इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपाललाई पहिलो पदक, विमलाले जितिन् कास्य - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपाललाई पहिलो पदक, विमलाले जितिन् कास्य



दिल्ली । नयाँ दिल्लीमा जारी इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालले पहिलो पदक जितेको छ । प्रतियोगितामा नेपाललाई विमला श्रेष्ठले कास्य पदक दिलाएकी हुन् ।

दिल्लीस्थित त्यागराज स्पोर्ट्स कम्प्लेक्समा आइतबार राति वेन्टम ५४ केजीकी विमलाले क्वाटरफाइनलमा ताजिकिस्तानकी फार्डिया सामिएभालाई पराजित गर्दै कास्य पक्का गरेकी हुन् । त्रिभुवन आर्मी क्लबकी विमलाले ताजिकिस्तानकी फार्डियालाई आरएसिको आधारमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउदै कास्य पक्का गरेकी हुन् ।

विमलाको यो पहिलो अन्तराष्ट्रिय पदक समेत हो । विमलाले दोस्रो अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा नेपाललाई पदक दिलाएकी हुन् । नेपाललाई पहिलो पदक दिलाएपछि विमलाले स्वर्ण र रजत जित्ने लक्ष्य लिएको बताईन । विमलाले भनिन् , “खुशी छु, मैले पहिलो अन्तर्राष्ट्रिय पदक जितेको छु । अब अर्को चरणको खेलमा जित्ने लक्ष्यसहित रिङमा उत्रने छु ।”

अब विमलाले सेमिफाइनलमा मंगलबार भारतीय खेलाडी मनिषासँग खेल्ने छिन् । विमला नेपाल बक्सिङ संघले गत पुसमा भएको राखेप च्याम्पियनसिप अन्तर्गतको २७ औं पुरुष तथा आठौं महिला खुला बक्सिङ प्रतियोगितामा उत्कृष्ट फाइटर बनेकी थिइन् ।

नेपालले भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जितेपछि यो पहिलो अन्तर्रा्ष्ट्रिय पदक जितेको हो । नेपालले ठुला अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा धेरै पछि पदक जितेको समेत मुख्य प्रशिक्षक प्रकास थापा मगरले जानकारी दिए । प्रतियोगितामा नेपाल र आयोजक भारतसहित २३ राष्ट्रको सहभागिता रहेको छ । प्रशिक्षक मगरले भने, “बक्सिङको ठुला राष्ट्रहरु क्युवा, केन्या, उज्वेकिस्तान,काजकिस्तान, भारतजस्ता राष्ट्रले सहभागिता जनाएको प्रतियोगितामा विमलाले पदक जित्नु नेपालको लागि ऐतिहासिक हो । धेरै पछि नेपालले बक्सिङमा पदक जितेको छ ।”

प्रतियोगिता अन्तर्गत नै पुरुषतर्फ नेपालका पुरुषतर्फ विष्णु प्रसाद घलेले क्वाटरफाइनलमा स्थान बनाएका छन् । वेल्टर ६९ केजीका बिष्णुले अफगानिस्तानका वासुद्दीन घाव्सीलाई अंकको आधारमा पराजित गरे । आर्मी क्लबकै विष्णुले वासुद्दीन घाव्सीलाई ३ – २ ले हराए ।

प्रतियोगिता अन्तर्गत नै आइतबार राति भएको खेलमा अन्य नेपाली खेलाडीहरु भने पराजित भएका छन् । महिला लाइट फ्लाइवेट ४८ केजी तौलकी ललिता महर्जन केन्याकी एन्जिभा भेरोनिका नबिथेसँग र लाइटवेट ६० केजीकी संगीता सुनार थाइल्याण्डकी पिमविलाई लावोपिमसँग अंकको आधारमामा पराजित भईन ।

प्रतियोगिता अन्तर्गत सोमबार नेपालका ३ खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । सोमबार नेपालका तेज बहादुर देउवा (४९केजी) , प्रेम चौधरी (५२ केजी) र भुपेन्द्र थापा (६४ केजी) तौल समूहमा प्रतिस्पर्धा गर्दै छन् ।