लोकप्रिय गायक बद्री पंगेनी प्रतिष्ठानको अध्यक्ष भएकै अवस्थामा पार्टीको गीत गाउनु उचित की अनुचित ? - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

लोकप्रिय गायक बद्री पंगेनी प्रतिष्ठानको अध्यक्ष भएकै अवस्थामा पार्टीको गीत गाउनु उचित की अनुचित ?



हिमाल पोस्टले पाठकको अभिरुचि अनुसार मनोरञ्जनको लागि नयाँ स्तम्भ तयार गरेको यहाँहरुलाई अवगत नै छ । कलाकारीता क्षेत्रमा निरन्तर लागी परेका १०जना कालाकारहरुलाई एउटै प्रश्न सोधिने यो स्तम्भको नाम “१०कलाकार १प्रश्न” हो।

तर हामीले यो स्तम्भ अलिक फरक बनाउने कोसिस गरेका छौ लोक कलाकारीतामा विशीष्ठ स्थान बनाउनु भएका केही कलाकारहरू अनि केही दर्शक श्रोता र सङ्गीतमा सरोकार राख्ने शुभचिन्तकहरू सँग एउटा साझा सरोकारको प्रश्न सोधीएको छ र साथमा केही फेसबुक स्टाटस पनि साभार गरेका छौ ।

साङ्गीतिक जगतमा यस्ता विवादहरू आईरहन्छन । कहिले अङ्ग प्रदर्शनलाई लिएर कहिले म्युजिक भिडियोका दृश्यहरुलाई लिएर त कहिले अन्य वाद विवादहरू भईरहन्छन । अहिलेको विवाद अलि फरक किसिमको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष वद्री पंगेनीले एमालेको र केन्द्रीय महिला सचिव राधीका हमालले काँग्रेस पार्टीको चुनावी गीत गाउनुभएको छ । अन्य केन्द्रीय सदस्यहरू चोलेन्द्र पौडेल,वैकुण्ठ महत लगायत कलाकारहरुले पनि चुनावी गीत गाउने र तीव्र रूपमा पार्टीको चुनाव प्रचार प्रसार गरेको पाइयो । प्रतिष्ठान जस्तो देशै भरीका लोक कलाकर्मी हरुको छाता सङ्गठन भनिएको संस्थाका वर्तमान अध्यक्ष र पदाधिकारीहरुले  यसरी पार्टीको गीत गाउदा संस्थाको कुनै नियम,आचार संहीता या विधानको कुनै धाराले रोक्दैन ?

प्रस्तुति: – समीर प्रकाश पाण्डे

रमेश विजी  (सर्जक एवं वरिष्ठ उपाधक्ष, लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल) :-नेपालमा राजनीतिले कुनै क्षेत्र छोडेको छैन ! के मन्दिर के विद्यालय के हस्पिटल जताततै राजनीतिले आफ्नो पकड जमाएकै छ । तसर्थ कलाकारहरूले पनि राजनीतिमै आफ्नो भविष्यको सुनिष्चिता देखेर होला दल हरुको समर्थनमा खुलेरै गीत गाउनु भएको छ । दल प्रतिको आस्था सबैमा छ । कोही खुल्छन कोही खुल्दैनन् । यसको मतलब कलाकारले राजनीति गर्नै हुँदैन भन्ने हैन । यो व्यैयक्तिक स्वतन्त्रताको सदुपयोग पनि हो ।प्रश्न प्रतिष्ठानको अध्यक्ष या अरू केन्द्रीय पदाधिकारी को पदमा वहाल रहेकै अवस्थामा दलको गीत गाउन उचित की अनुचित भन्ने हो भने-मन्दिरको पुजारीले भैसीको म:म खानै नहुने त हैन !कुरो यत्ति हो की मन्दिर भित्रै लगेर खायो भने अशोभनिय लाग्छ र अन्य श्रद्दालु हरुको मन्दिर प्रतिको आस्था माथि चोट पर्न सक्छ । तसर्थ वैयक्तिक स्वतन्त्रतामा मेरो कुनै भनाई छैन । प्रतिष्ठान हाम्रो मन्दिर हो । मन्दिरमा के गर्न हुन्छ हुँदैन विवेकशिल साथीहरूले बुझ्नु भाकै होला ।

