किमले लगाएका जुत्तामा के छ ? सातजना विशेषज्ञले गरे अनुसन्धान ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

किमले लगाएका जुत्तामा के छ ? सातजना विशेषज्ञले गरे अनुसन्धान !



बीबीसी । पछिल्लो हप्ता उत्तर कोरियाली नेता किम जोङ उनले पहिलोपटक दक्षिण कोरियाको भूमिमा प्रवेश गरि इतिहास रचेका छन् । संघर्ष, दुष्प्रचार, प्रतिबन्ध, धम्की, सैन्य अभ्यास, परमाणु खतरा लगायत नकारात्मकताले भरिएको विगत ७० वर्षमा उनी पहिला त्यस्ता उत्तर कोरियाली शाषक हुन् जसले आफ्नो सबैभन्दा कठोर दुश्मनकहाँ पाइला टेकेका छन् । यस्तोमा सधैँ उत्तर कोरियाली मिडियाको तर्फबाट मात्र किमको तस्बिर सार्वजनिक हुने गरेकामा पहिलोपटक बाहिरी संचारकर्मीले पनि उनलाई नजिकबाट नियाल्ने मौका पाएका थिए ।

त्यसैबीच किमले लगाएको जुत्ताबारे समेत दक्षिण कोरियामा ठूलै चर्चा भएको हो । यहाँसम्मकी दक्षिण कोरियाको एक चर्चित पत्रिकाले उनको जुत्तामाथि अध्ययन गर्नकै लागि सातजना विशेषज्ञ समेत खटाएको खबर बाहिर आएको छ । यसैपनि आफ्नो देशबारे सानो भन्दा सानो कुरा समेत अत्यन्तै गोप्य राख्ने गरेकाले उत्तर कोरिया सम्बन्धी सबैलाई अनेकौँ जिज्ञासा रहने गरेका छन् । त्यसमाथि पनि विश्वमा सबैभन्दा बढी समाचारमा आउने र चारैतिर चर्चित भएका कारण नेता किम सबैका लागि चासोको विषय रहँदै आएका हुन् । यसैले दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनसँगको ऐतिहासिक भेटवार्ताका बीच विशेषज्ञहरुले उनका जुत्ताबारे सुरु गरेको अध्ययनबाट धेरै कुराको खुलासा भएको हो ।

यस्तोमा उनले सधैँ लगाउने गरेको पहिरन पनि उनको जुत्तासँग सम्बन्धित रहेको पाइएको छ । विज्ञहरुका अनुसार उनले जहिल्यै लगाउने धेरै ठूला र खुकुला किसिमका प्यान्टले वास्वतमा उनको जुत्ता छोप्नमा मद्दत पुर्याउने गरेका छन् । दक्षिण कोरियाका जनताले पनि उनले केही लुकाउनकै लागि त्यस प्रकारको लुगा लगाएको बताउने गरेका छन् । यसै क्रममा पछिल्लो हप्ताको बैठकपछि सार्वजानिक गरिएको तस्बिरमा उनको जुत्तामा सामान्य भन्दा धेरै नै उचाइको हिल भएको देखिएको हो ।

अधिकांश पुरुषहरु हिल भएको जुत्ता लगाउँदैनन् तर उत्तर कोरियाली शाषकहरुमा भने यस्तो प्रकारको जुत्ता लगाउने परम्परा प्रचलित रहँदै आएको बताइन्छ । उत्तर कोरियाली नेताहरु आफ्नो छविलाई अन्तराष्ट्रिय स्तरमा प्रस्तुत गर्न चाहाने हुनाले सो तरिका अपनाउने गरेको अनुसन्धानकर्ताहरुको भनाइ छ । उनी भन्दा अगाडि उनका पिता किम जोङ इलले पनि त्यस्तै प्रकारको हाइ हिल भएको जुत्ता लगाउने गरेको पाइएको थियो ।

वास्तवमा उत्तर कोरियामा उच्च कदलाई सत्ता र आदरको प्रतिकका रुपमा लिइने भएकाले नै उनीहरु आफूलाई अग्लो नेताका रुपमा पेश गर्न चाहाने बताइन्छ । किम जोङको उचाइ भने ५ फुट ५ इन्च रहेको अनुमान गरिएको छ । तर उच्च हिलको जुत्ता लगाएपनि किम राष्ट्रपति मुन भन्दा केही होचो नै देखिएका थिए । सत्तासँग जोडिएको छविका कारण नै उत्तर कोरियाली नेताका लागि लम्बाइ धेरै महत्वपूर्ण विषय रहँदै आएको विशेषज्ञहरु बताउँछन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि किमको उचाइमाथि व्यङ्ग्य गर्दै ‘लिटल रकेट म्यान’ भनेर उल्लेख गरेका थिए भने एउटा ट्वीटमा मोटो र छोटो भन्ने अभिव्यक्ति समेत दिएका थिए ।