हुन नसकेकी प्रेमिका-२(कथा)

November 27, 2017
2 Views

-सुमन सापकाेटा”याैटा अपवाद”

ऊ गई। मेरा आशाहरू गए। मेराेे एउटा जीवन गयाे। अझ भनाैँ जीवनकाे एउटा भाग सकियाे। भक्कानिएर रुन मन लाग्याे। तर त्याे सार्वजनिक ठाउँमा रुन पनि कसरी सक्थ्येँ र !फेरि एक पटक बालक हुन मन लाग्याे, जाे केही नपाएकाे निहुँमा जहाँ जसरी पनि रुन सक्छ। हात कपमा डुलिरहेकाे त्यति बेला मात्र थाहा पाएँ , जति बेला मेरा अाैलाहरू कफिमा चाेबिए तर पनि पाेलेन किनकि म मेरा सपनाकाे राफले जलिरहेकाे थिएँ।

“एक्स्क्यूज् मि सर, यु क्यान सिट् इन्साईट” वेटर बाेलिरहेकाे रहेछ। थाहा थिएन उ कति बेलाबाट बाेलिरहेकाे थियाे। झसङ्ग भए। म झस्किए उसकाे आवाजले।

“किन?” मेराे मुखबाट आवाज निस्कियाे ।
“पानी पर्न लागेकाे छ सर” उ बिस्तारै बाेल्याे।
“जलिरहेकाे मान्छेलाई त पानीकाे आवश्यकता हुन्छ, हाेईन र?” प्रश्न गरेँ उसैलाई।

उ अक्मकियाे।ट्वाँ पर्याे। एउटा जिज्ञासु दृष्टिले मलाई नियाल्याे। म आफैले बुझेकाे थिइन मेराे अवस्था, उ बिचरा के बुझ्न सक्थ्याे र?
“मेराे माेबाईल र वालेट लगेर राख्देउ, म आउँदै गर्छु” मैले निर्देशन दिएँ उसलाई।
“…तर सर कपडा..” उसले वाक्य निकाल्याे तर पूरा गरेन।
कपडा त किन्न मिल्छ, फेर्न मिल्छ तर याे मन।खै किन कसैले देख्दैन? मनमनै यस्ताे विचार अायाे तर उसलाई याे भनिरहनुकाे तात्पर्य देखिन र भनेँ

“आई विल टेक केयर् माई सेल्फ”
टेक केयर भन्नू त एउटा बहाना थियाे। म आफू आफैलाई रित्याउन चाहन्थे। यसरी रित्याउन चाहन्थे , जसरी त्यहाँ केही जात नरहाेस्।एउटा टुक्राे पनि नरहाेस् र नरहाेस् उसले देखाएका रङ्गिन सपना र उसका यादका अवशेष पनि।
केही समयकाे मेघ गर्जन पछि दरर्र पानी दन्कियाे। लाग्याे- याैटा आकाश रहेछ मलाई बुझ्ने, जाे मेरा आँसुलाई साथ दिन पानी बनेर झरिरहेकाे छ। म रूझेँ ।रूझेँ जस्तै भएँ। भित्रभित्र उसका यादका तरङ्गले जलाइरहेकाे थियाे। म राेएँ। चिच्याएर राेएँ। हात फिजाएर राेएँ। ज्यानलाई जमिन माथि राखेर राेएँ। जसलाई साथ दिईरहेकाे थियाे आकाशबाट दर्किरहेकाे पानीले।
साँझ पर्दै जाँदा , आकाश पनि उनी जस्तै धाेकेबाज निस्कियाे। छाेडिदियाे वर्षन र छाेडिदियाे मलाई दिएकाे त्याे साथ।
“सर रूममा जाउँ प्लिज, हजुर धेरै भिज्नु भएकाे छ” छाता बन्द गर्दै गरेकाे वेटर देखियाे त्यहाँ।
म फिस्स हाँसिदिएँ मात्र।
उ अन्याेलमा पर्याे।

