हराएका नेता गाउँ गाउँमा भेटिए ! - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

हराएका नेता गाउँ गाउँमा भेटिए !



राजु भट्टराई 

गत एक दशक अगाडीको चुनावमा आउँदा गाउँमा मोटर ल्याउछु, बिजुली ल्याउछु, गरिबी हटाउछु, बेरोजगार हटाउछु, भोट हामीलाई भन्दै नारा लगाऊँदै चर्को भाषण गर्दै गाऊँगाऊँ आएका नेताहरू विगत केही वर्ष देखि हराइरहेका थिए तर हिजो आज फेरी चोक चोकमा गल्लि गल्लिमा भट्टी भट्टीमा नेता भेटिएको चर्चा छ।

कसैले भनेको थियो संसार गोलो छ रे, मान्छे घुम्दै फिर्दै रुम्झाटार भने जस्तै उही ठाउँमा आइपुग्छ रे, साँच्चै त्यही भएर होला आज भोलि गाउँभरि चिहोचर्चो बढेको छ फलानो नेता भेटियो रे, फलानो नेता आएको छ रे, आउँदै छ रे, आइसक्यो रे अहो! हाम्रो गाउँमा कति नेता जन्मेका रहेछन् आजभोलि आभास हुँदैछ, साँच्चै हाम्रो गाउँ त नेतैनेता को गाउँ पो रेहछ।

गाउँमा ठुलै परिवर्तन आयो, भूकम्पले सुतेका घर अझै निन्द्रा मै छन्, युवाहरू विदेश पलायन गाउँमा मरेको लास उठाउने जवान भेटीदैन, पधेंरामा मूल सुकेर हाहाकार मच्चियो, महंगीले गरिबको ढाड सेक्यो, गाउँमा खेतबारी बाझै रहे, समाजमा बलात्कार र असुरक्षा तेस्तै छ, कठै मेरो गाउँ, गाउँ रहेन यसपाला| त्यही गाउँलाई तिनै गाउँलेलाई बिर्सिएर फेरी तिनै हराएका नेता गाऊँगाऊँमा लाजै नमानी डुल्दै छन् रे, एक झुण्ड लिएर जिन्दाबादको नारा सँगै।

चुनावलाई मात्रै आफ्नो थलो बनाउने प्रिय नेतालाई धेरै के भन्नु र खोइ तिमीलाई भोट हालेर जिताउने युवाहरूलाई सर्टिफिकेट परराष्ट्रलाई बुझाउन लगाएर विदेशमा रोजगार दिलायौ, मोटर बिजुली र पानीको सपना देखाएर तिमीलाई ठाउँमा पुर्याएका हाम्रा गाऊँलेलाइ खै के दियौ? गाउँ विकास गर्छु भनेर तिमीलाई जिताएका गाउँलेलाई कस्तो विकास दियौ? उही गरिबी ,उही भोकमरी, उही असुरक्षा गाउँमा बिध्यमान छ । फेरी उही नारा लिएर तिमीलाई त्यही गाउँमा आज फर्किन लाज लागेन, के सोचेर गाउँ मा फर्किएको? फेरी तिनै जनतालाई उल्लु बनाउछु र भोट माग्छु भन्ने सोचेर फर्किएका हौ? हैन भने तिम्रो मुख नदेख्दै रमाउने हाम्रा गाउँलेलाई फेरी मुख देखाउनु कुनै औचित्य छैन| के आधारमा भोट माग्छौ अब कुन युवा लाई रोगजार दिन्छौ, कुन बाटोमा मोटर ल्याउछौ? अब जनता चेतनशिल भएका छन्, तिम्रो झुटो सपनामा रमाउने जनता रहेनन् नेता ज्यू? धिक्कार छ भनौ या बाध्यता भनौ या विडम्बना भनौ, एक किलो मासु र एक बोत्तल रक्सी सँग भोट साट्ने गाउँले रहेनन् अब, पैसा को बिटो सँग सोझा गाउँलेको सपना नसाट, तिमीलाई कुनै अधिकार छैन हाम्रो सपना सँग खेल्ने

महोदय,

गाउँ धेरै परिवर्तन भइसक्यो, गाउँले परिवर्तन चाहान्छन, बोल्ने हैन कामगर्ने, गाउँलाई आफ्नो ठान्ने नेता चाहान्छन, विदेश पलायन भएका युवाहरू आफ्नै खेतबारीमा नंग्रा खियाउन चाहन्छन तर तपाईँ फेरी उही नारा लगाऊँदै गाउँलेलाई मूर्ख बनाउने दुस्साहस नगरौ होला। समय परिबर्तनशिल छ, गाउँ परिवर्तन हुन चाहन्छ गाउँले को सोच परिवर्तन भइसक्यो, अनि अब तपाईँ को नि ?