जनताको भावना विपरीत संविधान संशोधन प्रस्ताव : सचिव विष्ट - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

जनताको भावना विपरीत संविधान संशोधन प्रस्ताव : सचिव विष्ट



हिमाल पोष्ट /काठमाडौँ, २१ मङ्सिर । नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले सरकारले जनताको भावनाविपरीत संविधान संशोधन प्रस्ताव ल्याएको बताउनुभएको छ ।

संवाद क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा बोल्दै सचिव विष्टले पाँच नम्बर प्रदेशमा मिलेर बसेका पहाड र तराईका जनताको मिलेर बस्ने चाहनालाई तोडेर संशोधन प्रस्ताव ल्याउनु रहस्यमय विषय भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “संवैधानिक दायरा मिचेर ल्याएको संविधान संशोधनको प्रस्तावले देशमा संवैधानिक तथा राजनीतिक अराजकता पैदा गरेको छ ।” उहाँले संविधानको धारा २७४ को ४ र ५ ले रुपान्तरित संसद्लाई सीमा हेरफेरको अधिकार नदिएको दाबी गर्नुभयो ।

सचिव विष्टले नेपालको संविधान जनपक्षीय, लोकतान्त्रिक, प्रगतिशील र अग्रगामी भएको दाबी गर्दै देशको अहित हुने गरी ल्याइएको संशोधन प्रस्ताव अविलम्ब फिर्ता लिएर चुनावको मिति घोषणा गर्न सरकारसँग आग्रह गर्नुभयो । रासस