खबरदार ! मुख्यमन्त्री पद सँग राजधानी नसाटियोस । - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

खबरदार ! मुख्यमन्त्री पद सँग राजधानी नसाटियोस ।



दीपक घिमिरे

‘सम्पूर्ण बाम, एकै ठाम’ भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै बामपन्थीहरु चुनावी माहोलमा उत्रीए । राजनैतिक स्थिरता कायम गरेर देशलाई सम्बृद्धीको बाटो तर्फ उन्मुख गराउन बामपन्थीहरु चुनावी तालमेल गरेर देशलाई अग्रगामी निकास दिन कस्सिए । तालमेलमा विभिन्न दलिय भागवण्डाहरु पक्कै पनि भए । दलिय हिसाबले उमेद्वार मात्र होइन , पदिय भागवण्डा पनि पक्कै भयो ।

यही भागवण्डाकै कुरालाई लिएर मिडियाहरुमा झुठा प्रचारबाजी पनि भए । बाम गठबन्धन लाई लक्ष्यमा पुग्न नदिन अनेक हतकण्डा वामपन्थी विरोधी मिडियाहरुले अपनाए । तर पनि बामपन्थीहरु बिचको चुनावी तालमेलले लक्ष्य प्राप्त गरेरै छाड्यो । यो हामी सबै नेपालीहरू जो राजनैतिक स्थिरता चाहन्छौ , तिन्का लागि खुसीको कुरा साबित भयो । वामपन्थी गठबन्धनले सोच अनुसार सफलता पायो । गलत प्रचार गरेर वामपन्थी गठबन्धन तोडन खोज्ने यथास्थितीबादीहरु अन्ततः हारे ।

अब विषय प्रवेश गरौँ :

चुनाव सकिय लगत्तै देशभर प्रादेशिक राजधानी छुट्याउने काम भयो । अस्थायी मुकाम तोक्ने सरकारी निर्णयलाई हेर्दा देउवा सरकारले दाङलाई निक्कै माया ग¥यो । अनेक अन्यौलतालाई चिर्दै देउवा सरकारले पाँच नम्बर प्रदेशको अस्थाई राजधानी बुटवललाई तल पारेर दाङलाई दियो । सरकारको यो निर्णयले दाङलाई देउवा सरकारले न्याय गरेको मान्नै पर्छ र यसका लागि देउवा नेतृत्वको सरकारलाई दाङवासीले धन्यवाद दिनै पर्छ ।

देश सङ्घीय गणतान्त्रिक मुलुकमा फडको मारेसँगै हामी दाङबासीले पाल्दै आएको एउटा सपना थियो , दाङलाई प्रदेश नम्बर पाँचको राजधानी बनाउने । त्यो सपनालाई साकार पार्न दाङमा नागरिक समाज , राजनैतिक दल अनि पहुचवालाहरु सबै निक्कै क्रियाशील भए । आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरे । र आजको दिन सम्म आई पुग्दा हामीले दाङलाई प्रादेशीक राजधानीकै रूपमा हेर्यौँ । भोलि के हुन्छ , त्यो हेर्न बाकी नै छ ।

अस्थाई मुकाम तोके सँगै एउटा हल्ला अहिले बजारमा व्याप्त छ , त्यो हो ‘ प्रदेशको राजधानी पनि दाङ अनि मुख्यमन्त्री पनि दाङकै ? यो पक्कै पनि मान्य हुने वाला छैन । ’

जनचासो अनि बजारी हल्लाले के बुझाउदै छ भने दाङले कि राजधानी पाउछ कि त मुख्यमन्त्री पद । दुवै दाङले नपाउन सक्छ भन्ने अडकल बाजी दाङवासीले लगाउदै छन् । र अर्को तिर के समेत भनिदैछ भने दाङले मुख्यमन्त्री पद सँग राजधानी साटन सक्छ ।

हो ! भोलि पदिय बाडफाड अनि दलिय भागबण्डाका बेला दाङलाई मुख्यमन्त्रि पदमा सीमित गरेर पाँच नम्बर प्रदेशको राजधानी बुटवल लाई दिने राजनैतिक दल बिच गोप्य सहमति हुन सक्छ । किन भने यहाँ नेताहरू व्यक्तिगत स्वार्थमा बढी लिप्त छन् । यस्तो अवस्था आउन पनि सक्छ किनकि बुटवलले आफूलाई राजधानीको सुचीमा अग्रपंतीमा राख्दै आएको छ । उसले मुख्यमन्त्रि पद दाङलाई दिएर नेताको बोली बन्द गराउन सक्छ ।
यसरी जनता बिच अनेकन तर्क र कुतर्क उठिरहेका छन् । उठनु स्वभाबिक पनि हो । किन भने राजधानीका लागि दाङ एक्लो दाबेदार होइन । बुटवलले आफूलाई पूर्वाधार सम्पन्न राजधानीको सूचीमा सुचिकृत गरिसकेको छ । बाम गठबन्धनकै हैसियतवाला नेताहरूले पनि बुटवल लाई राजधानी बनायरै छाडने अठोट लिएका छन् । यस्तो बेला हामीले मुख्यमन्त्री पद सँग राजधानी साटिने त होइन भनेर शङ्का गर्ने ठाउँ प्रशस्त छन् ।

