नेपाली फेशन डिजाइनरको पहिरनमा बलिवुड नायिका करिश्मा कपूर - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

नेपाली फेशन डिजाइनरको पहिरनमा बलिवुड नायिका करिश्मा कपूर



अर्जुन खनाल /ईन्द्र कमल जैरु 

विभिन्न क्षेत्रका प्रतिभाहरूले आफूलाई अन्तर्राष्ट्रिय मञ्चमा उभ्याउने प्रयास निरन्तर रूपमा गरिरहेका बेला शुक्रबार दिल्लीमा आयोजित फेशन विकमा नेपालीपनको झल्को देखिएको थियो  ।  नेपाली ब्रााण्ड ‘पेरी’ कि सञ्चालिका प्रिया राउतको  पहिरनले दिल्लीमा जारी एसियन डिजाइनर विक २०१८  को छैटौँ संस्करणमा विशेष ध्यानाकर्षण गरेको छ ।

शुक्रवार दिल्लीको इण्डिया गेट नजिक बिकानेर भवनमा भएको फेशन विकमा प्रिया राउतद्वारा निर्मित पहिरनमा मोडेलहरू र्याम्पमा उत्रेका थिए। नेपाली-वेस्टर्नको सम्मिश्रण उनको पहिरनलाई उपस्थित दर्शकहरूले विशेष महत्त्व दिइरहेका थिए ।

पहिरनमा लालीगुराँसको समेत डिजाइन राख्दा झनै नेपालीपन झल्किरहेको थियो । पेरीकी सञ्चालिका प्रिया राउतका डिजाइनमा मोडलहरू र्याम्पमा उत्रिँदा लेकाली हो चोयाको डोको भन्ने गीतको म्युजिकले  नेपाली झल्को विशेष देखिरहेको थियो ।

पेरीको प्रस्तुतिको मुख्य आकर्षणको रूपमा भने बलिवुड नायिका करिश्मा कपूर रहेकी थिइन । प्रस्तुतिको शोज टपर रहेकी करिश्मा कपूर र्याम्पमा उत्रिँदा अवलोकनकर्ताले तालीले स्वागत गरेका थिए । अन्तिममा डिजाइनर प्रिया राउतपनि करिश्मा कपूरसँगै र्याम्पमा आउँदा दर्शकहरूले तालीले उनको डिजाइनको प्रशंसा गरेका थिए ।

समारोहपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै करिश्मा कपुरले नेपाल-भारत एकै किसिमको संस्कृति रहेको भन्दै प्रिया राउतको डिजाइनको प्रशंसा समेत गरिन । उनले आफू नयाँ प्रतिभाहरूलाई प्रमोट गर्न मनपराउने व्यक्ति भएको भन्दै नेपाली डिजाइनर प्रिया राउत पनि निकै प्रतिभाशाली डिजाइनर रहेको बताएकी थिइन ।

प्रिया राउतले आफूलाई नेपाल आउने निमन्त्रणा गरेको भन्दै छिट्टै नेपाल पनि आउने बताएकी छन् । त्यसै गरी नेपालको के कुरा मनपर्छ भन्ने पत्रकारको प्रश्नमा करिश्मा कपूरले असल छिमेकी भएकाले नेपालको पहाड, संस्कृति, खानालाई राम्रो बताएकी थिइन । तीन दिनसम्म चल्ने फेशन विकमा नेपाल सहित, भारत, बङ्गलादेश, म्यानमार, अफगानिस्तान र श्रीलंकाले पनि सहभागिता जनाउँदै छन्  ।