इन्टरनेटमा सित्तैमा फुटबल हेर्ने लोभले हुनसक्छ यस्तो दुर्घटना !सावधान - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

इन्टरनेटमा सित्तैमा फुटबल हेर्ने लोभले हुनसक्छ यस्तो दुर्घटना !सावधान



काठमाडौँ, विश्वकप फुटबलको धमाकेदार सुरुवात भइसकेको छ र सँगै सुरु भएको छ फुटबल फ्यानहरूको पागलपन । टेलिभिजनको पहुँचभन्दा टाढा कममा या यात्रामा रहेका फुटबलप्रेमीहरू सहज साधनको रूपमा खेलको अनलाइन स्ट्रीमिङ खोजिराखेका छन् र इन्तेर्नेत्मा थुप्रै त्यस्ता वेबसाइट उपलब्ध छन् जो गुगल सर्च इन्जिनको सहज पहुँचमा समेत रहेका छन्।

आज मात्रै उरुग्वे र इजिप्टबीचको खेल सुरु भइसकेको छ र यसपछि इरान विरुद्ध मोरक्को र स्पेन विरुद्ध पोर्चुगल पनि खेल्ने निर्धारित रहेको छ।

यस्तोमा कतिपय अवैध स्ट्रीमिङ साइटहरूले धमाधम लिंकहरु पोस्ट गरिराखेका छन् र फुटबल फ्यानहरू त्यता ओइरिरहेका छन् । कतिपय यस्ता च्यानलहरू ती देशहरूमा प्राप्त नभएको खण्डमा पाइरेसीको चर्चा समेत सुरु भएको छ।

यस्तोमा साइबर सुरक्षाविदहरूले चेतावनी दिएका छन् कि यस्ता वेबसाइटहरूमा फुटबल खेल लाइभ हेरेर आफूमाथि सुरक्षा चुनौती निम्त्याइरहेका छन्।

के हुन सक्छ?

साइबर सुरक्षा फर्म स्क्यालरका इन्टरनेट विशेषज्ञ क्रिस हड्सन भन्छन्, “इन्टरनेटमा खराब काम गर्नेहरूका लागि यो साह्रै आकर्षक समय हो। उनीहरूले अवैध वेबसाइटहरू होस्ट गरेर विश्वकपलाई अवसरको रूपमा प्रयोग गरेका छन् ।”

“फ्यानहरूले आफ्नो समर्थनको टोलीको खेल हेर्न मरिहत्ते गरिरहेको मौका छोपेर यस्ता खराब मान्छेहरूले विभिन्न जोखिमपूर्ण कोडहरू डाउनलोड गर्न लगाएर प्रयोगकर्ताका महत्वपूर्ण जानकारी फुत्काउन सक्छन् ।” हड्सन भन्छन्, “साइबर अपराधीहरूका लागि यो उर्वर अवसर हो ।”

हड्सन थप्छन्, “यस्ता खराब र हानीकारक कोडहरूले प्रयोगकर्ताका गोप्य सूचनाहरू जस्तै इमेल र बैंक अकाउन्ट सम्बन्धी जानकारी चोर्न सक्छन् ।”

यस्ता अवैधानिक ससाइटहरूको खतरा भनेको तिनीहरूले लुकाएर राख्ने गरेको ‘एड बटन’ हो । फिडिलिस साइबरसेक्युरिटीका वरिष्ठ इन्जिनियर केसिया होयत भन्छन्, “यस्ता साइटहरू वैध जस्तै देखिन्छन् र यिनीहरूले भिडियोलाई कमर्सियल एडले ढाकेका हुन्छन्। त्यस्ता एडहरू बन्द गर्ने भनेर नक्कली बटन राखिएको हुन्छ जसमा थिच्नासाथ हानिकारक सफ्टवेयरहरू कम्प्युटर या मोबाइलमा आफैं इन्स्टल हुन्छन् ।”

यसका अतिरिक्त यस्ता वेबसाइटहरूले ल्याउने अर्को जोखिम भनेको ‘क्रिप्टोमाइनिंग’ हो । यो भनेको प्रयोगकर्ताहरूको जानकारी बिना नै उनीहरूको कम्प्युटर प्रयोग गरेर ‘क्रिप्टोकरेन्सी’ चोरी गर्नु हो ।

इक्लेक्टिक-आइक्युका सीइओ जोएप गोमर्स भन्छन्, “यस्ता खतरनाक सफ्टवेयरहरूले हाम्रो जानकारीबिना नै हाम्रो कम्प्युटर प्रयोग गरेर चोरी जस्तो अपराध गर्न सक्छन् ।”

साइबर सुरक्षा एजेन्सी फोर्टिनेटका निर्देशक स्टिभ मुल्हार्न प्रयोगकर्ताले यस्ता साइटहरू खोल्दा केही सुरक्षा उपायहरू अपनाए जोखिम न्यूनीकरण गर्न सकिने बताउँछन् ।

उनी भन्छन् “अपडेट गरिएको अपरेटिंग सिस्टम, सुरक्षा सफ्टवेयर, एप्लिकेशन र ब्राउजरले यस्ता खराब मालवेयरबाट केही हदसम्म सुरक्षा प्रदान गर्न सक्छ।”

उनी थप्छन्, “साइबर हमलाकारीहरू आउटडेट भएका अपरेटिंग सिस्टम र ब्राउजरमा सजिलै आक्रमण गर्न सक्छन्।”

तर धेरै जसो विज्ञहरू भने यस्ता साइटहरू नखोल्नु नै जाति मान्दछन् । सेन्सरनेटका सुरक्षाविद रिचार्ड वाल्टर्स भन्छन्, “यस्ता साइटहरू खराब सफ्टवेयर र भाइरसका भण्डार नै हुन् । सबैभन्दा राम्रो उपाय त वैधानिक र प्रचलित वेबसाइटको प्रयोग गर्नु नै हो ।” एजेन्सीहरू