रेफ्रीमाथि दुव्र्यवहार र मुक्का प्रहार गर्ने खेलाडीलाई एक वर्ष प्रतिबन्ध - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

रेफ्रीमाथि दुव्र्यवहार र मुक्का प्रहार गर्ने खेलाडीलाई एक वर्ष प्रतिबन्ध



१३ पुस, काठमाडौं । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत मंगलबार पुरुष भलिबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल सकिएलगत्तै पश्चिमाञ्चल विकास क्षेत्रका खेलाडीले रेफ्रीमाथि दुव्र्यवहार र मुक्का प्रहार गरेका छन् । /, रेफ्रीमाथि दुब्र्यबहार गर्ने खेलाडीलाई एक वर्ष प्रतिबन्ध लगाइएकाे छ ।

 

इटहरी रंगशालामा त्रिभुवन आर्मी क्लबसँग पराजय बेहोरेको पश्चिमाञ्चलका खेलाडीले राष्ट्रिय रेफ्री एवं प्रतियोगिताका मुख्य निर्णायक विनय राईमाथि मुक्का प्रहार गरेका हुन् । खेलमा पश्चिमाञ्चल आर्मीसँग २०–२५, २५–२०, २५–२०, २५–११ को सेटले पराजित भएको थियो । रेफ्रीले आर्मीको समर्थन गरेका कारण यस्तो अवस्थाको सिर्जना भएको खेलाडीले दाबी गरेका छन् । खेल सकिएलगत्तै हात मिलाउन जम्मा हुने क्रममा एक्कासि आफूमाथि खेलाडीले मुक्का प्रहार गरेको राईले बताए । अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

‘खेलमैदानभित्र खेलको नियमविपरीत अश्लील शब्द बोलेपछि मैले खेलाडीलाई पहेँलो कार्ड दिएको थिएँ’, उनले भने, ‘त्यसको रिस उनीहरूले खेल सकिएलगत्तै ममाथि आक्रमण गरेर पोखे ।’ खेल चालू रहेकै अवस्थादेखि पश्चिमाञ्चलका खेलाडी रेफ्री राईप्रति आक्रोशित बनेका थिए । रेफ्री बसेर खेल खेलाइरहेको अवस्थामा सटर सञ्जुविक्रम शाहले मैदानबाटै ताकेर बल प्रहार गरे पनि राईलाई भने लागेन । राईले उक्त प्रहारलाई सामान्य रूपमा लिए ।

‘सट प्रहार गर्ने क्रममा निहुँमा मैदानबाटै बल प्रहार गरियो । हार बेहोर्दै गएका खेलाडीको आवेशलाई मैले सामान्य रूपमा लिएँ’, राईले भने, ‘खेल सकिएपछि भने आक्रमण नै भयो । रेफ्रीले गरेको निर्णय चित्त नबुझेमा कानुनी उपचार खोज्न सकिने व्यवस्थाको विरुद्धमा अनुशासनविपरीत खेलाडी उत्रिएका छन् ।’ खेल अवधिमा दर्शकको भारी समर्थन बटुले पनि रेफ्रीमाथि खेलाडीले आक्रमण गरेपछि भने दर्शक पश्चिमाञ्चलविरुद्ध खनिएका थिए ।

त्यसलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सुरक्षा दिएर खेलाडीलाई मैदानबाट बाहिर निकाल्नु परेको थियो ।