नेता खोला तर्छन् लौरो बिर्सन्छन् ! - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

नेता खोला तर्छन् लौरो बिर्सन्छन् !



टोपलाल अर्याल
गुल्मी । सत्यवति गाउँपालिका ६ का हुमनाथ भण्डारीको खेत बडिघाट खोलाले बगाएको पाँच बर्ष भयो । त्यसपछि पनि उनले तीन पटकका चुनावमा भोट दिए । तीनवटै चुुनावमा भोट माग्न आउने जुनसुकै उमेदवारसँग पनि उनी खोला कटान रोक्न माग गरे । यो उनको मात्र माग थिएन् । ढाव गाउँका नौ घर परिवारको पुरानो समस्या हो । खोलाले सिंङ्गो गाउँको २५/२६ रोपनी खेत बगाएको छ ।

वर्षैपिच्छे खोलाले खेत कटान गरिरहेको छ । नेताहरुले पनि भोट माग्न छाडेका छैनन् । तर ढावका नागरिकको पाँच बर्षदेखिको समस्या जस्ताको त्यस्तै छ । ‘पाँच बर्षदेखि जिल्ला र नेता धाएका छाँै, कसैले माखो मारेनन्,’उनले भने,‘भोट माग्ने बेलामा ठिक्क पार्न आउने मात्र हुन् ।’ ठेकेदारको लापरबाहीका कारण खोलामा ढुंगा र बालुवा निकाल्दा समस्या आएको उनले बताए ।

०७० सालमा डाक्टर कृष्ण छन्याल र सुर्वण ज्वारचनलाई सांसद बनेर गएपछि कुनै दिन फर्केर नआएको भण्डारीले गुनासो गरे । ‘उहाँहरुले कामको त सिन्कोसम्म पनि भाँच्नु भएन, बाढी आउँदा समेत कुनै दिन नजर गएन,’उनले भने,‘मैले जितेपछि दुवै जनालाई सदरमुकाममा एक पटक मात्र देखेको हुँ ।’

सोही स्थानकी मिना शाही बाढी र भुकम्प पीडित हुन् । उनको खेत बाढिले र घर भुकम्पले लग्यो । उनलाई अहिले भोट माग्ने नेता देखेपनि रिस उठ्छ । ‘सबै भोट कै लागि त हुन्, खै ! हाम्रा लागि को आए ?,’ शाहिले प्रश्न गरिन्,‘कसलाई भोट दिएर के भयो ।’ घर भुकम्पका कारण पूर्णरुपमा क्षति पुगेको छ । राहतको लागि प्रहरीमा पाँच÷छ पटक धाउँदा दुई/तीन हजार खर्च भएपनि केहि नभएको गुनासो पोखिन ।

‘चौकीमा जाँदा तपाईको कोहि अध्यक्ष वा सदस्य छैनन भनेर सोध्छन्,’उनले भनिन्,‘यहाँकाले जिल्ला बताउँछन्, म एकल महिला एक महिना बाह्र दिन खेतमा पाल टाँगेर बसे ।’ उनले जसरी भोट माग्न आउँछन, त्यसरी काम पनि गरे भोट दिए जस्तो हुने बताइन् ।

मुसिकोट नगरपालिका ६ भुवाचिदी बजारका स्थानीय वर्षा सुरु भएपछि सधै आकाश हेरेर ओछ्यान लगाउछन् । सिंगो बजार नै बडिघाट खोलाको जोखिममा छ । समस्या समाधानका लागि चुनावी नारा बाहेक तत्काल कुनै ठोस योजना छैन् । अहिले चुनाव जित्ने नेताहरुलाई हर्षबडाई छ । हार्ने नेताले जिम्मेवारी बिहिन भएको जवाफ दिन्छन् । तर बजारबासी सधै नजिकैको खोला सम्झन्छन् । ‘खोला बढ्न थाले र पानी परे आँखा चिम्लिदैनौ,’सोहि स्थानका हर्कबहादुर थापाले भने,‘ अब खोला उर्लिए घर रहँदैन ।’

सवै पार्टीका नेतालाई जहिले पनि भोटकै चिन्ता भएकाले कसैले पनि खोलातिर नजर लगाउने फुर्सद नभएको भन्दै थापाले गुनासो गरे । ‘भोट माग्नेलाई नदि कटानको समस्या बताएका छाँै,’ उनले भने,‘आफूहरुको समस्याप्रति सवै नेता र दल उदासिन छन् ।’

सोहि स्थानका कर्णबहादुर खत्रीको परिवार पनि वर्षायाम सुरु भएसँगै ढुक्कले निदाउँदैन् । ‘जमिन सवै अघिल्लो बर्ष लग्यो, अव घरहरुको पालो हो,’खत्रीले भने,’ समस्या ज्युका त्यु छ, कहिले बगाउने हो पत्तो छैन् ।‘ आफूहरुको समस्याका बारेमा हिउँदमा नेताहरुले आँखा चिम्लिएकाले यो वर्षा पनि ढुक्कले ननिदाइने पक्का भएको उनले बताए । ‘चुनाव आएर मात्र नेता गाउँ आए, नत्र फर्केर हेर्दैनन,’ उनले भने,‘आफ्ना समस्या नहेरेपछि कसलाई नेता भन्ने ।’

गत वर्ष बडिघाट खोलाले कटान गरेपछि मुसिकोट नगरपालिका कुर्घा ६ भुवाचिदी बजारनै जोखिममा परेको छ । खोलाले बस्ती कटान गर्दै गएपछि भुवाचिदी बजारका झण्डै ६० घर धुरी बाढीको उच्च जोखिमा रहेको स्थानीय शिक्षक सुकदेव रिजालले बताए । गत बर्ष सोहि स्थानकी गीता तामाङको २० लाख बराबरको खेत, पूर्णलाल आचार्यको खेत खोलाले कटान गरेर लगेको थियो । त्यस्तै बाढी बस्तीमा पस्न थालेपछि हर्क थापा, रामप्रसाद खरेल, गोमा खत्री, नरहरी सापकोटा, नरबहादुर थापा, राम सुनार, गोपाल रायमाझी लगायतको घर जोखिममा परेको उनले बताए ।

त्यस्तै त्रिभुवन मावि र युनिक चिल्ड्रेन ऐकेडमी पनि उच्च जोखिममा रहेका छन् । नदिले एक हेक्टर क्षेत्रफल कटान गरेको छ । तत्कालै समाधान गर्ने कुनै ठोस काम नभएपनि तटबन्दको सानो प्रयास भैरहेको स्थानीय समाजसेवी ज्ञानहरी सापकोटाले बताए । अहिलेसम्म जलउत्पन्न प्रकोप बिभागको पाँच लाख, जिल्ला समन्वय समितिको एक लाख ९२ हजार र गाविसको ७२ हजारको लगानीमा काम जाली लगाउने काम भइरहेको छ । त्यस्तै जिल्ला भूसंरक्षण कार्यालयले ४५ थान जाली पनि उपलब्ध गराएको सापकोटाले बताए । कुनै न कुनै उपायबाट बढिघाट खोलाले क्षति पु¥याएका स्थानहरुको संरक्षण गरिने नवनिर्वाचि गुल्मी क्षेत्र नं १ का सांसद प्रदीव ज्ञवालीले प्रतिबद्धता व्यक्त गरे । उनले केहि समयमै त्यस्ता परिवार र स्थानको लगत संकलन गरेर काम थालिने बताए ।