हो ! मेरी स्वास्नी पाँखे नै हो । - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

हो ! मेरी स्वास्नी पाँखे नै हो ।



-दिपक घिमिरे

गाउँ घरमा प्रचलित यो पाँखे शब्दको अर्थ के ? पाखा पहरामा बस्नेलाई पाँखे भन्ने या अनपढ , गवाँरलाई पाँखे भन्ने ?

मुलत:नेपाली शब्दकोषलाई नियाल्ने हो भने पाँखे शब्दले पाखा पखेरा अनि पहाडमा बस्नेहरुलाई जनाउछ तर नेपाली समाजमा पाँखे भन्नाले अनपढ , गवाँर भन्ने बुझाउछ । अर्थ जे सुकै भएपनी नेपाली जनमानसमा तल्लो स्तरको दर्जा दिदै हेपेर बोलिने शब्द हो पाँखे शब्द ।

पाँखे शब्दको मैले व्याख्या गरेर समय खेर फाल्न चाहेन । किनभने पाँखे शब्दको अर्थ पढने सबैलाई थाहा छ । यहाँ पाँखेको उपमा भिराईएकी आईमाईको बयान गरेर एउटा कथा तयार पार्दैछु ।

फाटेको पाईन्ट अनि नाईटो देखिने भेष्टमा सजियर क्लबमा बजेको बुझ्नै नसकिने अंग्रेजी गितमा नाच्ने आधुनिक युबतिको नजरमा मेरी स्वास्नी साच्चिकै पाँखे हो । किनभने उसलाई क्लब भनेकै थाहा छैन अनि फेसनको नाममा बिकृती त झन मनै पराउदैने ।

जमाना अनुसार नेपालीले एउटै बर्षमा दुई पटक नयाँ साल मनाउन थाले । एउटा आफ्नै नयाँ साल अनि अर्को अंग्रेजी नयाँ साल । अस्ति गएको अंग्रेजी नयाँ सालमा रमाउने नेपाली युवतीले एउटी गाउँले युवती जो आफ्नै बैषाख एक गतेलाई मात्र नयाँ सालको रुपमा मनाउदै आएकी छे ! उसलाई पाँखे भनेको मैले सुने ।

ती आधुनिक युवतीले अर्कि परम्परागत पहिरनकी युवतीलाई पाँखे भनेपछी मैले आफ्नै श्रीमतीलाई झ्याप्प सम्झिए । अनि सोचे “ आधुनिक युवतीको नजरमा मेरी श्रीमती पनि पाँखे नै रैछ ।”

मेरी श्रीमती आधुनिक बन्न नजान्नु मेरा लागी सौभाग्य हो या दुर्भाग्य त्यो म आफै बुझ्दछु । टिठ र दया त ती पुरुषहरु प्रती जाग्यो जस्ले त्यस्ता आधुनिक श्रीमतीहरुलाई सामना गरेका छन ।

फेसनमा रुचि राख्नु या चाडपर्वमा रमाउनु आफ्नै मौलिक अधिकार भित्रका कुरा हुन । मैले कसैको पहिरन या उसको रहन-सहन लाई लिएर टीका-टिप्पणी या गलत अपब्याख्या गर्न पाउदिन तर पहिरन र रहन-सहनकै आधारमा कसैले कसैलाई पाँखे भन्छ भने त्यसको बिरोध गर्न पाउनु मेरो पनि नैसर्गिक अधिकार हो ।

बिदेशी गितमा नाच्न नजान्ने या रुचि नराख्ने , आफ्नै पहिरनमा सजिन खोज्ने र चाडपर्वको नाममा दारुपानी खिचेर कम्मर मर्काउन नजान्ने भएकै कारण पाँखे भनेर हेप्न पाईन्छ ? त्यो पनि एउटा महिलाले अर्कि महिलालाई ?

