कैलालीमा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

कैलालीमा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ



दिपेन्द्र ओली / धनगढी,कैलाली ।

कैलालीमा मोटरसाइकल चोरीमा संग्लन ६ जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ। मोटर साइकलको चोरी गरेर खरिद बिक्री गर्ने समूहका ६ जनालाई विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो।

उनीहरूलाई आइतबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको छ। उनीहरूले चोरी गरेको सातवटा मोटरसाइकलसहित प्रहरीले सार्वजनिक गरिएको हो। चारजना मुख्य चोर, एकजना चोरीका मोटरसाइकल वेचविखन गर्ने व्यक्ति र एक जनाको घरमा मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ।

धनगढी उपमहानगरपालिका ६ मटीयारीका २१ वर्षीय रामभजन राना, २१ वर्षीय प्रकाश राना, २० वर्षीय सुरज राना र कैलाली गाउँपालिका दुधियाका १८ वर्षीया सन्जु चौधरी मुख्य योजनाकार रहेको प्रहरीले जनाएको छ।

त्यस्तै कञ्चनपुरको वेदकोट नगरपालिका ५ का २८ वर्षीय पदम धानुक र घोडाघोडी ९ का किसन चौधरीले त्यस्ता मोटरसाइकल वेचविखन गर्दै आइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बिनोद घिमिरेले बताए। घिमिरेले भने, ‘उनीहरूले रातीको समयमा घरबाहिर राखिएका मोटरसाइकलहरू चोरी गर्ने गरेका थिए।’ धनगढीको हसनपुर, चटकपुर, क्याम्पसरोड लगायतका स्थानबाट बढी मोटरसाइकल चोरी गरेको उनीहरूले स्विकारेको प्रहरीले जनाएको छ।