अख्तियार लगाएर कुलमान हटाउने खेल सुरु - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

अख्तियार लगाएर कुलमान हटाउने खेल सुरु



काठमाडौं, भदौ १३ ।

दैनिक १२ घन्टाभन्दा बढी हुने गरेको लोडसेडिङ अन्त्य गरेर वाहवाही कमाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन उर्जामन्त्रीदेखि प्राधिकरणका उच्च कर्मचारी लागिपरेका छन् ।

गत बर्षको भदौ २९ गते चार बर्षका लागि नियुक्त घिसिङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बैशाखी टेकेर हटाउन लागिएको हो ।

लोडसेडिङ सधैंका लागि अन्त्य गरी ‘उज्यालो नेपाल’ बनाउने अभियानमा लागेका घिसिङ र उनका सहयोगीको सम्पत्ति छानविन गर्न आयोगमा निवेदन दिएको खुलाशा भएको छ ।

घिसिङ, राजिब शर्मा, प्रवल अधिकारीलगायत प्राधिकरणका उच्च तहका ६ जना कर्मचारीविरुद्ध निवेदन दिइएको अख्तियार स्रोतको भनाइ छ ।

प्राधिकरणका ती अधिकारी आयोगले थमाएको व्यक्तिगत विवरण फाराम(१३ पाने) भर्न तल्लीन छन् । घिसिङलाई हटाउने अन्य उपाय नभएपछि उर्जामन्त्री महेन्द्रबहादुर शाहीले अख्तियार गुहारेका हुन् ।

उर्जामन्त्री शाहीले प्राधिकरणका उच्च कर्मचारी सम्पत्ति विवरण भर्न तल्लीन रहेकाले काममा प्रभाव परेको बताउँदै आएका छन् ।

‘सम्पत्ति विवरण भर्नुपर्ने कारणले प्राधिकरणका केही कर्मचारी विदामा छन्,’ उनले भने, ‘यसले काममा असर पारेको छ ।’-नागरिक दैनिकबाट