“पानी छ नि बाथरूममा? ” उसकाे अन्याेलता चिर्दै म बाेलेँ।
“चिसाे ,ताताे दुवै छ सर” फर्मल उत्तर उसले दियाे।
…र आकाशसँग त्याे बिछाेड , धारा माथि थापिएर पूर्ति गर्दै थिएँ म।
* *
“सर फाेन” सूर्यको किरणसँगै वेटर छिर्यो !
अहो बिहान भैसकेछ ! मोबाइल हेरेँ १५ मिसकल्स् देखायो! केही चिनेका नम्बर, केही नचिनेका नम्बर पनि। ध्यान चिनेका नम्बरमा होइन नचिनेका नम्बरमा अडियो।कता कता मनमा आशाका किरण जागे। खै कता कता मनका कुनामा उसका यादका लहर बढे। अचानक फोन आयो। मन झस्कियो। हत्तपत्त मोबाइल हेरेँ-‘अन-नोन् नम्बर’। मन झन् तरंगित बन्यो। उठाएँ। आवाज अायाे-“अाेए मुला कता छस्?, फाेन उठाउन सक्दैनस्?” साथी आत्मीय भावले बाेलिरहेकाे थियाे । म खङ्रङ्ग भएँ। “म पछि कल गर्छु तँलाई” खासै बाेल्न मन लागेन फाेन राखिदिएँ।

मन त्यसै विचलित थियाे झन् विचलित बनिरह्याे। लेमन टि खाएँ। टाउकाे केही हलुका भएकाे अनुभव भयाे। पल्टिएँ बिस्तारामा। फेरि उसैका यादले टाउकाे गह्रुङ्गाे बन्याे। म बाँचेर पनि मरे जस्तै बनेकाे थिएँ र मरी मरी बाँचिरहेकाे थिएँ। टेबुल थर्कियाे। माेबाईल भाईब्रेसनमा रहेछ। फेरि अन्नाेन् कल्। साथी सम्झेर पनि रिस उठ्याे। काटिदिएँ। फेरि अायाे -काटिदिएँ। याे क्रम एक-दुई पटक अझै जारी रह्याे। अति भएपछि फाेन उठाउनुकाे विकल्प रहेन। “ह्या मुला म पछि कल गर्छु के” उसकाे आवाज नै नसुनि म बाेलिरहेँ। फाेन काट्नै लाग्दा मन झस्कियाे। हाेस् उठ्याे। फाेनमा उहीँ बाेलिरहेकि थिई-“सुनन”;:
म अवाक् बनेँ। के बाेलाैँ कसरी बाेलाैँ अक्क न वक्क बनेँ। साेचेँ- फाेन मै भक्कानिएर राेउँ। उसलाई थर्काउ। तर सकिन र भनेँ-“काे बाेल्नु भ’काे?”।

चिनेकाे जानेकाे अनि बुझेकाे मान्छेलाई नचिने जस्तै गरेर बाेल्दाकाे पीडा मैले अनुभव गरिरहेकाे थिएँ।
“भुलिसक्याै?” केही पिञ्चे स्वरमा उ बाेलिरहेकि थिई।
जसलाई नसम्झेकाे कुनै पल हुँदैन, उसैले भन्छे-‘भुलिसक्याै?’। एक पटक उन्मुक्त भएर हाँस्न मन लाग्याे तर मन राईरहेकाे बेला हाँस्न पनि त कहाँ सकिदाे रहेछ।

“काेसिस गरेकाे छु, तर असफल छु” जवाफ फर्काएँ।
“मैले काेसिस पनि गर्न सकिनँ, म झन् असफल छु” उसले शब्दरुपि बाण प्रहार गरी म झन् छिया छिया भएँ।
“तिमीले धाँधलि गर्याै, बिर्सन चुनौती दिएर झन् सम्झाई रह्याै” अचानक मुखबाट शब्द निस्किए ।
ऊ सुक्क सुँक्क गरिसकेकि थिई। साेचेँ ‘रुन मन त मलाई लागेकाे थियाे , उ किन राेईरहेकि छे?’
“म पनि रुन सक्छु?” मेराे पनि पिञ्चे स्वर निस्किएछ।