नेतामा हुने पदिय लोभका कारण देशले यसरी उल्टो बाटो समातेको हामी सबैले बुझेका छौ । यति बेला पनि पदिय लोभकै कारण दाङले पाईसकेको राजधानी बुटवल पुग्ने अनि दाङले चैँ मुख्यमन्त्री पदमा चित्त बुझाउने अवस्था आउन सक्छ । दङाली जनताले चिया गफमा तर्क कुतर्क गर्नु भन्दा बेलैमा नेतागणलाइ झक्झक्याउन सकियो भने दाङलाई प्रादेशिक राजधानी बन्न कसैले रोक्न सक्दैन ।

केन्द्रमा पकड जमाएका गठबन्धनका प्रभावसाली नेता शङ्कर पोख्रेललाई मुख्यमन्त्रिको ललीपप देखाएर प्रदेशमा सीमित गरिनु र बुटवल क्षेत्रबाट राजनीति गर्ने गठबन्धनकै प्रभावसाली नेताहरूले बुटवल बाहेक अरू ठाउँमा राजधानी हुन दिदैनौ भन्ने उग्र भाषणले गर्दा पनि दाङलाई मुख्यमन्त्रि पद थमायर राजधानी बुटवल सार्छन कि भन्ने शङ्का यति बेला दाङबासीमा पर्दै आएको छ ।

चुनावी गठबन्धनका बेला भएका पदिय भागबण्डा राजधानीको विषय सँग जोडीनु हुँदैन । गठबन्धनका बेला भएका दलिय सहमतिलाई एकातिर राखेर दाङ प्रादेशीक राजधानीको लागी सबै दल, नेता अनि जनता एकजुट हुन जरुरी छ । चुनाव सकिय लगत्तै बजारमा हल्ला चले जस्तो मुख्यमन्त्रि पद सँग राजधानी साटने सहमति कुनै पनि दलले गरेको पाईएमा त्यो सरासर दाङबासी प्रति गरिएको षडयन्त्र ठहरिने छ ।

दाङलाई प्रादेशीक राजधानी बनाउन ठुलै चुनौती नभएको भने पक्कै होइन । ठुला दलका हेबीवेट नेताहरूको राजनैतिक थलो बुटवल हुनु देखी भौतिक पूर्वाधारले सम्पन्न बुटवल नगरीलाई हेर्ने हो भने बुटवलले दाङलाई सजिलै उछिन्न सक्छ । तर चुनावी माहौल तात्दै गर्दा दङाली जनताले दाङ प्रदेश नम्बर पाँचको राजधानी सपना देखेर बाम गठबन्धनलाई देखाएको माया नै आज राजधानीका निम्ति लडने प्रेरणा हो । जनमतको कदर गर्ने हो भने बाम गठबन्धनले पाएको मत नेताको हैसियतलाई देखेर दिएका भने पक्कै होईन्न । यो मत दाङलाई प्रादेशीक राजधानी बनाउन विशेष भूमिका खेल्ने ठानेर जनताले देखाएको माया हो ।

जनताको मतको खिल्ली उडाउदै मुख्यमन्त्रि पद पाउनकै लागी राजधानीको मागलाई बेवास्ता गरियो भने अर्काे पटक बाम गठबन्धन होस या लोकतान्त्रिक गठबन्धन ! जनताले बढारेर सीमा कटाउने छन् । त्यति बेला विकासे नारा या सामाजिक सुरक्षा भत्ताको नाममा चुनाव जित्न हालका हैसियतवाला नेतालाई गाह्रै पर्नेछ ।

जनता पर्ख र हेरको रणनीतिमा छन् । यतिबेला जनताले गाँस बाँस र कपास भन्दा पनि सम्बिृद्ध नेपालको परिकल्पना गरेका छन् । यस्तो अवस्थामा चुनाव अघि गरेका बाचा नेताले पुरा गरेनन र आफ्नै सीमित स्वार्थका निम्ति लडे भने जनताले अर्को पटक पत्याउने छैन्न । त्यसैले नेताजी ! खबरदार , मुख्यमन्त्रि पद सँग राजधानी नसाटीयोस ।