पशुपति शर्मा-(वर्तमान प्रथम उपाध्यक्ष,लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल) : व्यावसायिक कलाकारले गीत गाउनुलाई गलत हो भनेर परिभाषित गर्न नसकीएला तर संस्थाका वहाल वाला पदाधिकारीको हैसियतले गर्न हुने र नहुने कुराहरू कलाकार स्वयम् बुझ्नु पर्ने कुरा हो । कलाकारहरुले आफैले आफ्नो मूल्याङ्कन गर्नुपर्ने कुरा हो ।पदाधिकारीको रूपमा वहाल रहेको अवस्थामा मैले के गर्न हुन्छ के गर्न हुँदैन भनेर कलाकारहरू आफै सजग र अनुसासन प्रति प्रतिबद्ध हुनुपर्ने हो ।आफू पनि पदाधिकारी भएको नाताले म त सबै कलाकार राजनैतिक पार्टी भन्दा माथि उठेर सबैको साझा कलाकार बन्दिए हुन्थ्यो जस्तो लाग्छ ! अैलेको स्थिति हेर्दा कसैले कसैलाई टेर्ने या कोही अनुशासनमा बस्नुपर्ने स्थिति रहेन ! भोलि आँउने नयाँ पुस्तालाई यसो गर है भाईबहिनीहो भनेर भन्ने ठाँउ अग्रजहरुले राखिएन की जस्तो लाग्न थालीसकेको छ । एक पटक बनेको ट्रेण्ड या बसेको चलन भत्काउन गाह्रो हुन्छ । राम्रो-नराम्रो या हुने नहुने कुरा सोचेरै गर्नुभएको होला । केही स्वार्थ हरू निहित होलान् र गाउनुभएको होला । हुने थियो या थिएन भनेर दर्शक श्रोता ले भविष्यमा निर्क्योल गर्नेछन ।

भगवान् भण्डारीसर्जक एवं लोक दोहोरी गायक ( हाल अमेरिका):जब प्रतिष्ठानको काम कार्बाहीहरु या प्रतिष्ठान सँग सम्बन्धित क्रियाकलापहरू हुन्छ त्यो बेला संस्थाका पदाधिकारीहरूले आचार सँहिता पालना गर्नै पर्छ र कुनै किसिमको राजनीति गर्नु आचार सँहिता विपरीत हुन्छ। तर प्रतिष्ठानको घेरा भन्दा बाहिर रहेको अवस्थामा यदि प्रतिष्ठानको विधानले रोकेको छैन भने उसले सामाजिक सद्भाव र संस्कृति नबिग्रने गरी कुनै पनि प्रकारको गीत गाउन सक्छ।कुनै पनि कलाकारको कुनै पार्टीमा आस्था हुनु स्वभाविक कुरा हो र आफूले आस्था राखेको पार्टीलाई सबैले माया गरौँ भनेर गीतबाट आह्वान गर्दा त्यसलाई ठुलै मुद्दा बनाईरहनु पर्ने लाग्दैन।

बिमल डागी -सर्जक एवं चर्चित लोक दोहोरी गायक (हाल अमेरिका): स्वतन्त्र ढङ्गबाट हेर्ने हो भने सबैको आ-आफ्नै राजनैतिक बिचारधारा हुन्छ र सोहीअनुसार क्रियाकलाप गर्न पनि पाइन्छ । आम जनमानसमा विशिष्ट पहिचान बनाईसकेका कलाकारहरू राजनीतिमा आउनु राम्रो पनि हो । कलाकारीता गरेर आर्जित लोकप्रियता र ज्ञान लाई देश विकाशमा लगाउन खोज्नु गलत हो नभनौं तर सम्पूर्ण लोक कलाकारको छाता संस्था को अध्यक् को हैसियतमा रहेको अवस्थामा कुनै पार्टी विशेषको झोला बोकेको देखीनु आफैमा दुर्भाग्य त हो नै त्यसमाथि सङ्घ-संस्थामा आबद्ध व्यक्तिले त्यसरी खुल्लमखुल्ला कुनै पार्टीको पक्षमा वकालत गर्नु राम्रो हैन जस्तो लाग्छ मलाई । पदाधिकारीले पदमा वहाल रहेकै अवस्थामा सक्रिय राजनीति गर्दा संस्था भित्रको निश्पक्षता मा प्रश्न उठ्न सक्छ या संस्था निश्पक्ष नहोला की भन्ने शङ्का बलियो रूपमा उठ्न सक्छ ।

