कोलम्बिया ! भिरमा बसेका सुन्दर सहरहरू । - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

कोलम्बिया ! भिरमा बसेका सुन्दर सहरहरू ।



कोलम्बिया ! भिरमा बसेका सुन्दर सहरहरू ।

दीपक घिमिरे

हामी देश पछि पर्दा कहिले नेतालाई दोष दिन्छौ त कहिले हाम्रो देशको भौगोलिक बिकटतालाई । समुन्द्र नहुँदा चिन्ता लिँदै भन्छौ ” देशले प्रगति गर्न समुन्द्र चाहिँदो रैछ ।” अनि फेरि कैयौँ भुपरिबेष्ठित मुलुकले विकासमा फडको मारेको देख्दा भन्छौ ” नालायक नेताले गर्दा देश पछाडि पर्‍यो ।”

पहाडै पहाडले भरिएको हाम्रो सुन्दर देशको विकासमा पहाडलाई पनि दोष दिँदै भन्छौ ” भौगोलिक बिकटताले गर्दा पनि हाम्रो देश पछाडि छ यार । पहाडमा न रेल चलाउन सकिन्छ , न बाटो बनाउन । “

त्यही सुन्दर पहाडमा बस्ती बसेको कल्पना हामी गर्दैनौ , बरु समतल जमिनमा दस हात भएनी घडेरी जोडेर घर बनाउने सपना रातदिन देख्छौ अनि सरकारलाई धारे हात लगाउँदै भन्छौ ” न रोजगार छ न त कुनै ब्याबसाय ! सरकारले हामीलाई हेर्दैन । “

हामी पहाडमा भएका एक दुई रोपनी जग्गा घुईयाको भाउ मा या उधारै भएनी बेचेर तराईका समथर फाँटमा बसाई सर्न लालायित हुन्छौ अनि जग्गा ब्याबसायी लाई हात जोडेर भन्छौ ” चार पाटा मिलेको एउटा घडेरी मिलाइदेऊ त !”

हामी अलिकति पहाड या उबर खाबर मन पराउँदैनौ , हामी लाई चट्ट मिलेको घडेरी नै चाहिन्छ । अनि आफू सँग भएको जग्गा पनि बेच्न लालायित छौ । बाउ बाजेले परम्परागत खेती गरेर दुई दर्जन जहान परिवारको पेट पालेको खेत हामी प्लटिङ गरेर दस हाते घडेरी बनाउँदै बेच्न लालायित छौ । कृषि बाट उभो लाग्न सकिन्न भन्ने भाषण छाटदै त्यही जग्गा बेचेको पैसाले दुबई कतार धाउँछौ । हामी उब्जाउ जग्गालाई घडेरी बनाउन आतुर छौ ।

भएको उब्जाउ जमिन मासेर घडेरी बनाउँदै भु-माफियाहरू रातारात करोडपती बन्छन , हामी चैँ सरकारलाई धारेहात लगाउँदै बस्छौ । तर फेरि तिनै लाई चुनेर पठाउँछौ , जो हिजो हाम्रा लागि असक्षम थिए । यो क्रम चलिरहन्छ ।

तर देशको विकास तीव्र गतिले अघि बढ्न न हामी लाई भौगोलिक बनावटले रोकेको छ न त समुन्द्रले । मैले बुझे अनुसार देश विकासको सपना नदेख्ने नेता अनि तपाईँ हामी जस्तै भेडाँ कार्यकर्ताले गर्दा देश पछाडि परेको हो । भौगोलिक बिकटताले हुँदै होइन भन्ने ज्वलन्त उदाहरण अस्ति घुमेको कोलम्विया देशले प्रस्ट पार्दियो ।

पूर्व निर्धारित कार्यक्रम अनुसार हामी कोलम्बियाको बगोटा एयरपोर्टको ट्रान्जिट हलमा थियौ । ठ्याक्कै नेपालको पोखरा या दाङ जस्तै लाग्ने बगोटाले मेरो मन तान्यो । वरिपरि पहाड , चारैतिर हरियाली अनि शान्त सहर । हामीलाई पुग्नु पर्ने थियो अर्को सहर मेडिलिन ।

दुई घण्टाको ट्रान्जिट पछाडि हामी विमानमा बस्यौ अनि विमान अर्को सहर मेडिलिनका लागी उड्यो । करिब चालिस मिनेटको उडान पछि हामी मेडिलिन एयरपोर्टमा उत्रीयौ ।यहाँ पनि चारैतिर पहाड , बिच उपत्यकामा बसेको सानो एयरपोर्ट ।

बाहिर निस्कन साथ हामीलाई लिन बसेका ज्याक सँग भेट भयो , उनले हामीलाई आफ्नो कारमा बसाले । मोडिलिन सहर भन्दा एयरपोर्ट लगभग बिस किलोमिटर टाढा रहेछ । हामी कारमा कुदिरह्यौ ।