आधुनिकताको नाममा परम्परा भुल्नु हुदैन भनेर घरबाटै सिकाईन्छ नेपाली समाजमा । बाले छोरालाई अनि आमाले छोरीलाई आफ्नो कर्तब्य र रहन-सहनका तौर तरिका सिकाउदै आएका हुन्छन । तर समय सँगै युवा पिढी लाई यसरी बदल्दै छ कि जमाना अनुसारको चल्न नजान्ने हरेक युवा युवती पाँखे बनेर हेपिन्छन यसैगरी ।

ती आधुनिक आईमाईको त्यो वाक्य अझै पनि कानमै गुन्जिन्छ “ कस्तो पाँखे आईमाई यार ! “

सोध्न मन थियो , कुन आधारमा पाँखे छिन ती आईमाई भनेर ! तर न पाँखे भनीमाग्ने मेरा आफन्त थिए न त भन्ने वाली । आधुनिक समाजलाई आफ्नै गतिमा चल्न दिएर आफ्नै मौलिकतामा रमाउने एउटी थिइन भने अर्कि चै आधुनिक समाज सँगै दौडीरहेकि आधुनिक युवती । कुन सही र कुन गलत भन्ने सजिलै छुट्याउन सकिन्थ्यो , त्यतिबेला वाद-बिवाद गर्नुको अर्थ थिएन ।

चर्को साउण्ड सिस्टममा उत्ताउलो फेसनमा सजियर दारुको नसामा कम्मर हल्लाउन नजान्नेहरुलाई शहरिया आधुनिक युवतीहरुले पाँखेको उपमा भिराईदिन थालेपछी म मेरी श्रीमतीलाई कुन रुपमा हेरु ? आधुनिकताको नाममा छाडा बन्ने ती सभ्य आईमाई भन्दा म मेरी श्रीमतीलाई पाँखे नै भन्न रुचाउने छु ।

पाँखेको शाब्दिक अर्थ लगाउने हो भने पनि ठिकै हो किनकी हामी पाखा पखेरामा हुर्के बढेका मान्छे हौ । अनि समय अनुसार चल्न नजानेर पाएको उपाधी हो भनेपनी ठिकै छ किनकी हामी जमाना फेरियो भन्दै क्लब या बार अनि भट्टिमा गएर श्रीमतीले टकिला प्याग मारेको हेर्न सक्दैनौ ।

आधुनिक शहरका ती आधुनिक आईमाईको नजरमा गाउँघरमा बस्ने आईमाई पाँखे लाग्न सक्छन । गाउँघरमै बसेरपनी आधुनिक देखिन रुचाउनेहरुका लागि परम्परागत पहिरनका आईमाई पाँखे लाग्न सक्छन । तर म मेरी श्रीमती पाँखेनै भएपनी स्विकार्छु तर आधुनिकताको नाममा बिकृती अंगाल्नेलाई स्विकार्न सक्दिन । शरीर सुहाउदो र रहरले मागेको पहिरन जस्लेपनी गर्न पायो , त्यो मैले बिरोध गर्दैन । तर आफू सभ्य देखिनका लागि अरुलाई होच्याउन पनि पाईदैन जस्तो लाग्दछ ।

आफ्नै संस्कारमा रमाउन खोज्ने , आफ्नै परिवारमा हास्न खोज्ने अनि आफ्नै मौलिक परम्परालाई रोजेर जिउन सिक्ने आईमाईलाई पाँखे देख्ने ती आधुनिक आईमाई भन्दा ती पाँखे आईमाई नै महान हुन जस्लाई आफ्नै मौलिकतामा गर्व छ ।

मनमा यस्तै यस्तै कुरा खेलीरहदा मलाई पनि त्यो दिनको नयाँ बर्षको सांगितिक कार्यक्रमको स्टेजमा उक्लिन मन थियो अनि माईक्रोफोन हातमा लिएर चिच्याउदै भन्न मन थियो “ तिमी जस्ता कु-संस्कारी आईमाई हुनु भन्दा मलाई मेरी श्रीमती पाँखे भएकै मज्जा लागेको छ ।”

अनि मेरो मनलाई शान्त पार्न मन थियो र गाउँले आईमाईलाई पाँखे देख्ने ती आधुनिक आईमाईको नजर झुकाउन मन थियो । तर सक्दिन थे , किनकी मलाई मेरै हैसियतमा गर्व छ , गुलाई चलायर गन्धकी फैलाउन मन थिएन ।