सुवास रेग्मी ( सङ्गीत व्यवसायी, कार्यकारी निर्देशक, विन्दवाशीनी म्युजिक कम्पनी) : दुर्गा रायमाझी ज्यु प्रतिष्ठानको अध्यक्ष हुँदा मलाइ “वाइसिएल” मा मुद्दा हालेर कुटाउन लग्नु भएको हो उहाँ काङ्रेसको साङ्गीतिक विभाग (सांस्कृतिक सङ्घ) को पनि ठुलै पदमा हुनुहुन्छ ! तसर्थ अग्रजले देखाएको बाटोमा अनुजहरु छन् यो अनौठो कुरा हुँदै होइन ! रहयो कुरा सस्थाको नियम,आचार सहिता या विधान को- यस्तो कुरो गर्नु भो भने तपाईँलाई पनि माफी मागाउने आन्दोलन र कारबाहीको माग हुन्छ ! यो संस्थालाई विरोध गर्न हुन्न अनि यो संस्था सरकार भन्दा ठुलो हो र यसका सदस्य कानुन भन्दा माथीका हुन ! तसर्थ तै चुप मै चुप ! जय गीत जय सङ्गीत जप्ने बस्ने ! पैसो लिएर गीत गाउनु गायकको धर्म हो बद्री पंगेनी जीले गीत गाएको कुरामा सस्थाको विधान आकर्षित हुन्छ भन्ने लाग्दैन नैतिकताको कुरा हो भने कलाकार स्वयम्ले मनन गर्ने कुरा हो ।

रमेश राज भट्टराई (चर्चित गायक, गीतकार एवं सङ्गीतकार साथै निर्वाचित केन्द्रीय सदस्य, लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल) :जिम्मेवार पदमा बसेकाे मान्छेले आँफैले मनन गर्नुपर्ने कुरा याे हाे,संस्थागत परिधिहरु त पक्कै पनि छन् के गर्ने ,के नगर्ने भनेर।राजनीति भनेकाे व्यक्तिगत स्वतन्त्रताकाे कुरा हाे,राजनीतिक आस्था हरेक व्यक्तिले राखेको हुन्छ ,राख्ने अधिकार छ र यसबाट कलाकाहरू पनि अछुतो छैनन् ।रह्यो प्रतिष्ठानकाे कुरा, प्रतिष्ठानका अध्यक्ष लगायत धेरैले पार्टीगत गीत गाउनु भएको छ त्यो वहाँ हरुकाे स्वतन्त्रता को कुरा हो र त्यस्काे नतिजा के आउला त्यो यसै भन्न सक्ने अवस्था छैन ।स्मरण रहाेस् प्रतिष्ठानको विधानमा कुनै पनि कार्यसमितिका सदस्यले राजनीतिक गीत गाउन नपाउने वा राजनीति गर्न नपाउने भनेर उल्लेख गरिएको छैन ।

(तेजश रेग्मी , लोक दोहोरी गायक) : यसरी अग्रज कलाकारहरू पदमा वहाल रहेकै अवस्थामा खुलेआम पार्टीको झन्डा बोकेर हिड्दा भोलीका नयाँ कलाकारले अनुशासन तोडेको अवस्थामा संस्थाले कसरी नियंत्रण गर्न सक्ला ? कलाकारलाई राष्ट्रको गहना मान्ने दर्शक र श्रोता लाई ज़बाफ के दिने । छाता सङ्गठनको अध्यक्ष नै पदमा रहदै पार्टीको झोला झन्डा बोक्छन भने संस्थाका निर्णय कसरी निष्पक्ष होलान् ? पार्टी या सिद्धान्त प्रति आस्था र झुकाब भयको नराम्रो होइन तर एत्तीविघ्न जातीबिती गरेर पार्टीको सती गएको देख्दा चैँ विरक्त लागेर आयो । कलाकार साझा हुनुपर्छ । झोले भएको जाती हैंन । संस्था बाहिर रहेका ले जे सुकै गरुन पदाधिकारीहरू र अध्यक्ष नै त्यसरी लागेपछी राम्रो भएन । त्यसरी संस्थाको नियम विपरीत जाने लाई कड़ा कारबहि गर्नु पर्छ । यदि संस्थाको कुनै नियम क़ानून छ भने ।

