कञ्चनपुरमा तीन दिन भित्र मोबाइलबाट विद्युत महशुल सेवा सुरु गर्न निर्देशन, अन्य समस्या भने तत्काल समाधान नहुने - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

कञ्चनपुरमा तीन दिन भित्र मोबाइलबाट विद्युत महशुल सेवा सुरु गर्न निर्देशन, अन्य समस्या भने तत्काल समाधान नहुने



हेमन्त न्यौपाने / कञ्चनपुर ।।
कञ्चनपुरको दक्षिणीक्षेत्रमा तीन दिन भित्र अर्थात यहि मंगलबार देखि मोबाइलबाट विद्युत महशुल सेवा सुरु गर्न क्षेत्रीय निर्देशक तारानाथ शर्माले कञ्चनपुरका प्राधिकरण प्रमुख पुष्पराज पन्तलाई निर्देशन दिएका छन ।

कञ्चनपुरको दक्षिणीभेग क्षेत्र नम्बर १ बाट नवनिर्वाचित सांसद विना मगरले माघ १० गते नेपाल विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङसंग भेट्दै ६ बुँदे ज्ञापनपत्र बुझाउनुभएको थियो । सांसद मगरकै अगाडीबाट महानिर्देशक घिसिङले विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय अत्तरियाका निर्देशक तारानाथ शर्मालाई १५ दिन भित्र समस्या समाधान गर्न निर्देशन दिएका थिए । तर निर्देशन पाएको १८ दिन बितिसक्दा समेत क्षेत्रीय निर्देशक शर्माले मोबाइल काउन्टर सञ्चालन गर्ने तयारी बाहेक अरु केहि प्रगति नभएको खुलासा गरेका छन । सांसद मगरको पहलमा भएको कामको प्रगति विवरण बुझ्न प्राधिकरणको क्षेत्रीय कार्यालय अत्तरिया पुग्नु भएका पुनर्वास नगरपालिका वडा नम्बर चारका वडाध्यक्ष प्रेम बहादुर बस्नेतसंग निर्देशक शर्माले मोबाइल काउन्टर सेवा बाहेक अरु कुनै काम तत्काल हुन नसक्ने बताए । वडाध्यक्ष बस्नेतले आफ्नै वडामा विद्युत भोल्डेज कम भई सिएफएल समेत नबल्ने हुँदा सेवा थप गर्नका लागि सुरु देखि प्रक्रियामा गएपनी अहिलेसम्म समस्या समाधान हुन नसकेको बताउनु भयो ।

यसरी हेर्दा महानिर्देशक घिसिङको १५ दिने निर्देशनलाई उनले खासै वास्ता नगरेको पाइएको छ । उनले विगतमा भन्दा धेरै प्रगति भएको भन्दै जनता अहिलेको स्थितिमा सन्तुष्ट रहनुपर्ने आशय व्यक्त गरे । उनले कञ्चनपुरको दक्षिणीभेगमा प्राधिकरणको शाखा विस्तार आगामी आर्थिक बर्षभन्दा अगाडी हुननसक्ने जिकिर गरे । निर्देशक शर्माले सांसद मगरको ज्ञापन पत्रमा उल्लेख मागहरु स्थानीय निकायबाट आउनुपर्ने बताए ।

सांसद मगरको क्षेत्र भित्रपर्ने चारवटै स्थानीयतहका चालीस हजार बढी घरधुरीले बेलौरी स्थित विद्युत प्राधिकरणको काउन्टरबाट विद्युत महशुल तिर्दै आइरहेका छन । ९० रुपैयाँ तिर्न ५ सय भन्दा बढी खर्च हुने तथा सास्ती खेप्नुपर्ने बाध्यतालाई यथासिघ्र समाधान गर्न सांसद मगरले पहल चाल्नुभएको थियो । मोबाइल काउन्टर सेवा सुरु भएमा पनि यस क्षेत्रका सेवाग्राहीले ठुलो राहत महसुस गर्नेछन ।

चारवटै स्थानीय तहमा काउण्टर स्थापना गर्न पहल गर्ने, तत्काल बेल्डाँडी, पुनर्वास र लालझाडीमा घुम्ती महसुल काउण्टर सञ्चालन गर्ने, भोल्टेजको समस्या हल गर्न आवश्यकता अनुसार तत्काल नै ट्रान्सफर्मर जडान गर्ने, दीर्घकालिनरुपमा चारवटै स्थनीय तहलाई पायक पर्ने स्थानमा सब स्टेशन स्थापनाका लागि प्रस्ताव तयार गर्ने, उक्त क्षेत्रका सबै लाइनलाई थ्री फेजमा अपग्रेड गर्ने काम अगाडि बढाउन कार्यकारीनिर्देशक घिसिङले निर्देशन दिएका थिए । सब स्टेशनलगायतका सबै कामहरु यसै चैत मसान्तभित्र नै पूरा गर्न उनले निर्देशन दिएका थिए ।

सांसद विना मगरले पेश गर्नुभएको ६ बुँदे माग प्रस्तुत छ:-

१. हाल बेलौरी बजारमा मात्र रहेकोविद्युत महसुल काउण्टरलाई बिस्तार गरी अन्य तीनवटा स्थानीय तह बेल्डाँडी, पुनर्वास र लालझाडीमा समेत बिस्तार गरियोस् ।

२. विद्युत भोल्टेजको समस्या हल गर्न पुनर्वासमा नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको जग्गामा सब स्टेशन तत्काल निर्माण गरियोस् । साथै विद्युतको खपत बढी हुने स्थानहरु तथा स्वास्थ्य, शिक्षालगायतका अत्यावश्यक सेवा क्षेत्र नजिक ट्रान्सफर्मर जडान गरी भोल्टेज र नियमितताको समस्या हल गरियोस् ।

३. यस क्षेत्रमा बिभिन्न कृषिजन्यउपकरण समेत सञ्चालन गर्न तथा अन्यउद्योगहरुलाई आवश्यकता परे अनुसार हालको प्रसारणलाई चार फेजको लाइनमा अपग्रेड गरियोस् ।

४. कञ्चनपुर–बेलौरी मार्ग र हुलाकी राजमार्ग निर्माण कार्य चलिरहेकोले उक्त सडक खण्डमा पर्ने विद्युत पोलहरु सुरक्षितरुपमा स्थानान्तरण गरियोस् ।

५. कृषि प्रयोजनका लागि खपत हुने विद्युतको महसुलमा सब्सिडी तथा अनुदान÷छूटको नीतिगत व्यवस्था गरियोस् ।

६. विद्युत महसुल तिर्न नसक्ने गरिब, सुकुम्बासी जनताका लागि निशुल्क विद्युत उपयोग गर्न पाउने गरी नीतिगत व्यवस्था लागि समेत पहल गरियोस् ।