केनको कप्तानीमा इतिहास फर्कायो इंग्ल्याण्डले - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

केनको कप्तानीमा इतिहास फर्कायो इंग्ल्याण्डले



ह्यारी केनले इन्जुरी समयमा सुन्दर गोल गरे र टिमलाई महत्वपूर्ण तीन अंक दिलाए । विश्वकप फुटबल अन्तर्गत समूह जी मा रहेको इंग्ल्याण्डले पहिलो खेलमा जित दर्ता गर्‍यो । कप्तानको जिम्मेवारी सम्हालेको पहिलो प्रतियोगितामै केनले आफूलाई प्रमाणित गरे ।

ट्युनिसियालाई २–१ ले हराउने क्रममा दुवै गोल उनैले गरे । ११ औँ मिनेटमा गोल गरेर सुरुवाति अग्रता दिलाए, ३५ औँ मिनेटमा सासीले ट्युनिसियाका लागि बराबरी गोल फर्काए । केनले इन्जुरी समयको पहिलो मिनेटमा आवश्यक परेका बेला गोल गरे र जित दिलाए ।

यो जित पछिल्लो १२ वर्षमा कुनै पनि मुख्य प्रतिस्पर्धाको पहिलो खेलमा इंग्ल्याण्डको पहिलो जित हो । यसअघि उसले सन् २००६ को विश्वकपमा आफ्नो पहिलो खेलमा पाराग्वेलाई हराएको थियो ।

त्यसयता विश्वकप वा अरु कुनै पनि मुख्य प्रतिस्पर्धाको सुरुको खेलमा इंग्ल्याण्डले जित निकाल्न सकेको थिएन । ग्यारेथ साउथगेटको युवा खेलाडीले भरिएको टिमले ‘१२ वर्षमा खोला पनि फर्किन्छ’ भने जस्तै पहिलो जित फर्कायो ।

यो जितले अफ्रिकी देशसँग विश्वकपमा इंग्ल्याण्डको अपराजित यात्रालाई पनि कायमै राख्न सफल भयो । विश्वकपमा इंग्ल्याण्ड अहिलेसम्म कुनै पनि अफ्रिकी देशसँग पराजित भएको छ । यो अहिलेसम्म अफ्रिकी देशसँग भएका ७ खेलमा चारमा जित निकालेको इंग्ल्याण्डले तीन खेलमा बराबरी खेलेको छ ।

इंग्ल्याण्डले अहिलेसम्म विश्वकपमा आफ्नो समूह एकपटक मात्रै टप गरेको छ । उसले सन् २००६ को विश्वकपमा समूह टप गरेको थियो । इंग्ल्याण्डले अहिलेसम्म विश्वकपमा ११ खेलमा गोलरहित बराबरी गरेको छ र यो कीर्तिमान हो ।

विश्वकप छनौटको क्रममा तीन गोलमात्रै खाएको इंग्ल्याण्डले युरोपमा कम गोल खानेका स्पेनसँग संयुक्त कीर्तिमान बनाएको छ । इंग्ल्याण्डको टिममा रहेका सबै खेलाडी इंग्ल्याण्डकै लिगको क्लबबाट खेल्ने छन् ।

लगातार छैटौँ पटक विश्वकप खेलेको इंग्ल्याण्डको यो समग्रमा १५ औँ सहभागिता हो । सन् १९६६ को विश्वविजेता इंग्ल्याण्ड दुई पटक सेमिफाइनलसम्म पुगेको छ । उ सन् १९९० मा सेमिफाइनलमा पुगेको थियो । त्यसयता क्वाटरफाइनल पार गर्न सकेको छैन ।

इंग्ल्याण्डले विश्वकपमा पछिल्ला ९ खेलमा एक भन्दा धेरै गोल गर्न सकेको थिएन । तर विश्वकपको १० औँ खेलमा आएर उसले दुई गोल गर्‍यो । यसअघि सन् २००६ को विश्वपकमा स्वीडेनसँग २–२ को बराबरी खेल्दा उसले दुई गोल गरेको थियो ।

ट्युनिसिया
विश्वकपमा ट्युनिसियाको यो पाँचौँ सहभागिता हो । यसअघिका चार सहभागितामा उसले समूह चरण पार गर्न सकेको छैन । पछिल्लो पटक उसले सन् २००६ मा विश्वकप खेलेको थियो ।

योसहित विश्वकपमा खेलेका १३ मध्ये १२ खेलमा ट्युनिसियाले जित निकाल्न सकेको छैन । उसले जितेको भनेको सन् १९७८ मा मेक्सिको विरुद्ध हो । यो नै उसले अहिलेसम्म विश्वकपमा दर्ता गरेको जित हो ।

यो अफ्रिकी देशले विश्वकपमा निकालेको पहिलो जित पनि थियो ।

ट्युनिसियाले अहिलेसम्म खेलेका १३ खेलमा गोल नखाएको भनेको एउटा मात्रै खेल छ । उसले सन् १९७८ को विश्वकपमा पश्चिम जर्मनीसँग गोलरहित बराबरी खेलेको थियो ।