“जापानीहरु छुचा हुन्छन् !” - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

“जापानीहरु छुचा हुन्छन् !”



साथीले भन्यो, “तारिफमा यसरी लेख्छस् कि मानौं जापानमा सबथोक छ । हैन,कति प्रशंसा गर्न सक्या हो जापानको !?”

“त्यस्तो होइन यार ! मैले नभाको कुरा लेखेको छैन,जापानमा मेरा आँखाले जे देखेँ त्यही लेखें । मलाई जापानका साना साना कुरा अनौठा लाग्छन । यहाँका ठुला भन्दा ठुला ‘कर्पोरेट डील’ देखि लिएर साना भन्दा साना भट्टी पसल सम्ममा अनुशासन युक्त संस्कार देख्छु म । चामलमा केही बियाँ त अवश्य हुन्छन्,केही अनुशासन उल्लंघन गर्ने उरन्ठेउलाहरु पनि नभएका होइनन तर जुनको उज्यालोमा दाग लुके झैँ ती सब कुरा लुक्छन यहाँ । जापानको प्रविधिमा समृद्धि त विश्वले देखेकै छ । तर जापानी प्रवृत्ति यहाँ आउने र भोग्नेले यिनीहरूको दैनिक व्यवहार देखेपछि बढ़ी महसुस गर्छन् । त्यसैले पनि मैले जापान र जापानीहरुको प्रशंसामा दुई चार शब्द कोर्ने गर्छु ।”, मैले यस्तै बताएँ ।

“त्यसो त हामी नेपाली पनि के कुरामा कम छौँ र ?” उताबाट साथीको यस्तै आशय सहितको जवाफी प्रतिप्रश्न आयो ।

“पक्कै पनि । हामी कम छैनौँ । बरु हामी नेपालीमा अनौठो भोक छ-ज्ञानको भोक । हामी धेरै कुरा जान्न चाहन्छौँ । हामीले धेरै कुरा जानेका पनि छौँ । हामीलाई राजनीतिको बारेमा पनि अलिअली थाहा छ, हामीलाई खेलकुदको बारेमा पनि सामान्य ज्ञान छ, हामीलाई मनोरन्जन र कलाको ज्ञान पनि धेरथोर छ, हामीलाई अंतराष्ट्रीय चासो पनि छ, हामीलाई राष्ट्रिय चिन्तन पनि छ । एक आम नेपालीमा जति ज्ञान र जानकारीको भण्डार हुन्छ त्यो एक आम जापानीमा हुँदैन (वा भए पनि देखाउँदैन) । उदाहरणको लागि यिनीहरू अङ्ग्रेजी सामान्य बुझ्छन बुझ्नलाई, दुई चार वाक्य जानेका पनि हुन्छन् तर हामी झैँ नजाने पनि अङ्ग्रेजी जानेको छु जस्तो ‘बाई द वे’ वाला हाऊभाऊ देखाउँदैनन । सायद ‘लिटल नलेज इज डेन्जरस्’ भन्ने यिनीहरूले राम्ररी बुझेका छन् । त्यसैले अलिअलि जानेकै कुरा पनि नजाने झैँ गरी सिक्न खोजे जस्तो गर्छन् । मलाई यिनीहरूको यही बानी मन पर्छ । यिनीहरू आफू निपूर्ण रहेको काम र कुरा मात्र मज्जाले प्रस्तुत गर्छन्, त्यो पनि बडो अनुशासनमा रही शालीनता पूर्वक । नजानेको कुरामा जान्ने हुँदैनन,बरु सिक्न खोज्छन । यिनीहरुमा ‘जानेको छु’ भन्ने दम्भ म अत्ति नै कम देख्छु । यो मेरो नितान्त व्यक्तिगत अनुभव हो । अरूको अनुभव मेरै जस्तो होला भनेर दाबी पनि गर्दिन । मैले यिनीहरुबाट सिकिरहेको भनेको शिष्टता र विनम्रता सहित आफ्नो खुबीको सम्मानजनक प्रस्तुति गर्ने तरिका हो ।”

मैले यति भनेर भ्याएपछि एकैछिन साथी मौन भयो । थाहा छैन उसले कसरी,कुन अर्थमा,के के सोंच्यो । अनि फ्याट्ट भनिहाल्यो, “त्यसो भए अब तँ नेपाल नफर्किने ?”

