीभाइले कुटपिट गरेका थिए । पेटमा फलामे रड घोचिएपछि उपचारको क्रममा उनको गत जेठ १५ गते मलेसियाकै पुत्रोदय अस्पतालमा निधन भएको थियो ।

रोजगारीकै लागि मलेसिया पुगेका पूर्वी नेपालका चार जना युवाले नशिवमाथि जेठ ६ गते आक्रमण गरेका थिए । नशिवको शव एक हप्तामै नेपाल आइपुग्ने भनिएको भए पनि अझैसम्म शव नआउँदा उनको परिवार हरेक दिन उनकै शोक र मृत शरीरको प्रतीक्षामा रहेको छ ।

करीब २० महिनाअघि रोजागरीका लागि मलेसिया पुगेका क्षेत्री परिवारका कान्छा सन्तान हुन् । उनी अविवाहित थिए । उनको मृत्युको खबर सुनेपछि आमा देवी क्षेत्री अर्धचेत अवस्थामा हुनुहुन्छ भने गाउँलेमा समेत रुवाबासी चलेको छ । रासस