होलीको दिन ओली कपिलवस्तु आउने - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

होलीको दिन ओली कपिलवस्तु आउने



हिमाल पोस्ट /कपिलवस्तु फागुन २८
नेकपा एमालेले सञ्चालन गरेको मेची–महाकाली राष्ट्रिय अभियानको अवसरमा होलीको दिन एमाले अध्यक्ष केपि ओली कपिलवस्तु आउनुहुने भएको छ । फागुन ३० गते मेची महाकाली अभियानको क्रममा कपिलवस्तुको दुई ठाउँमा कार्यक्रम गर्ने तयारी भएको नेकपा एमाले कपिलवस्तुले जानकारी दिएको छ । एमालेको मेची महाकाली अभियान कै क्रममा कपिलवस्तुको चन्द्रौटामा पदयात्रा र जितपुर चार नंम्बरमा जनसभा गर्ने कार्यक्रम तय गरिएको छ । ओली आउने दिन होली पनि परेकोले सबैलाई अभियानमा सहयोग गरीदीन एमालेले अनुरोध गरेको छ ।

चन्द्रौटाको वडा प्रहरी कार्यलय चोक देखी सशस्त्र प्रहरी बल विन्ध्यवासिनी गणको चेक पोइन्ट सम्म नेताहरूले पद यात्रा गर्ने कार्यक्रम तय गरिएको छ । संविधान कार्यन्वयन, निर्वाचन, समृद्धी र स्वाभिमान राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि मेची महाकाली अभियान भन्ने नाराका साथ सञ्चालन गरिरहेको छ ।

संविधानले अधिकार दिएन भनेर संविधान निर्माणदेखि नै आन्दोलन भइरहेको तराई–मधेस क्षेत्रका जनतालाई संविधानले दिएको अधिकार प्रस्टसँग बुझाउन र राष्ट्रिय एकता कायम गर्न भन्दै नेकपा एमालेले ‘मेची–महाकाली राष्ट्रिय अभियान गरी रहेको नेकपा एमाले सचिवालय सदस्य नेत्रराज अधिकारीले बताउनु भयो ।

मधेसका केही नेताले संविधानले अधिकार दिएन भनेर संविधान नै नपढेका जनतामा भ्रम फैलाएको भन्दै एमालेले फागुन २१ गतेदेखि मधेसीका अधिकार मधेसमै गएर बुझाउको लागि चन्द्रौटामा पद यात्रा गर्न लगिएको एमाले नेता लंका हमालले बताउनु भयो । एमालेले यो अभियानलाई चुनावी सभाका रूपमा भन्दा पनि मधेसमा संविधानप्रति रहेको भ्रम चिरेर अन्धकार फैलाउनेहरूका विरुद्धमा सचेतना फैलाउने, एमाले तराईविरोधी नभएको देखाउने, संविधानले कसैलाई पनि विभेद नगरेको बुझाउने राष्ट्रिय अभियानका रूपमा लिएको नेकपा एमाले कपिलवस्तु क्षेत्र ५ का अध्यक्ष ओम प्रकाश कुमीले बताउनु भयो ।

राष्ट्रिय एकता कायम गर्दै संविधान कार्यान्वयन र निर्वाचनका लागि यो अभियान सार्थक हुने एमाले कपिलवस्तुले दाबी गरेको छ । तराईमा चलाउने मेची–महाकाली अभियान कसैको विरुद्ध नभएको, कसैको सभा सम्मेलन बिथोल्ने काम नगर्ने र सबैसँग मित्रवत् व्यवहार गरिने भएकाले अरूबाट पनि त्यस्तै अपेक्षा गरेको एमालेको भनाइ छ । कार्यक्रमको तयारीको लागि विभिन्न उपसमिति बनाई परिचालन गरिएको महिला नेतृ निशा विश्वकर्माले जानकारी दिनु भयो ।