पञ्जाबलाई ६ विकेटले हराउँदै मुम्बई आइपिएलको पाँचौ स्थानमा - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

पञ्जाबलाई ६ विकेटले हराउँदै मुम्बई आइपिएलको पाँचौ स्थानमा



किङ्स इलाभेन पञ्जाबलाई ६ विकेटले हराउँदै मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को पाँचौ स्थानमा उक्लिएको छ।

किङ्स ११ पञ्जाबलाई शुक्रबार ६ विकेटले हराएर तेस्रो जित निकालेको मुम्बईले प्ले अफको सम्भावना जिवितै राखेको छ।

१ सय ७५ रनको लक्ष्य पछ्याएको मुम्बईले अन्तिम ओभर अगाडिनै विजयी भयो। उसका लागि सूर्यकुमारले अर्धसतक प्रहार गर्ने क्रममा ४२ बल खेलेर ६ चौका र ३ छक्कासहित ५७ रन बनाए।

इशान किशनले २५, हार्दिक पाण्डेयले २३, इभान लेविसले १० रन जोडे। कप्तान रोहित शर्मा २४ र कुर्नाल पाण्डेय ३१ रनमा अविजित रहे। १५ बल खेलेका रोहितले २ छक्का र १ चौका तथा कुर्नालले ४ चौका र २ चौका प्रहार गरे । पञ्जाबका लागि मुजिब उर रहमानले २, एन्ड्रियू टे र मार्कुस स्टोनिसले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पञ्जाबले क्रिस गेलको अर्धशतकको मद्दतमा २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको थियो। उसका लागि लोकेश राहुल र गेलको जोडीले पहिलो विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए। राहुल २४ रन बनाएर आउट भए भने गेलले ५० रन पुरा गरे।

गेलले ४० बलमा ६ चौका र २ छक्का प्रहार गरेका थिए। युवराज सिंहले १४, करुण नायरले २३, अक्षर पटेलले १३ र मंयक अग्रवालले ११ रन जोडे। मार्कुस स्टोनिसले अविजित अविजित २९ रन बटुले।

मुम्बईका लागि मिचेल म्याक्लिघान, जसप्रिस सिंह, हार्दिक पाण्डेय, मंयक मार्केन्डे, र बेन कटिङले समान १ विकेट लिएका थिए।

यो जितसँगै आइपिएलमा मुम्बईले ९ खेलबाट ३ जितसहित ६ अंक बटुलेर तालिकाको पाँचौ स्थानमा उक्लियो। उता पराजित पञ्जाव ८ खेलबाट १० अंकसहित चौथो स्थानमा छ।

आइपिएलमा शनिबार दुई खेल हुनेछन्। चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंगलोर तथा अर्को खेलमा सनराइजर्स हैदराबाद र दिल्ली डेयरडेभिल्सबीच प्रतिस्पर्धा हुनेछ।