“लौ ! किन नफर्किने ? फर्किने नि ! म सधैको लागि बस्न मिल्ने भिसा पाएर जापान आएको होइन । केही आफ्ना व्यक्तिगत समस्याले केही समयको लागि श्रम गर्न आएको हुँ । एउटा स-सानो आर्थिक आधार बने पछि फर्किन्छु । मलाई देशमै केही गर्न मन छ”, मैले यस्तै जवाफ दिएँ ।

“जापानले धेरै नै मोहनी लाइसकेछ केटो तँलाई, छिट्टै फर्की”, उसको आग्रह !

“हा हा । जापानले मोहनी लगाको होइन ब्रो । ‘जापानको समृद्धि र संस्कार एकैसाथ कसरी मिल्न सकेको होला,कस्तो ‘ब्यालेन्स’ होला ? सरकार र कानुनको बाध्यात्मक पावन्दिले मात्र होला कि नागरिकको आफ्नो प्रयासले पनि होला ?’ भन्ने जस्ता कुराले खुल्दुल र प्रभावित पारेको हो । समृद्ध देश अरू पनि छन् । तर जापानको संस्कार र दैनिक व्यवहारको उनीहरूले पनि खुलेर प्रशंसा गर्छन् । केही त्यस्तो गुण त पक्कै छ जापानीहरुमा, जो यति सम्पन्न र समृद्ध देशका नागरिक भइकन पनि पटक्कै घमण्ड देखाउँदैनन । होला-उनीहरू आत्मा देखि नै अहङ्कारी पनि होलान् कोही कोही तर उनीहरूको अनुहारमा त्यो भाव देखिन्न । यसले गर्दा दैनिक व्यक्तिगत व्यवहार देखि सामाजिक,प्रशासनिक र कर्पोरेट व्यवहारहरुमा मानिसहरूलाई सहज महसुस हुँदो रैछ । आखिर मान्छे अनि मान्छेको व्यवहारले त हो समाजका हरेक राम्रा-नराम्रा कुराहरूको फर्स्योट गर्ने ! हैन र ?”

मैले यत्ति के भनेको थिएँ, साथी अलि चिढिएको स्वरमा बोल्यो, “अब फेरि सुरु भइस है !? तेरो लेक्चर सुरु भयो । तैँले यी यी कुरा त यहीँ पनि सिकेको थिइस होला नि ! ‘एक अर्कालाई आदर गर्नुपर्छ,विनम्र हुनुपर्छ’ भन्ने जान्न तँलाई जापान पुग्नुपर्ने थियो र ? अलि धेरै खोकेको पनि राम्रो हुन्न के ! सक्छस् भने यहीँ आएर सिका न सबलाई । तब मानूँला ।”

साथीको आक्रोशलाई शान्त पार्ने उपाय तत्क्षण नै मैले केही देखिन । आक्रोश जायज पनि थियो । यहाँ जे देखेर अनौठो लाग्छ,त्यो कुरा त्याहाँ हुँदा नजानेको पनि होइन । तर व्यवहारमा उतार्न न मैले सकिरहेक थिएँ,न मलाई थर्काउने साथीले ।

म बाध्य भएर बोलें ,“यार, तँलाई मेरा दुई चार कुरा सुन्दा त रिस उठिहाल्छ भने मैले को सँग निभाउने विनम्रता ? हेर् साथी, व्यवहार दोहोरो हुन्छ र त्यो दोहोरो व्यवहार यहाँ छ । तँ आफै भन त, ‘राम्रो सुने रिस उठ्ने’ तेरो र मेरो बानी बिचमा को सँग देखाउने सभ्य संस्कार ? माफ गरेस्, तँ र ममा यानेकि हामी अधिकांश नेपालीमा ‘अरूको राम्रो सुन्नै नसक्ने’ बानीले डेरा जमाएको छ । मैले जापानको राम्रो पक्षको बारेमा लेख्नु/बोल्नुलाई तैँले लेक्चर/भाषण छाँटेको भन्छस् । अनि तैँले नै फेरि मलाई चुनौती पनि दिन्छस्, ‘यहीँ आएर सिका’ भनेर ! तँ मेरो यति नजिकको साथी त मेरो कुरालाई अर्को अर्थले बुझ्छस् भने मैले कसरी पुरै समाजलाई सिकाउन सक्छु यार ? नारिसा भो । अबदेखि जापानको प्रशंसामा केही लेख्दिन ।”

