के गर्दै छन भारतका ३ पूर्वराजदूत १८ दिनदेखि काठमाडौंमा ? - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

के गर्दै छन भारतका ३ पूर्वराजदूत १८ दिनदेखि काठमाडौंमा ?



काठमाडौं – भारतका तीन पूर्वराजदूत १८ दिनदेखि नेपालमा छन् । उनीहरू कुनै राजनीतिक भेटघाटका लागि आएका भने होइनन् । पर्यटकका रूपमा आए पनि राजदूत भएर गइसकेकाले आफ्ना निकटस्थलाई मात्र भेट्दा पनि राजनीतिक भेटघाट नै हुने अधिकारीहरू बताउँछन् । उनीहरू अहिले राजनीतिज्ञ, पूर्वप्रशासक, पूर्वराजदूतहरूलाई भेट गरिरहेका छन् । उनीहरूले व्यापारिक समुदायलाई पनि भेटेको बताइएको छ । आजको कान्तिपुरमा समाचार छापिएको छ ।

पूर्वराजदूतहरू देव मुखर्जी, श्यामशरण र रञ्जित रे यतिबेला काठमाडौंको द्वारिका होटलमा बसेर भेटघाटमा व्यस्त छन् । उनीहरू शनिबार स्वदेश फर्कंदै छन् । निजी भ्रमणमा आएकाले अनौपचारिक छलफल भएको भेटेर फर्कनेहरू बताउँछन् । संविधानपछिको अवस्था, वर्तमान सरकार र नेपाल–भारत सम्बन्ध लगायतको विषयमा उनीहरू गफिरहेका थिए ।

नेपालको हिमाली क्षेत्रका प्रशंसक हुन्– तीनै पूर्वराजदूत । काठमाडौंमा रहँदा उनीहरूले नेपालको सौन्दर्यको प्रशंसा गरिरहन्थे । नेपालको विकास पर्यटन र ऊर्जा नै हो भन्दै आएका उनीहरू अहिले आफैं पर्यटकका रूपमा नेपाल आएका हुन् । दुनेबाट फोक्सुन्डो ताल हुँदै पुन: दुने नै फर्केका उनीहरू अधिकांश समय हिँडे । ‘लोअर डोल्पो सर्किट’ मा उनीहरूले ट्रेक गरेका हुन् । अप्रिल ९ मा काठमाडौं आएका उनीहरू दुई दिनपछि यात्रा सुरु गरेका थिए । नेपाल आएको जानकारी परराष्ट्र मन्त्रालयलाई रहेको भए पनि उनीहरूको चाहनाअनुसार गोप्य राखिदिएको थियो ।

त्यो क्षेत्रको ट्रेकका लागि अध्यागमन विभागको अनुमतिसमेत लिनुपर्ने भएकाले उनीहरू त्यो प्रक्रियासमेत पूरा गरेर नै त्यस क्षेत्रको भ्रमण गरेका हुन् । एक साताको १० डलर अनुमतिका लागि तिर्नुपर्ने हुनाले त्यो समेत अनुमति लिएर विशुद्ध पर्यटकका रूपमा उनीहरूले भ्रमण गरे । उनीहरू दुई साता त्यस क्षेत्र घुमेर बिहीबार काठमाडौं फर्केका हुन् । तीनै जना नेपालको ‘कुर्सियल’ समयमा राजदूत भएका थिए ।

राजा वीरेन्द्रको वंश नास (राजदरबार हत्याकाण्ड) हुँदाको असहज परिस्थितिमा मुखर्जी नेपालमा राजदूत थिए । उनी त्यसको केही समयमा फर्केपछि डा. आईपी सिंह ८ महिना राजदूत रहे । त्यसपछि श्यामशरण राजदूतका रूपमा आए । राजाको प्रत्यक्ष शासनकाल र माओवादी द्वन्द्वको समयमा उनी नेपालमा राजदूत रहे । दुई वर्षभन्दा बढी समय राजदूत रहेका श्यामशरण भारतीय विदेश सचिव भएर फर्के । उनी फर्केपछि उनको समेत संलग्नतामा तत्कालीन विद्रोही माओवादी र दलहरूबीच १२ बुँदे दिल्ली सम्झौता भएको थियो ।

गणतन्त्र संस्थागत गर्ने, संविधान जारी हुने, निर्वाचन प्रक्रिया अघि बढाउनेजस्ता कार्यको प्रत्यक्षदर्शी भए राजदूत रञ्जित रे । मञ्जिभसिंह पुरी आउनुअघि रञ्जित रे नै यहाँ राजदूत थिए । उनको कालमा नै नेपाल–भारत सम्बन्धमा बादल लागेको थियो । नेपालीले पाँच महिना नाकाबन्दी खेप्नुपरेको थियो ।