ओली-प्रचण्ड भेटेनन, दालमा कतै कालो त छैन ? - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

ओली-प्रचण्ड भेटेनन, दालमा कतै कालो त छैन ?



वाम गठबन्धनका दुई शीर्ष नेता एक:अर्काको भूमिकाप्रति आशंका गर्न थालेका छन् । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच केही दिनयता प्रत्यक्ष भेटघाटसहितको संवाद हुन नसक्दा आशंका र अविश्वास जन्मिएका छन्। आजको अन्नपूर्ण पोस्टमा रामकृष्ण अधिकारीले लेखेका छन् ।

गठबन्धन निर्माणकै बेला प्रस्ट चित्र नआइसकेकाले पार्टी एकतापछिको नेतृत्व व्यवस्थापनमा विभिन्न अड्कलवाजी हुँदै आएका थिए । सरकारको नेतृत्व, पार्टी नेतृत्व, आलोपालो सरकारलगायत चर्चा चलेका थिए । दुवै नेताले आफूहरूका लागि व्यक्तिगत पद÷प्रतिष्ठा पार्टी एकताभन्दा ठूलो हुन नसक्ने बताउँदै आइरहेका थिए । २९ मंसिरमा बबरमहलको एक निजी निवासमा भएको छलफलबाहेक पार्टी एकताका विषयमा दुई पार्टीका शीर्ष नेताबीच प्रत्यक्ष संवाद हुन नसकेपछि अविश्वास चुलिएको छ ।

नेताबीच संवाद हुन नसक्नुमा केही अप्ठ्यारा र आशंका आइपरेको दुवै पार्टीका नेता स्विकार्छन् । तर, त्यस्तो आशंकाका विषयमा भने मुख खोल्न चाहँदैनन् । ‘केही समस्या र अप्ठ्यारा आइपरेका छन् तर त्यो वार्ताका क्रममा हटेर जान्छन्’, माओवादी केन्द्रका सचिवालय सदस्य चक्रपाणि खनालले भने ।

५ दिनयता चितवनमा रहेका माओवादी अध्यक्ष दाहाल मंगलबार काठमाडौं आएसँगै दुई नेताबीच ‘वान टु वान’ छलफल हुने बताइए पनि छलफल हुन सकेन । न त नेताहरूले छलफलको मिति र समय नै निर्धारण गरिसकेका छन् । जसले गर्दा पनि एमाले:माओवादी बीचको पार्टी एकतामा खटपट सुरु हुन थालेको हो कि भन्ने आशंकालाई बल पुगेको छ । तर, दाहालको निजी सचिवालयले दुई पार्टीबीचको एकतामा शंका गर्ने कुनै ठाउँ नरहेका कारण तरंगित भइरहनु नपर्ने प्रतिक्रिया दिएको छ ।