झलनाथ खनाल र माधव नेपाल दुबै राष्ट्रपति बन्दैनन् : विष्णु पौडेल(भिडियो सहित) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

झलनाथ खनाल र माधव नेपाल दुबै राष्ट्रपति बन्दैनन् : विष्णु पौडेल(भिडियो सहित)



“सात बुंदे सहमति पार्टी एकताको जग हो। यो जगमा बसेर हामी केही काम गर्छौं।”- केही दिन अघिमात्र माओबादी केन्द्र र एमालेले पार्टी एकतासंग सम्बन्धित सात बुँदे सहमति सार्बजनिक गरेको थियो। उक्त सहमतिलाई पार्टी एकताका लागि जगको उपमा दिदै माउन्टेन टेलिविजनको खरो प्रश्न कार्यक्रममा नेकपा एमालेका उपमहासचिव विष्णु पौडेल भन्छन- पार्टी एकताको काम हामी बढीमा तीन हप्तामा सक्छौं। एकताको क्रममा नेपाल कम्युनिस्ट पार्टीसंग पनि एकता होला। एकताका लागि सम्बादका थुप्रै पाटाहरु छन्। नेपालमा सुरुमा स्थापना भएको कम्युनिस्ट पार्टी पनि नेपाल कम्युनिस्ट पार्टी नै हो।

मुख्य रुपमा नेपालको कम्युनिस्ट आन्दोलन यो मोडसम्म आइपुगेको छ। मूलभूत रुपले यी दुई पार्टी एक भएपछी कम्युनिस्ट आन्दोलन एकताबद्ध हुन्छ। हामी पनि नेपाल कन्युनिस्ट पार्टीकै निरन्तरता भएकोले एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी उपयुक्त हुन्छ भन्ने लाग्छ।

कम्युनिस्ट पार्टीहरुले नामको पछाडी पुच्छर झुन्ड्याउने आइडेन्टीका लागि हो तर एकताबद्ध भए पछी त्यो पनि चाहिन्न। एकीकृत पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सबाद, लेनिनबाद हुनेछ। हामी लोकतान्त्रिक ढंगले अभ्यास गर्ने पार्टी हौँ। पार्टीभित्र माओबादको मांग राख्ने साथीहरुको मांगलाई पनि खुल्ला छलफल पछी निर्णयमा पुग्नेछौं। एमाले र माओबादी केन्द्रको राम्रो योगदानलाई विश्लेषण र संस्लेषणगर्दै अघि बढ्छौं।

दुई पार्टी एक भएपछी पुग्ने लक्ष्य कहाँ हो नि भनेर सोद्धा पौडेल भन्छन-सामाजिक र आर्थिक दृष्टिकोणले सामन्तबादको अवशेषलाई अन्त्य गर्ने, दलाल पूंजीबाद्लाई न्यूनीकरणगर्दै साम्राज्यबादी हस्तक्षेपलाई समाप्त गरेर हामी समाजबाद तर्फ अघि बढ्छौं। समाजबाद हामी आफैले ल्याउने हो। समाजबाद बिकशित भएपछी साम्यवादतर्फ जाने हो।

हिजोका दिनमा पार्टी एकताका सन्दर्भमा ५०-५० को कुरा गर्ने प्रचण्ड आज आएर ओली नै ५ बर्षका लागि प्रधानमंत्री भन्दैछन। त्यसोभए पार्टी एकता भएर प्रचण्डले के पाए त भनेर जिज्ञाशा राख्दा पौडेलको जवाफ यस्तो रह्यो–पार्टी एकताको सन्दर्भमा कतिपय अनुमान नगदमा कारोबार गरेजस्तो देखियो। पार्टी एकताको सवालमा मुख्य नेताहरुको लाभ हानिलाई हेरेर कुरा गरिरहेको पाउँछु। मेरो विचारमा यो उचित विश्लेषण हैन। यो दुई नेता बिचको लेनदेनको विषय मात्र पनि हैन। हामी दुई पार्टी एक हुँदै छौं।

ओलीजी र प्रचण्डजी लामो आन्दोलनलाई नेतृत्व गरेर आउनु भएका नेता हुन्। भन्नेहरुले त धेरै थोक भन्छन प्रचण्डजीलाइ चंचल र अस्थिर नेता पनि भन्छन तर म उहाँलाई गतिशील नेता भन्छु।

चुनाव र एकताको प्रक्रियामा एमाले र माओबादीको भागबण्डा ६०-४०,७०-३० हुँदै सरकार गठनसम्म पुग्दा त ९०-१० भन्ने सम्म सुनियो नि भनेर सोद्ध उनी भन्छन–हामीले दुइवटा पार्टीलाई अलग अलग राख्न चाहेको भए भागबण्डा हुन्थ्यो। सहकार्य गरेको ठाउँमा भागबण्डाको कुरा कहाँ आउँछ र ? जब दुइवटा पार्टी मिल्न लागेकाछनभने त्यहाँ भागको कुरा कहाँबाट आयो ? दुई पार्टी मिल्ने बेलामा पनि अंशको कुरा आउँछ र ?

यो दुई पार्टीको एकता हैन प्रचण्डको बिलय हो कि भन्ने आशंकालाई चिर्दै पौडेल भन्छन–यो अत्यन्तै आपत्तिजनक अभिव्यक्ति हो।यो कुनै पनि अर्थमा मेल खाने पदावली हैन। एकतामा भाँजो हाल्ने हरुले प्रयास त गर्छन नै,त्यसमा दुई अध्यक्ष र हामी पनि सचेत छौं।
पार्टी एकताका लागि अत्यन्त हार्दिक र जीवन्त ढंगले छलफललाई अघि बढाईरहेका छौं। किनकि युद्धकालमा पनि हामी सम्बादमा थियौं। १२ बुंदे सहमति बनाउने क्रममा पनि हाम्रो सम्बद कायमै थियो।

पार्टी एकताका लागि हाम्रो सम्बाद आजको हैन, पहिलो संबिधानसभाको निर्बाचनभन्दा अघि देखिको जतिबेला मोहन वैद्य पनि माओबादी पार्टी मै र उक्त छलफलमा पनि संगै हुनुहुन्थ्यो र पार्टी एकताको सन्दर्भमा उहाँको पनि बिमति थिएन। उहाँप्रति मेरो सम्मान छ, तर मलाई लाग्छ, उहाँ गलत बाटो हिड्नु भएको छ र एक दिन उहाँ पनि बाटी सच्याएर कम्युनिस्टहरुको एकता प्रक्रियामा आउनु हुनेछ।

नेकपा एमालेका नेता विष्णु पौडेलले पार्टी एकता, एकतापछि पार्टीले लिने सैद्धान्तिक र सांगठानिक बाटो र नेता तथा कार्यकर्ताहरुको ब्यबस्थापनको बारेमा के के भने त भनेर जान्नका लागि भिडियोमा क्लिक गर्नुहोस।