दुर्गा पंगेनी – श्रोता एवं साङ्गीतिक शुभ चिन्तक (फेसबुक स्टाटस): मान्छे धेरै समय तटस्थ या मौंन बस्न सक्दैन ! समर्थन या विरोध गर्नु मानवको प्रकृति प्रदत्त गुण हो ! अहिले माहोल चुनावमा राजनैतिक दलको समर्थन र विरोध मा भन्दा “बद्री पंगेनी”ले गाएको एमालेको “पार्टी गीत” को समर्थन र विरोधमा बढी तातेको पाइयो । “राजनीतिमा लाग्नु” र “राजनीति गर्नु” फरक कुरा हुन । बद्री पंगेनी संस्था भित्र राजनीति नगरीकनै पनि दलगत (एमालेको) राजनीति मा लाग्न पाउने की नपाउने ? भन्ने मेरो प्रश्न हो । सामाजिक सञ्जालमा पार्टीको गीत गाएको कुरा लाई लिएर जत्ति विरोध गरे जान्ने बुझ्ने हरुले “सचेत नागरिक” को हैसियतले कुनै पार्टीको समर्थन गर्नु अथवा राम्रो कलाकारको हैसियतले कुनै पार्टीलाई सहयोग गर्नु या मन परेको विचारको प्रचार गर्नु गलत नै हो भनेर कसैले प्रमाणित गर्न सक्ला र ?

जोहन छन्त्याल -डिजे एवं ईभेन्ट अर्गनाईजर जापान (फेसबुक स्टाटस) : मलाई सबै भन्दा मन पर्ने लोक दोहोरी गायक बद्रि पंगेनी हो । सबै कलाकारमा राजनीति आस्था हुन्छ तर भर्खरै निर्वाचित दोहोरी प्रतिष्ठानको अध्यक्ष बद्रि पंगेनी एमालेको भजन गाएको देखेर एकदम दुखित बने । यस्तो जिम्मेवारी स्थानमा पुगेको व्यक्ति एउटा पार्टी को झन्डा बोकेर हिद्छ भने फरक विचार राख्ने सदस्यहरूको प्रतिष्ठान भित्र कस्तो हालत होला ? लोक सङ्गीतका धरोहरहरु पुरुषोत्तम न्यौपाने, राधिका हमाल, बद्रि पंगेनी राजनीति पार्टीको झन्डा बोकेर गीत गाउनु भन्दा जनताको पक्षमा चुनावमा जाऊ राम्रो मान्छे चुनौ, मतदान यसरि गरौँ सबैलाई सामेल गराऔ, पहिले मतदातामा नाम चेक् गरौँ भन्ने प्रकारका चेतनामुलक गीत गएको भए कति राम्रो हुने थियो होला ? कलाकार पार्टी को होइन राष्ट्रको बनौ, पार्टीको होइन राष्ट्र को गीत गाउँ बल्ल मात्रै राष्ट्रिय कलाकार हुन्छ होइन भने पार्टीको कलाकार भन्दा फरक नपर्ला । कलाकार चुनावमा प्रयोग नहुन र सारा नेपालीहरूले हाम्रो र राम्रो कलाकार भन्न मिलोस ।