उ आवाज नै निकालेर राेई , मलाई असह्य भयाे। राेक्दा राेक्दै पनि मेरा आँसु राेकिएनन्। हामी बाेल्न फाेन गरेका थियाै तर राेईरह्याै। न उसले मलाई सम्झाई न मैले उसलाई सम्झाउन सकेँ। फाेन उसैले काटि। निभ्न लागेकाे मन फेरि जल्याे।
आँखा भले सानाे देखिन्छ तर यहाँ सिङ्गाे आकाश अडिएकाे हुँदाे रहेछ नत्र त सकिनुपर्ने थियाे , दिनदिनै बगाउदा यी आँखाका आँसुहरू पनि।

हरेक दिन जसाे फाेनमा बाेल्नु, रुनु अनि भुल्छु भन्दै फेरि सम्झनु मेरा दिनचर्या बन्न लागे। उसले हरेक जसाे घरपरिवारकाे कुरा गर्थी र गर्थी श्रीमान् ले गरेका अत्यचारहरू कालाे वर्णन पनि। मलाई झन् असह्य बनाईरहेकाे थियाे ।प्रत्येक दिन रित्तदै थिएँ।रित्तिने बहानामा झन् रित्तिरहेकाे थिएँ।साेच्थेँ एक दिन कसाे रित्तिन्न हाेला र। दिनहरू बितिरहेका थिए । दिनहरू सँगै म पनि बितिरहेकाे थिएँ। मेरा खुसीका दिनहरू बितिरहेका थिए।
एक दिन अचानक फेरि माेबाईल बज्याे। याे पटक म्यासेजकाे रहेछ। लेखेकि थिई-“क्यान उई मिट् अगेन?”
टाउकाे घुमायाे के लेखाैँ के लेखाैँ?
दिमागले भेट्दिन भनेर लेख्न लगाउछ अनि मन भेट्न कर गराउँछ।
द्वन्द्व चल्याे। हाबी मन भयाे। लेखिदिएँ-“जसका निम्ति मन जलिरहेकाे छ उसैलाई भेट्दिन भन्न कसरी सक्छु”
“कहाँ?” उसकाे रिप्लाई।
“तिमी जहाँ भन्छाै” मेराे उत्तर।
“रिभर साईड क्याफे” ठेगाना बताई अनि समय पनि दिउसाे १ बजे।
* * **
..एकदिनपछि आउने १ बजे कुर्न पनि वर्षाै बिताउन परेकाे जस्ताे लागिरहेकाे थियाे मलाई। कति बेला आउँछ।मनले सेकेन्ड सेकेन्ड गनिरहेकाे थियाे। साँझ पर्याे तर एक बजेकाे थिएन।
फाेन बज्याे-” डिस्टर्ब त गरिन नि?” उसले सुरुमै यस्ताे भनी।
“सधैँ यस्तै डिस्टर्ब प्रिय लाग्छ मलाई” कठाेर भएर बाेल्छु भन्दा भन्दै पनि आवाज कहाँबाट नम्र भईदिन्छ म आफैलाई थाहा थिएन।
“सधैँ डिस्टर्ब गर्छु भने भनेँ के स्विकार्न सक्छाै?” उ सिरियस भएर बाेलेकि थिई तर पनि मलाई मजाक गरेजस्तै लाग्याे।
भनेँ-“मजाक नगरन, कति मजाक बनाउछाै मलाई” म पनि चिढिएँ।
उसकाे माेबाईलमा बाबा भनेर उसकाे श्रीमानकाे फाेन अाएकाे सम्झिएँ। उसका फाेनका वार्तालाप सम्झिएँ र सम्झिएँ मलाई बिचैमा छाेडेर हिडेकाे त्याे अतीत।
फाेन काटिसकेकि थिई। खै मेराे उत्तरलाई उसले कसरी बुझि।
* * **
बिहान भयाे। निन्द्रा अाउनै मानेन आज। एउटा आशा जसले भगाईदिएकाे थियाे सारा भाेक प्यास अनि तिर्खालाई। दिमाग भन्छ- कतै मेराे उपस्थितिले उसकाे परिवारमा असर पारेकाे छैन। के म भेट्न जानू ठिक छ? दिमागका यी तमाम जिज्ञासालाई मनले क्षणभरमै नष्ट गरिदिन्थ्याे। मन भन्थ्याे -‘एक पटक अंगालिएर रुनका निम्ति भए पनि भेट्नु पर्छ तँले।
कयाै दिनकाे फुस्राे कपाल काेरेँ। फाेहाेर कपाडा फाली सफा लुगा लगाएँ। गन्हाएकाे शरीरमा प्रफिम्ले बास्नादार बनाए । लाग्थ्याे केही समयकाे लागि भए पनि जिन्दगी सुन्दर बनाउछु। १२ बजिसकेकाे थियाे। म बाईक स्टार्ट गरेँ र दाैडिएँ-रिभर साईड क्याफे तिर।
* *
नदी थियाे जसमाथि सानाे पुल। त्यसकाे ठिक १० मिनेट पर याैटा क्याफे थियाे जहाँ म जाँदै थिएँ। एकदम शान्त ठाउँ अनि फराकिलाे पनि। मान्छेहरुकाे भीड पुलतिर थियाे, मैले वास्ता नगरी बाईक कुदाएँ किनकि मलाई उसलाई भेट्न हतार थियाे।……सुनसान क्याफे झन् सुनसान थियाे। उसलाई फाेन लगाएँ सम्पर्क हुन सकेन भन्याे। धेरै प्रयास गरेँ सम्पर्क भएन। म अात्तिएँ। क्याफे म्यानेजर अायाे । सायद उसले मेराे अवस्था पहिल्यैबाट नियालिरहेकाे थियाे। साेध्याे-“यार् यु मिस्टर् अादित्य?”
“यस् आई एम्”
“हजुरलाई एउटा लेटर छ सर”
“कस्काे?” म अात्तिदै साेधेँ।
“खै एक जना लेडिज् हुनुन्थ्याे, हजुरकाे नाममा एउटा पत्र छाेड्नु भएकाे थियाे” पत्र मेराे हातमा थमाउदै उ यसाे भनिरहेकाे थियाे।
म पुरै आश्चर्यमा परेँ भेट्न आउने भनेकाे मान्छेले पत्रमात्रै किन छाेडी?
पत्र पल्टाएँ। म आकाशबाट पछारिएकाे एउटा निर्मम चेतनाविहिन प्राणि जस्तै बने। लेखिएकाे थियाे-
“प्रिय पराई मान्छे!

