कहिले होला त्यो दिन आउने ? - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

कहिले होला त्यो दिन आउने ?



धनवीर पुन मगर

चेन्नई । कुनै वेलाका चर्चित नेपाली लोक गायक बम बहादुर कार्कीले गाएको ‘गाईको चरन, कुन देशको जन्म ठाउँ कहाँ हो मरन’ बोलको गीत साहेद नेपाली थितीलाई नै चरितार्थ गरेर गाएका थिए ।

समयले धेरै कोल्टे फेरी सकेको छ । तर दु:ख साथ भन्नु पर्दा नेपालीहरूको नियती र थिती भने ज्यूँका त्यूँ छन् । देशमा राणा शासनको अन्त्य भयो, २३८ वर्षको पुरानो सामन्तवादी सत्ता ढल्यो, नयाँ जनवादी क्रान्तिका नाममा कैयौँले आहुती दिए, २०६२/६३ को आन्दोलनले लोकतन्त्र स्थापना गर्‍यो तर फेरिएन नेपाली आम मानिसहरूले आफ्नै देशमा ज्यून पाउने समाधानका बाटाहरु । नेपालीहरू दिनदिनै प्रदेश जाने लर्को रोक्ने व्यवस्था अझै ऐनामा देखेको छायाँ सरह नै छ ।

गएको केही दिन भित्र भारतको मद्रासमा नेपालीहरू यात्राको दौरानमा मरेकामरै छन् । हामी मिडिया कर्मिहरुलाई समाचार भ्याई नभ्याई छ । तर राज्य ? कुनै वेला भारत जाने नेपालीहरूले पनि जीवन बिमा गरेर मात्र भारत जान पाउने समाचार सुखद अनुभूति दिएको थियो तर आज सयपत्री ओइलाएकै सरह भएको छ ।

चेन्नईमा स्वर्गद्वारी नपा २ गोठिवाङ स्थित दिवाङका प्रेम योगी र जेदराम बुढा मगरको रेलबाट खसेर मृत्यु भएको समाचार सेलाउन नपाउँदै महाराष्ट्र प्रदेशको वल्लरशाहमा वर्दिया निवासी इन्द्र सापकोटाको पनि रेलबाट खसेर नै मृत्यु भएको छ । बडैया गाउपालीका वाड नं. ७ कर्णाली गाउँ, बर्दिया निवासी करिब ४२ वर्षका इन्ऽ बहादुर सापकोटा चेन्नईको जेपियर कलेजमा कार्यरत थिए ।

यसरी भारत प्रवासमा यात्राका दौरान रेलबाट खसेर होस् वा बस तथा रेलहरुमा वदमाशहरुले विभिन्न प्रकारका विष सेवन गराई लुटने गरेका तितो एथार्थ लुकाएर पनि छिप्दैनन् । कमसिकम राज्यले भारत प्रवासमा रोजगारीका लागि जाने नेपालीहरूको जीवन बिमाको मात्रै व्यवस्था मिलाई दिए पनि केवल हड्डीको कंकाल मात्रै परिवारले बुझ्नु पर्ने अवस्था आउने थिएन ।

धन्य हुन् बम बहादुर कार्कीले त्यति वेला नै त्यो पिडालाई बुझेका रहेछन् । ‘गाईको चरन, कुन देशको जन्म ठाउँ कहाँ हो मरन’ साँच्चै नै चरितार्थ गर्दो रहेछ नेपालीहरूको सवालमा । धन्य हो धन्य ।