बिमल अधिकारी ( मोडल एवं सङ्गीत व्यवसायी ):एक किसिमले भन्नुपर्दा यदि उहाँले सम्पूर्ण पार्टीको गीत गाउनु हुन्छ भने त्यो अलि जायज होला नत्र संस्था मा बसेर या कलाकारिता मा लागेर म यो पार्टी को हो भनेर चिनिनु अलि राम्रो नहोला हुन त मान्छे को आफ्नो ब्याक्तीगत अधिकार हो ।कलाकार मात्र होइन हरेक जनता राजनीति प्रति सचेत हुनु पर्दछ । राजनैतिक दल का गीत गाएपनि अध्यक्ष ज्यु संस्था प्रति चाही ईमान्दार हुनु पर्दछ । हजारौँ कलाकार ले आस्था राखेको संस्था मा राजनीति घुसाउन पाईदैन । दल प्रति झुकाव राख्नु वहाको नैसर्गीक अधिकार हो तर कलाकार को सस्थामा बसेर अगुवाई गरेर कुनै पार्टी को समर्थनमा चुनावी गीत गाउनु त्यो सम्पूर्ण श्रोताको कलाकार हुन सक्दैन र सम्पूर्ण कलाकारको अगुवा हुन पनि सुहाउदैन । त्यसरी राजनीति गर्ने हो भने दुई मा एक रोज्नु उपयुक्त होला । या पार्टी या प्रतिष्ठान ..। ती कलाकर हरू जसले पार्टीको गीत गायका छन् त्यो त्यही पार्टीको मात्र कलाकार हो जस्तो देखिन्छ । पार्टीमा सक्रिय कलाकारले संस्था लाई निश्पक्ष राखेर न्याय गर्न सक्छ या चाहन्छ जस्तो लाग्दैन ।

अन्जली शर्मा-श्रोता (फेसबुक स्टाटस) – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल को पछिल्लो अधिवेशन २०७३ मा विधान संशोधन एवं परिमार्जनको जिम्मेवारी बोकेका संस्थापक एवं दुई कार्यकालका अध्यक्ष प्राण “दुर्गा रायमाझी” ज्यु ले प्रतिष्ठानमा आबद्ध कलाकार प्रत्यक्ष राजनीतिमा लाग्ने हो भने पहिला राजीनामा गर्नेछ अन्यथा केन्द्रीय कार्य समितिको पूर्ण बैठक ले निज राजनीतिमा लागेको कलाकार लाई कस्तो कारबाही गर्ने भन्ने टुंगो लगाउने छ । कार्य समितिबाट हटाउने या साधारण सदस्यता समेत खारेज गर्न सक्ने छ भनेर भाषण गर्नुभाथ्यो । त्यसको रेकर्ड होला नै । अहिले प्रतिष्ठान कै अध्यक्ष बद्री पंगेनी, कार्य समिति सदस्य वैकुण्ठ महत लगायतका केन्द्रीय पदाधिकारी हरू नै विभिन्न दलको गीत गाउदै राजनीति मा लागे … !!बद्री पंगेनी माथि अर्को गम्भीर आरोप समेत लाग्दै आएको छ । मन मिलेका र पार्टी मीलेका लाई मात्र स्टेज कार्यक्रम र मेला महोत्सवमा लैजाने विरोधी र उ त्यो नमिल्ने लाई महोत्सवमा पर्नै नदिने गर्छन् रे …!! (त्यसरी काखा पाखा गर्नु राजनीति हो की हैन ) अव उनीहरूलाई बन्द सत्रमा घोषणा भए जस्तो कारबाही होला त ? हुन त प्राज्ञ दुर्गा रायमाझी आफै नेपाली काँग्रेस को झोला बोकेर प्राज्ञ हुनुभएको हो । सांस्कृतिक सङ्घ को महत्त्वपूर्ण जिम्मेवारीमा हुनुहुन्छ कारबाही त कसले गर्नु र ..तै पनि कलाकार हरुका अगुवा हरू मै बाटो हगुवा भएको देख्दा उनीहरूले चुनाव ताका गरेको बाचा पानीमा पादे सरहको रैछ भन्ने कुरो बुझ्न गाह्रो भएन ….!!

(माथि सबै कलाकारहरुका निजि विचार हुन् केहि सम्पादन गरिएको छैन र फेसबुक स्टाटस पनि हुबहु कपि गरिएको हो )