कृष्णप्रसाद भट्टराईको योगदानबारे चर्चा आज पनि उत्तिकै - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

कृष्णप्रसाद भट्टराईको योगदानबारे चर्चा आज पनि उत्तिकै



हिमाल पोष्ट / ललितपुर, ८ पुस । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विसं २०७४ माघभित्र तीनवटा तहकै निर्वाचन सम्पन्न गराउन जरुरी रहेको बताउनुभएको छ ।

कृष्णप्रसाद भट्टराई प्रतिष्ठानद्वारा आज बाँडेगाउँस्थित भट्टराई आश्रममा आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराईको ९३औँ जन्मजयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्थानीय, प्रान्तीय र केन्द्रीय तहको निर्वाचनले मात्र संविधान कार्यान्वयनले पूर्णता पाउने बताउनुभयो । उहाँले देशको सङ्क्रमणकाललाई टुङ्ग्याउन संविधान कार्यान्वयनका लागि सबै राजनीतिक दल एकताबद्ध रुपले अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

आम जनताको भावना समेट्ने गरेर संविधान संशोधनको प्रस्ताव आएकाले त्यसलाई संसद्बाट पास गराउनुको विकल्प नरहेको उहाँको जोड थियो । उहाँले निर्धारित समयभित्र देशले निकास पाउन नसके संवैधानिक सङ्कट आउन सक्नेमा चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले सन्त नेता भट्टराईले लिएको बाटोबाट प्रेरणा लिएर अघि बढ्नसकेमा देशले निकास पाउन सक्ने विश्वास व्यक्त गर्नुभयो ।
नेकपा (एमाले का अध्यक्ष केपी शर्मा ओलीले देशलाई सङ्क्रमणकालबाट जोगाउन संविधानको कार्यान्वयन र निर्वाचन सम्पन्न गराउनुको विकल्प नरहेको बताउनुभयो । उहाँले बिनाशर्त सरकार निर्वाचनमा जान चाहेमा आफ्नो पार्टीले पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

“देशको रक्षा र हितका निमित्त सबै राजनीतिक दल एक हुनुको विकल्प छैन”– उहाँले भन्नुभयो । “निर्वाचन गराउने कानुन संसद्बाट पास गरौँ र देशलाई चुनावमा लैजाऔँ, यसमा हाम्रो पूर्ण साथ र सहयोग रहनेछ”– उहाँले थप्नुभयो ।

उहाँले सन्त नेता भट्टराई पदभन्दा माथिको व्यक्तित्व रहेको बताउनुभयो । देशमा ठूलाठूला परिवर्तन ल्याउन भट्टराईको अतुलनीय योगदान रहेको उहाँले चर्चा गर्नुभयो ।

काँग्रेस नेता प्रकाशमान सिंहले अहिलेको अवस्थामा संविधानको कार्यान्वयन र रक्षा गर्नु सबैको जिम्मेवारी भएको विचार व्यक्त गर्नु भयो । सन्त नेता भट्टराईले लिएको लक्ष्यलाई अनुशरण गर्दै अघि बढ्नुपर्नेमा काँग्रेस नेता सिंहले जोड दिनुभयो ।

संस्कृतविद् डा जगमान गुरुङले देशलाई बिखण्डनबाट जोगाउनुपर्नेमा जोड दिनुभयो । उहाँले प्राज्ञिक र राजनीतिक वर्ग मिलेर देशलाई सङ्क्रमणकालबाट मुक्त गराउनुपर्ने धारणा राख्नु भयो । प्रतिष्ठानका अध्यक्ष पिएल सिंहले सन्त नेता किसुनजीले लिएका बाटोलाई पहिल्याएर अघि बढ्नसके देश सङ्क्रमणकालबाट मुक्त हुनसक्ने बताउनुभयो । रासस