लाग्छ म तिमीलाई प्रिय !सम्बोधन गर्न सक्छु।हामी क्याफेमा भेट हुनेछौँ,कपी खाने छौँ।क्रमशः कफीका कप रित्तिने छन् -तिमीजस्तै मजस्तै गरेर।हामी खुसी खुसी हृदय हलुका बनाएर फेरि छुट्टिने छौँ अर्कोपटक भेट हुने बाचाका साथ !

तर …
तर अफसोच!
म एकदम अफसोचका साथ यो पत्र लेखिरहेकी छु।मैले माथि लेखेजस्तो हुनेछैन।तिमीभन्दा केही पहिले म क्याफेमा पुग्नेछु।यो पत्र कसैले -त्यो मान्छेलाई दिनु- भनेर छोड्नेछु।तिमी त्यहाँ पुग्नेछौ।तिम्रा अघि कफी भन्दा पहिले कसैले यो पत्र लिएर आउनेछ।तिमी पत्र समातेर पढ्ने छौ।क्रमशः भत्किनेछौ भत्किदै जानेछौ र अन्त्यमा पुरानो किल्लाजस्तो हुनेछौ।

अँ सुन ,
मैले रातभर के सोचेँ थाहा छैन ।ठिक सोचेँ या गलत सोचेँ त्यो पनि थाहा छैन।अब म कहाँ जानेछु त्यो पनि थाहा छैन,के गर्नेछु त्यो पनि थाहा छैन ।मात्र यत्ति थाहा छ कि मलाई अब कहिल्यै हाम्रो भेट हुनेछैन ,कहिल्यै मेरो आवाज सुन्ने छैनौ तिमी।खोजेर पनि केही भेट्टाउने छैनौ।

सरी !
यहीँसम्मलाई मात्रै रहेछ हाम्रो यात्रा !

