भारतमा ‘मोदी केयर’ आगामी जुलाईबाट - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

भारतमा ‘मोदी केयर’ आगामी जुलाईबाट



एजेन्सी-

अमेरिकाको ‘ओबामा केयर’ को सिको गर्दै भारतमा ल्याइएको ‘मोदी केयर’ आगामी जुलाईबाट लागू हुने भएको छ । मोदी केयर अर्थात् महत्वाकांक्षी ‘भारत राष्ट्रिय स्वास्थ्य संरक्षण मिसन’ लाई बुधबारको केन्द्रीय मन्त्रिपरिषद्ले पारित गरेको हो । मोदी सरकारले २०१८ को केन्द्रीय बजेटमा उक्त कार्यक्रम घोषणा गरेको थियो ।

यस कार्यक्रमअनुसार प्रति परिवार ५ लाख रुपियाँको स्वास्थ्य बीमा गरिनेछ भने १० करोड  परिवार लाभान्वित हुनेछन् । अर्थमन्त्री अरुण जेटलीले यो योजनाअनुसार ५० करोड नागरिकको स्वास्थ्य बीमा गर्ने बताएका थिए ।

प्रति परिवार ५ लाख रुपियाँको बीमा गरिनेछ, जसअनुसार परिवारका सदस्य संख्या सीमित गरिएको छैन । बिमित परिवारले तोकिएको निजी अस्पतालमा उपचार सुविधा पाउँनेछन् । तर आयुष्मान भारत योजना ‘क्यासलेस’ हुनेछ । यो बीमा कभरका लागि उमेरको सीमा हुनेछैन ।

यसका अलावा अस्पतालमा भर्ना हुनु ३ दिन अघि र भर्ना भएको १५ दिनपछिसम्म बिरामीलाई यो स्कीमको दायरामा राखिनेछ ।

यसअनुसार हरेक वर्ष १२ अर्ब रुपियाँ खर्च हुने अनुमान गरिएको छ । तर बीमा प्रिमियम भुक्तानका बारेमा भने बहस अझै जारी छ । केन्द्रीय सरकारको अनुमानअनुसार प्रतिपरिवार प्रिमियम प्रतिवर्ष १ हजार देखि १ हजार २ सय हुन सक्छ, जो हालको राष्ट्रिय स्वास्थ्य बीमा योजनाभन्दा ५ सय रुपियाँ बढी हो । बीमा कम्पनीहरुले भने बढी प्रिमियम राख्नुपर्ने पक्षमा छन्, जसलाई सरकारले पहिल्यै भुक्तान गरोस् ।