मैले यति भनिसके पछि ऊ केही मत्थर भयो र बोल्यो, “हा हा ! बरु तँ पो रिसाइस् त जापानी लाहूरे ! मैले त तेरो टेस्ट लिएको के के सिकेछस् जापान बाट भनेर । तैँले धेरै सिक्न बाँकी रैछ केटा । अझै सिक् । अझै केही वर्ष त्यतै बस् । नेपाल चलेकै छ, चिन्ताले ज्यान नसुका ! पैसा कमा । पैसा भए पछि सबले तेरो कुरा पनि सुन्छन । अहिले सामाजिक सञ्जालमा लेखेर बालुवामा पानी नखना ! अँ सांच्ची तँ आफै काम गर्न गाको भन्छस् । यति धेरै लेख्छस् पनि ! कसरी फुर्सद पाउँछस् ? काम त गर्छस् नि ! कि लेखेरै तलब दिन्छ तेरो जापानले ?!”

साथीको कटाक्ष नराम्रो गरी बिझायो । मैले यो लेख आधाआधी रेलमा यात्रा गर्दैगर्दा मोबाइलबाट लेखेको हुँ । आफै अनुमान लगाउनुस,म कहाँ कहाँ र कस्तो कस्तो अवस्थामा समय चोरी चोरी लेख्छु होला ?!

साथीलाई हाँसी हाँसी जवाफ फर्काएँ, “कोठामा बसेर,लेखेर तलब पाउने भए त मजै हुन्थ्यो नि साथी । कामलाई सम्मान गर्ने देश हो । काम खोज्छन- ज्यानले पनि र साहूले पनि । काम नै गर्छु,शङ्का नगर् । तर लेख्न,पढ़नको लागि म समय मिलाउँछु । रेलमा यात्रा गर्दा पनि लेख्छु,कहीँ कार्यालयमा पालो कुर्दा पनि लेख्छु,अस्पतालमा पर्खिंदा पनि लेख्छु । त्यो मेरो व्यक्तिगत समस्या भयो । बरु मैले के लेख्छु र के सन्देश दिन खोज्छु भन्ने कुरामा तँ जत्तिको मान्छेको ध्यान पुग्नु पर्ने हो,यी मसिना कुरामा भन्दा त ! हैन र ?”

“हो हो ! ल तैंलेई जितिस् । प्रशंसा मात्रै धेरै गरिस् के जापानीजहरुको । उनीहरूको नराम्रो पक्ष पनि लेख् न । जापानीहरु कति छुचा हुन्छन् तँलाई थाहा नै होला ! त्यस बारेमा पनि लेख् ”।
साथी मेरा लेखहरुमा जापानको राम्रो सुन्ने र सिक्ने भन्दा पनि नराम्रो सुन्ने र ‘देखिस्’ भन्ने मनोविज्ञानमा बढ्ता बाँचेको रैछ भन्ने अनुभूति भयो । तैपनि मैले उसको जवाफ त दिनै पर्ने हुन्थ्यो ।