उहीँ तिम्री-
हुन नसकेकि प्रेमिका!”

पत्र सकियाे । अनि सँगसँगै मेरा खुसीका अाशाहरु पनि। पानी बिनाकाे माछाे छट्पटाए जस्तै छट्पटाईरहेँ। साँच्चै म बाँचि बाँचि मरिरहेकाे थिएँ त्याे पल।
** *-
कहाँ गई? किन गई? के का लागि गई?
यस्ता बेचैनका प्रश्नहरूले मन अनि दिमागमा डेरा जमाईरहे।
किन आई?
किन चिने?
यदि मैले नचिनेकै भए ?
अनि किन अपनाउन सकिनँ?
यदि समाजमा विवाहित नारीले पनि प्रेम गर्ने अधिकार भईदिएकाे भए!
न पाउन सकेँ , न त भुल्न नै। केवल अनुत्तरित प्रश्नकाे उत्तरमै हराईरहेकाे थिएँ।
साेच्थेँ यी तमाम कुराहरू भुलिदिउँ। तर अपसाेच कयाैँ पटककाे प्रयासमा सफल बन्न सकिनँ। म मेरै साेचाईबाट टाढा भाग्न चाहन्थे ।
बिर्सन खोजेँ सकिन तर उसकाे कथा सकियाे।मेरो व्यथा सकिएन।

हो प्रेम त त्यसलाई गरेँ जसलाई बिर्सेर पनि सम्झिरहेँ!
भुल्न खाेजेका कयाैँ प्रश्नहरूकाे सम्झनाले कुनै निकास खाेजिरहेकाे थियाे तर मेरा ती निकासका बाटाहरू बन्द थिए। म प्रत्येक दिन निस्सासिदै थिएँ। अचानक एक दिन सिलिपिङ् ट्याब्लेटमा आँखा अडिए। जाे हरेक दिन मेराे साथ दिन खाेजिरहेकाे थियाे तर म बेवास्ता गरिरहेकाे थिएँ। लाग्याे यिनै ट्याब्लेट हुन् जाे मेरा साेचाईका सिमाना बन्द गरिदिन सक्छ र गरिदिन सक्छ ती तमाम यादहरूकाे अन्त्येष्टि । हाे, आज मेरा आँखा तिनै ट्याब्लेटमा अडिएका छन्।

Facebook Comments

You may be interested

प्रचण्डको प्रस्तावमा ओली प्रधानमन्त्रीको उम्मेदवार
पत्रपत्रिका
0 shares5 views
पत्रपत्रिका
0 shares5 views

प्रचण्डको प्रस्तावमा ओली प्रधानमन्त्रीको उम्मेदवार

himal post - २०७४, २९ मंसिर ०८:०२

वाम गठबन्धनका प्रमुख नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई नयाँ प्रधानमन्त्रीको उम्मेदवार प्रस्ताव गरेका छन्।…

नेपाली सेनाले पायो राष्ट्रसंघीय पदक
पत्रपत्रिका
0 shares5 views
पत्रपत्रिका
0 shares5 views

नेपाली सेनाले पायो राष्ट्रसंघीय पदक

himal post - २०७४, २९ मंसिर ०७:५९

राष्ट्रसंघले दक्षिणी सुडानमा कार्यरत नेपाली शान्ति सेनालाई राष्ट्रसंघीय पदक प्रदान गरेको छ । दक्षिणी सुडानको रोम्बेकमा खटिएको नेपालको शान्ति सेनालाई उत्कृष्ट…

राष्ट्रपति अलमलमा: कानुनविदबीच कुरा बाझियो
पत्रपत्रिका
0 shares3 views
पत्रपत्रिका
0 shares3 views

राष्ट्रपति अलमलमा: कानुनविदबीच कुरा बाझियो

himal post - २०७४, २९ मंसिर ०७:५७

राष्ट्रिय सभा अध्यादेश स्वीकृत गर्ने–नगर्ने विषयमा राष्ट्रपति विद्यादेवी भण्डारी अलमलमा परेकी छिन् । दलहरूबीच सहमति नभई सरकारले अध्यादेश ल्याएको भन्दै राष्ट्रपतिले…