थानकोटको तल नौबिसे बाट मुग्लिङ सम्म आए जस्तै महसुस हुने बाटो । तर भौगोलिक बनावट मात्र त्यस्तो । एकातिर ठुलो अनि हरियाली युक्त पहाड , अर्को तिर ठुलो नदी । ठ्याक्कै त्रीशुली नदीको डिलैडिल यात्रा गरेको महसुस हुने । हामी चकित पर्दै हेरिरह्यौ । बाटो घाटोका लागी भौगोलिक बिकटताले केही प्रभाव पार्दो रहेनछ भन्ने सोच्दै यात्रा गर्‍यौ ।

करिब आधा घण्टाको यात्रा पछि हामी कोलम्बियाको मोडिलिन सहर आइपुग्यौ । बिचमा खोलो अनि दुवैतिरका पहाडमा सुन्दर अनि घना बस्ती । कल्पना भन्दा माथिको सुन्दर सहर । सबैले फोटो लियौ , कसैले नेट कनेक्ट गरेर घरमा त्यो सुन्दर सहर भिडियो कल मार्फत देखायौ ।

रातपरेपछी तिहारमा झिलिमिली ले सिंगारीयको घर जस्तै देखिने ती पहाडका घर देखेर मन लोभियो । सोचे ! भौगोलिक बिकटता भएनी विकास चैँ तीव्र रहेछ ।

(लेखक घिमिरे)

अर्को दिन ज्याकले घुम्न भनेर निकाल्यो , यस्तो विकट पहाडमा बिसौ तला भन्दा माथिका घर रहेछन् , रेल कुदने रहेछ अनि लोडसेडिङको त कुरै भएन । मैले उसलाई सोधे ” यहाँ सबै पहाड मात्र हो ?”

उसले एक घण्टा जति कार हुईकायो अनि लगेर गयो सुन्दर फाँटमा । जहाँ तरकारी खेती थिए , केरा खेती थिए । मैले सोचे ” यस्ता समतल फाट नेपालमा भए प्लटिङ गरेर जग्गा ब्याबसायी रातारात अरबपती बनिसक्थे ।”

बस्ती हरू पहाडमा बसालेर कृषि योग्य जमिनमा आधुनिक तरिकाले कृषि ब्याबसाय गरेर देशलाई कृषिमा आत्मनिर्भर गराउनु कृषिप्रधान देशको आफ्नो दायित्व पनि हो । तर शासकनै विकासका लागि कुनै सपना नदेख्ने परेपछि देश निश्चित रूपमै पछाडि पर्दो रहेछ ।

कोलम्बियाका कृषि क्षेत्रहरू घुम्दै गर्दा एउटा व्यक्तिलाई बेस्सरी सम्झिए । दुनियाँले पागल भनेपनी उनको भनाइले प्रभावित नै भए । सामाजिक सञ्जालमा हिट भए पनि जनमानसमा पागल कहलियका मुकुन्द घिमिरेले एक पटक टुईटरमा लेखेका थिए “तराईका सुन्दर बस्ती पहाडमा सारिने छ , उब्जाउ हुने तराईका चारकोषे झाडी मासेर टेक्टरले जोती हेलिकप्टर बाट बीउ छरिने छ ।”

उनले कल्पना गरेको मुकुन्दल्याण्डमा उनले सोचेजस्तै कृषिमा आत्मनिर्भर हुने सपना देखेका छन् । यदि साँच्चै हावापानीले स्वर्ग जस्तै हुने पहाडमा बस्ती बसाल्न सरकारले पहल गर्ने , उब्जाउ जमिन मासेर प्लटिङ गर्न नपाइने व्यवस्था गर्ने हो भने हाम्रो देश हाम्रै पालामा समृद्धि तफ लम्केको देख्न सक्ने थियौ ।

हो हाम्रो नेपाल आर्थिक रूपमा कमजोर छ तर भएको आर्थिक लगानी पनि सही सदुपयोग गर्न सकियो भने भौगोलिक बिकटताले देश पछाडि पर्दो रहेनछ । तर हामी उब्जाउ जमिन मासेर बस्ती बसाउँछौ , स्वच्छ हावापानी भएका पहाडी बस्ती उजाड बन्दैछन ।

” नेताहरू घुम्न आउदैनन त यस्ता देशमा ?” यही प्रश्नले मन पिरोलिरह्यो । फेरी सोचे ” चुनाव खर्च उठाउँदा उठाउँदै अर्को चुनाव आउँछ अनि कसरी देश विकासका लागि पहल गरून् ? “

कोलम्बिया घुम्दै गर्दा एउटा कुरा नेतालाई सुझाव दिन मन लाग्यो ‘ नेताजी ! पहिला देश विकासको सपना देख्नुस्’ । बुझ्नु भो ? , अनि घुम्नुस् हाम्रा जस्तै भौगोलिक बिकटता भएका देश । अनि हेर्नुस् कहाँ कस्तो विकास छ । एकै पटक नसकेपनी सुस्त सुस्त विकास गर्दै जानुस् । हामी लाई नेपाली भन्न गर्व लाग्ने बनाउनुस् त पिलिज ।