बागलुङ जिविसबाट ७२ लाख सामाजिक सुरक्षा भत्ता फिर्ता - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

बागलुङ जिविसबाट ७२ लाख सामाजिक सुरक्षा भत्ता फिर्ता



हरि रिजाल  / २६ मङ्सिर, बागलुङ। जिल्ला विकास समिति बागलुङमा चालु आर्थिक वर्षको पहिलो किस्ता अन्तर्गत निकासा भएका सामाजिक सुरक्षा भत्ताको कुल रकम मध्ये ७२ लाख बढी रकम फिर्ता भएको छ ।
पहिलो किस्ता अन्तर्गत निकासा भएको १६ करोड १४ लाख ९८ हजार रुपैयाँ मध्ये ७२ लाख ४३ हजार २ सय रुपैयाँ फिर्ता भएको र १५ करोड ४२ लाख ५४ हजार ८ सय रुपैयाँ वितरण गरिएको जिविस बागलुङका नायब सुब्बा मिनबहादुर थापाले जानकारी दिनुभयो । जिल्लामा सबै भन्दा बढी बूर्तिवाङ्ग गाविसबाट रकम फिर्ता भएको छ ।

कुल ४२ लाख ३७ हजार रुपैयाँ निकासा भएकोमा बूर्तिवाङ्ग गाविसबाट ६ लाख ८ हजार ८ सय रुपैयाँ फिर्ता भएको छ । बढी रकम हुने गाविसहरुमा राजकुतबाट ३ लाख ९८ हजार ४ सय, अधिकारीचौरबाट ३ लाख ४८ हजार ८ सय र दर्लिङ गाविसबाट ३ लाख ३५ हजार ४ सय रुपैयाँ रहेको नायव सुब्बा थापाको भनाई रहेको छ ।
सबै भन्दा कम फिर्ता हुने गाविस अन्र्तगत पाण्डवखानी गाविसबाट १६ हजार, नरेठाँटीबाट २५ हजार ६ सय, धम्जा गाविस मार्फत २७ हजार, अर्जेवा गाविस मार्फत २८ हजार रुपैयाँ फिर्ता भएको छ । गाविसमा लामो समय सम्म सचिव नरहँदा सामाजिक सुरक्षा भत्ता रकम पाउनेको संख्या अद्यावधिक गर्न नसक्दा रकम फिर्ता हुने गरेको जिविसले जनाएको छ । पहिलो किस्तामा ३० हजार ३५ जनाले सामाजिक सुरक्षा भत्ता रकम बुझेको तथ्याङ्गक रहेको छ ।
जिल्लामा अन्य जेष्ठ नागरिक ९ हजार २ सय ५३, दलित जेष्ठ नागरिक ५ हजार ३ सय ७०, एकल महिला एक हजार ७ सय २९, विधुवा महिला ५ हजार ६ सय ८२, पूर्ण अशक्त ४ सय ७७, अति अशक्त ७ सय ३५ र दलित बालबालिका ६ हजार ८ सय ९ जनाले भत्ता रकम बुझेका थिए ।