मानिसमा देखियो नयाँ रोग, एच ७ एन ४ फ्लु - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

मानिसमा देखियो नयाँ रोग, एच ७ एन ४ फ्लु



एजेन्सी– हालसम्म पंक्षीमा मात्र लाग्ने गरेको एच-सेभेन-एन-फोर भाइरस बर्ड फ्लु मानिसमा पनि देखिएको छ । विश्वमै पहिलोपटक चीनमा मानिसमा बर्ड फ्लु देखिएको हाे । याे एचसेभेनएनफोर इन्फ्लुयन्जा ए भाइरसको उपप्रकार मानिन्छ । यस्तो भाइरस अधिकांश पानीमा पाइने चरामा देखिन्छ।

हङकङस्थित सेन्टर फर हेल्थ प्रोटेक्सनले मानिसमा पनि बर्डफ्लु देखिएको घोषणा गत बुधबार गरेको हो । पूर्वी चीनको जियाङसु प्रान्तकी ६८ वर्षीया महिलामा बर्डफ्लु देखिएको हो । कुखुुरासंग सम्पर्कमा रहेकी ती महिलालाई गत डिसेम्बरमा सुरुमा निमोनियाजस्तै लक्षण देखिएको थियो । उनलाई जनवरी १ मा अस्पताल भर्ना गरिएको थियो भने उनको सफल उपचारपछि जनवरी २२ मा डिस्चार्ज गरिएको थियो।

परीक्षणपछि गत फेब्रअरीमा उनलाई एभियन भाइरस लागेको पहिचान भएको चिनिया रोग नियन्त्रण केन्द्रका विज्ञहरुले जनाएका छन् । ती बिरामीको सम्पर्कमा आएका अन्य मानिसमा बिरामीका लक्षण नदेखिएपनि स्वस्थ वातावरणमा बस्न स्वास्थ्य अधिकारीले आग्रह गरेका छन् । यो भाइरस खासगरी चिसोका बेला बढी सक्रिय रहन्छ । चिकित्सकहरुले जिउँदो तथा भर्खर काटिएको कुखुरासंग टाढै रहन र कुखुरा तथा चराका दिसालगायतका अन्य चिज नछुन सल्लाह दिएका छन्।

एचसेभेनएनफोर एभियन फ्लु पहिलोपटक सन् १९९७ मा अष्ट्रेलियाका कुखुरामा देखिएको थियो । यो अधिकांश मानिसमा सर्दैन । तर विश्व स्वास्थ्य संगठनका अनुसार मानिसमा सरेको चाहि यो पहिलो घटना हो।

अमेरिकाको सेन्टरफर डिजिज कन्ट्रोलका अनुसार ए, बी, सी र डी गरी चार प्रकारका इन्फ्लुयन्जा भाइरस हुन्छन् । ए खालको भाइरस पानीमा बस्ने चरामा पाइन्छ । अन्य दुई प्रकारको एचवानएनवान र एचथ्रीएनटु खालको भाइरस मानिसमा पनि सर्न सक्छ भने बी प्रकारको भाइरस भने मानिसमा मात्र पाइन्छ।