गुण्डागर्दी विरुद्ध "क्लिन काठमाडौँ" अभियान चलाउने जनार्दन शर्माको उद्घोष ! - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

गुण्डागर्दी विरुद्ध “क्लिन काठमाडौँ” अभियान चलाउने जनार्दन शर्माको उद्घोष !



३ भदौ, काठमाडौँ ।

गृहमन्त्री जनार्दन शर्माले गुण्डागर्दी विरुद्ध क्लिन काठमाडौँ अभियान चलाउन लागेको उद्घोष गरेका छन् ।

वाइसीएल नेपालको एकताको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै गृहमन्त्री जनार्दन शर्माले गुण्डागर्दी र अपराध नियन्त्रणमा साथ दिन युवाहरूलाई आह्वान गरेका छन् ।

गृह प्रशासनको अपराध नियन्त्रण गर्ने अभियान रहेको र यो अभियानमा हातेमालो गर्न युवाहरूलाई आह्वान गरेका हुन् । आफू देशमा निःस्वार्थ शान्ति सुरक्षा कायम गर्न क्रियाशील रहेको भन्दै उनले गुण्डागर्दी, अनियमितता र अपराधको सूचना दिएर सहयोग गर्न युवाहरूलाई आग्रह गरे ।

मन्त्री शर्माले गुण्डागर्दी र अपराधविरुद्ध आफूले ल्याउन लागेको ‘क्लिन काठमाडौँ’को अभियानमा युवाहरूको साथ पाउने विश्वास व्यक्त गरे ।

‘के तपाईँहरू क्लिन काठमाडौँ बनाउन कुचो समात्न तयार हुनुहुन्छ ?’ मन्त्री शर्माले प्रश्न गर्दै भने, ‘यदि कुचो समात्न तयार हुनुहुन्छ भने तपाईँहरूले युवा खोज्ने होइन, युवाहरू तपाईँको सङ्गठन खोज्दै आउनेछन् । वाईसीएलको सङ्गठनमा उभार आउनेछ ।’

अहिले विकृति र विसंगति हटाउने अवसर आएको भन्दै उनले भने, ‘मलाई अनियमितताको सूचना दिनुस् म नियन्त्रण गर्छु । त्यसलाई ठिक पार्ने सरकार र संयन्त्र हामीसँग छ । तपाईँ युवाहरूले साथ दिनुस् । हामी मिलेर जनताको अझै धेरै सेवा गरौँ ।’