जुवा खेल्दा श्रीमानले श्रीमती हारेपछि… - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

जुवा खेल्दा श्रीमानले श्रीमती हारेपछि…



उडिसा ,एजेन्सी । भारतको उडिसा राज्यमा एक व्यक्तिले श्रीमतीलाई जुवामा हारेको विवरण सार्वजनिक भएको छ । उडिसाको बालेश्वर जिल्लाको मलाङबालीकुटी गाउँका एक व्यक्तिले जुवामा हारेपछि पत्नीलाई जित्ने मान्छेको जिम्मा लगाएका हुन् । पीडित महिलाले बालेश्वर जिल्लाको एक प्रहरी कार्यालयमा यसै साता उजुरी गरेपछि घटना सार्वजनिक भएको हो ।

बाजीमा जितेकी महिलालाई सोही दिन बलात्कार
पीडित महिलाका श्रीमान् र जुवा जित्ने व्यक्ति फरार छन् । जुवामा जित्ने व्यक्ति सोही गाउँका अबिराम दलाई भएको प्रहरीले जनाएको छ । उनले बाजीमा जितेकी महिलालाई सोही दिन बलात्कार गरेको पीडितले बताएकी छिन् ।

२७ मेमा स्थानीय प्रहरी चौकीमा उजुरी गर्न खोज्दा प्रहरीले मेलमिलाप गर्न सुझाब दिएका थिए । तर, प्रहरी उपरीक्षकलाई नै भेट गरेर पीडितका तर्फबाट निवेदन दिइएको थियो । पीडित महिलालाई जाँचका लागि बालेश्वर पठाएको प्रहरीले जनाएको छ । आरोपीविरुद्ध बलात्कारलगायत अन्य अभियोग पनि लगाइएको प्रहरीले जनाएको छ ।

खेतमा लगेर बुझाए पत्नीलाई

जुवा हारेपछि यही २३ मेमा ती व्यक्तिले राति ११ बजे पत्नीलाई घरबाहिरको खेतमा जान कर गरेका थिए । तर, नमानेपछि उनी आफैँले पत्नीलाई हातमा समाएर खेतसम्म पु-याएका थिए, जहाँ जुवा जितेका व्यक्ति दलाई उनीहरूलाई कुरिरहेका थिए ।

ती व्यक्तिले पत्नीलाई दलाईलाई जिम्मा लगाएर ऊसँग शारीरिक सम्पर्क गर्न निर्देशन दिएका थिए । पतिको व्यवहारले छानाबाट खसेजस्तै भएकी ती महिला खेतबाट भाग्न खोजिन् । तर, दलाईले उनलाई जबर्जस्ती घिसारेर अज्ञात स्थलतर्फ लगेर बलात्कार गरेका थिए । पति जुवामा हारेर आफू बेचिएको महिलालाई केही थाहा थिएन । सोही रात घर फर्किएपछि पीडित महिलालाई पतिले सबै खुलासा गरेका थिए । जिम्मा लगाएका व्यक्तिसँग ती महिलाको चिनजानसमेत थियो ।