एमालेका पूर्व स्वास्थ्यमन्त्रीले भने: डा. केसीलाई बचाउनु गलत - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

एमालेका पूर्व स्वास्थ्यमन्त्रीले भने: डा. केसीलाई बचाउनु गलत



काठमाडौं-

पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले चिकित्सा शिक्षा सुधारको माग गर्दै पटकपटक आमरण अनसनमा बस्दै आएका डा गोविन्द केसीलाई मर्न दिनुपर्ने बताएका छन्।

राष्ट्रिय चिकित्सक संघ नेपालले शनिबार आयोजना गरेको कार्यक्रममा पूर्वमन्त्री अधिकारीले डा केसीको नाम नलिई घुमाउरो भाषामा डाक्टर केसीलाई मर्न दिनुपर्ने बताएका हुन्।

‘अनसन बसेर कसैले इच्छा मृत्युको माग गर्छ भने उसलाई मर्न दिनुपर्छ’, अधिकारीले भने, ‘एकातिर तीन करोड नेपालीको स्वास्थ्यको कुरा गर्ने अनि अर्कोतिर अस्पतालमा अनसन बसेर मर्न चाहनेलाई कसैले बचाउनु हुँदैन।’

पूर्वमन्त्री अधिकारीले सरकारी तलब खाएर सरकारी अस्पतालमा अनसन बस्ने कार्यलाई गैरव्यावसायिक कार्य भएको भन्दै त्यस्ता व्यक्तिलाई अरु डाक्टरले बचाइरहनु आवश्यक नरहेको पनि बताए।

‘सरकारी अस्पतालमा अनसन बस्नु पनि क्वाकरी (गैरव्यावसायिक) चिकित्सकीय अभ्यास हो,’ उनले भने, ‘यस्ता व्यक्तिमाथि अरु डाक्टरले आफूलाई सरेन्डर (आत्मसर्पण) गरेर किन बचाउनु?’

कार्यक्रममा डाक्टरहरुमाथि आक्रामक रुपमा प्रस्तुत भएका पूर्व स्वास्थ्यमन्त्री अधिकारीले केही डाक्टरलाई घुमाउरो भाषामा गाली समेत गरे।

‘मेडिसिनमा जान्ने डाक्टरले हामीलाई अरु विषयमा सिकाउन खोजेका थिए’, उनले भने, ‘विश्वका केही देशमा इबोला संक्रमण फैलिएको बेला एक जना डाक्टरले त मलाई नेपाली जनताको मृत्यु हुन्छ भन्दै सिकाएको थियो, हुँदै नभएको विषयमा त्यो डाक्टरले मलाई पढाउने कोसिस गरेको थियो।’

 उनले सरोगेसीको नीति बनाउने समयमा एक जना डाक्टरले हस्ताक्षर गरेको तर पछि आफू विरुद्ध नै आवाज उठाएकोमा पनि आपत्ति प्रकट गरे।

‘पहिला सरोगेसी नेपालमा हुनुपर्छ भनेर उनले हस्ताक्षर गरे’, उनले भने, ‘त्यसपछि उनले मलाई नेपाल स्वास्थ्य अनुसन्धान प्रतिष्ठानको अध्यक्ष बनाउनुपर्योु, म जति पनि पैसा दिन्छु भने। मैले हुन्न, पैसामा काम गर्ने मान्छे होइन भनेर गाली गरेपछि त्यो डाक्टर त म विरुद्ध नै लाग्यो।’

कार्यक्रममा पूर्वमन्त्री अधिकारीले सरकारी डाक्टरमाथि गालीको वर्षा गर्नुका साथै पूर्व स्वास्थ्यमन्त्रीहरुलाई पनि विभिन्न आरोप लगाए। उनले सरकारी अस्पतालमा उपकरण छिटै बिग्रिनुमा कमिसनको खेल रहेको पनि बताए।

‘सरकारी अस्पतालको सेवा गुणस्तरीय र सबैको पहुँचमा हुनुपर्छ’, उनले भने, ‘तर त्यहाँका उपकरण छिटै बिग्रिने गरेका छन्।’ उनले स्वास्थ्य क्षेत्रमा रहेका यस्ता बदमासीलाई रोक्नुपर्नेमा पनि जोड दिए।

उनले स्वास्थ्य मन्त्रालयमा पछिल्लो समय जोकरै जोकर आएर पनि स्वास्थ्यको उपलब्धिमा समस्या आइरहेको बताए।

‘विगतमा स्वास्थ्यका क्षेत्रमा धेरै उपलब्धि भएका थिए’, उनले भने, ‘तर पछिल्लो समयमा स्वास्थ्यमा सबै जोकरै जोकर आउँदा उपलब्धि हासिल हुन सकेन।’