“सही भनिस् । जापानीहरु हामी भन्दा साह्रै छुचा हुन्छन् । किन हुन्छन्, थाहा छैन । कुनै रेस्टुरेन्टमा चार जना नेपाली बसे भने जति बिल उठ्छ,त्यसको आधा पनि उठ्दैन जापानीको । बिल पनि हामी नेपाली मध्ये त एक जना अघि सरेर सप्पैको तिर्छ,भलै अर्को साथी सँग बाहिर निस्केर ऋण मागोस् । जापानीहरु चाहिँ सबैले बराबर उठाएर तिर्छन । अझ यूरोपिएन र अमेरिकीहरु त आफूले खाएको मात्र तिर्छन । अब यो छुच्याईं हो कि व्यवहारिकता तँ आफै भन् । जापानीहरुले धेरै प्राकृतिक र युद्धका कष्ट बेहोरेर आजको दिन सम्म आएका हुन । यिनीहरू आवश्यकता र उत्पादन बिचको सम्बन्ध जान्दछन होला । जापानमा एउटा शब्द खुब प्रचलनमा पाइन्छ -‘मोत्ताईनाईं’ । यसको अर्थ हुन्छ ‘फजुल’ । यिनीहरूले समय नै पैसा हो भन्छन्-‘टाइम इज मनी’ । न यिनीहरूले समय फजुल गर्छन् न पैसा फजुल खर्च गर्छन् । अब यसलाई छुचोपन भन्ने कि व्यावहारिकता ?! सत्र वर्षको उमेरपछि बच्चा बाबुआमा बाट स्वतन्त्र हुन्छ । आफै कमाउन सुरु गर्छ । छुट्टै बस्छ । बाबुको सम्पत्ति लिंदैन । जीवनभर ‘गाम्बारीमास’ भन्दै मेहेनत गर्छ । गाडी,घर र आफ्ना आरामका सुविधा आफ्नै पौरखले जोड़छ । उसलाई थाहा हुन्छ,उसले त्यति सम्पत्ति कमाउन कति मेहेनत गर्‍यो जीवनमा । यी जापानीहरु रेल भेट्टाउन दौडिंदै गरेका,प्रविधि सहितको कृषिमा खटेर लागेका,रेस्टुरेन्ट र होटेलहरुमा साहू देखि सामान्य कामदार सम्मले पुरै इमानको साथ काम गरिरहेक़ा, एक रातमै रेलवेको ट्रयाक चेंज गर्न सक्ने सामर्थ्य र लगन भएका,सरकारी तथा निजी कार्यालयहरूमा ‘सूटेड बुटेड’ कर्मचारीहरुले बिना अहङ्कार र बिना ‘एटिच्युड’ काम गरिरहेका,सामान्य पोस्टम्यानले सम्म चल्ती अवस्थाको स्कूटर टक्क रोक्दै दौड़ी दौड़ी पोस्ट बक्समा चिट्ठी/पार्सल खसालिरहेको दृश्य देख्दा यिनीहरू काम प्रति कति लगनशील र इमान्दार हुन्छन् भन्ने प्रस्ट हुन्छ । यति गरेर कमाएका जापानीहरु आफ्नो मेहेनतको कमाइमा किन छुचा नहोऊन त नि ?! अवस्यक पर्ने कुरामा यिनीहरू छुचा छैनन् ।

छलछाम गरेर,साथीभाई आफन्त ठगेर,देश लुटेर कमाएर सन्तानको लागि थुपार्नु पर्ने छुच्याईं र लुच्याईं यिनीहरुमा छैन । न त बाबुआमा र पुर्खाको सम्पत्ति बेची उड़ाएर देखाइने तमाशा र खुवाइने पार्टीको उदारता नै यिनीहरुमा छ ! लुच्याईं र छुच्याईं पनि के लाई भन्ने हो र खै ? यिनीहरू सरकारलाई कर तिर्छन,कर्मचारीलाई समयमा चल्तीको तलब दिन्छन,नियम पालना गर्छन्,सरकारी सम्पत्तिमा क्षति पूर्याउँदैनन,आफ्नो आर्जनले सक्ने कुरामा सरकारको आस गर्दैनन,सार्वजनिक स्थानहरुमा फोहोर र हो-हल्ला गर्दैनन,कुकुरले सडकमा गरेको दिसा पिसाब पनि सफा गर्छन्,आफ्नो घरको बार्दली र बगैंचामा फलेका फलफुल पनि ‘हामीले त किनेर खान सक्छौँ,यी त चराचुरुङगीलाई हो’ भनेर खाँदैनन । के के कुरामा यिनीहरूलाई छुचो मान्नु पर्ने हो, म जान्दिन साथी । मलाई त यिनीहरू हामी भन्दा धेरै नै व्यवहारिक लाग्छन हेर् । मैले यिनीहरूको पूजा आरती गरेको होइन,यिनीहरुबाट सिक्न सकिने व्यावहारिकता,नैतिकता,विनम्रता,लगनशीलता र अनुशासनको कुरा मात्र लेखेको हुँ । म मेरो समाज पनि यी गुणहरू बाट प्रभावित भई प्रत्येक नेपाली नागरिक आफै बाट आफू बन्ने अभियान सुरु गरून भन्ने सदीक्षाले लेख्छु । प्यारो साथी, न मेरा लेखाईहरु मेरो समाज प्रतिका अपमानका लिपी हुन, न जापानी समाजप्रतिको आफ्नो आहूतिको प्रमाणपत्र !”

फोन कटिसकेको रैछ । म एक्लै बोलिरहेको रैछु । पछि महसुस भो, हामी नेपालीमा सुन्ने र सिक्ने गुणको विकास पहिला हुनु जरुरी रैछ । अरू विकास त्यसपछि हुन्छ ।
म थाकेको छैन, साथीलाई फेरि फोन गर्नेछु ।

हेमन्त गिरी, टोकियो

email: [email protected]