गठबन्धनलाई जिताउन अखिल (क्रान्तिकारी) द्धारा विभिन्न समितिहरु गठन - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

गठबन्धनलाई जिताउन अखिल (क्रान्तिकारी) द्धारा विभिन्न समितिहरु गठन



गुल्मी : नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले आगामी मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनमा बाम गठबन्धनका उम्मेद्धारहरुलाई जिताउन भन्दै विभिन्न समितिको गठन गरेको छ ।

शनिबार सदरमुकाम तम्घासमा सम्पन्न अखिल क्रान्तिकारीको भेलाले निर्वाचनलाई लक्षित गर्दै जिल्ला, क्षेत्र र प्रदेशस्तरका निर्वाचन परिचालन समितिहरु गठन गरेको जनाएको छ । संगठनका जिल्ला संयोजक भरत चन्दको संयोजकत्वमा १ सय ५१ सदस्यिय जिल्ला निर्वाचन परिचालन कमिटीको गठन गरिएको छ । जसको सदस्यहरुमा संगठनको तर्फबाट स्ववियुमा जित हासिँल गरेका सदस्यहरु, जिल्लाभित्रका क्याम्पसका इकाई अध्यक्षहरु, पूर्व इकाई अध्यक्ष तथा संगठनमा क्रियाशिल रहने विद्यार्थीहरु रहेका छन् ।

भेलाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को लागि अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य घनश्याम खरेल र प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को लागि दधिराम खनालको संयोजकत्वमा क्षेत्रिय निर्वाचन परिचालन कमिटीको गठन गरेको छ । त्यसैगरि जिल्लामा रहेका ४ वटा प्रदेशको लागि पनि संगठनले ‘निर्वाचन परिचालन कमिटी’ को गठन गरी संयोजक समेत तोकेको छ । जसअन्तरगत प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा १ को लागि बालेन श्रेष्ठ र प्रदेश सभा २ को लागि किसान पाण्डे रहेका छन् । त्यस्तै प्रतिनिधि निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा १ मा भरत चन्द र प्रदेश सभा २ मा राजन केसीले संयोजकको जिम्मा पाएको संगठनका जिल्ला सचिवालय सदस्य गोपाल भण्डारीले जानकारी दिए ।
संगठनको भेलाले आगामी निर्वाचनमा संगठनमा आवद्ध सम्पूर्ण विद्यार्थीहरु सक्रियताका साथ प्रचार प्रचारमा लाग्ने, सम्पूर्ण विद्यार्थीहरु आ–आफ्नो क्षेत्रमा दुवै पार्टीका स्थानिय नेताहरुसँग घरदैलो अभियानमा जाने निर्णय गरेको छ । केन्द्रको निर्देशनअनुसार निर्वाचनमा विद्यार्थीहरुले भूमिका खेल्ने तथा निर्वाचनमा जादाँ विपक्षिलाई आक्षेप नलगाइकन प्रचार गर्ने, पूर्ण अनुशासनमा रही निर्वाचनको प्रचार गर्ने लगायतका महत्वपूर्ण निर्णयहरु गरेको संगठनले जनाएको छ ।

केन्द्रमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बाम गठबन्धन बनाएपछि एमालेलाई ६० र माओवादी केन्द्रलाई ४० प्रतिशत सिटको उम्मेद्धारको टिकट दिने सहमति भएको थियो । जिल्लामा रहेका २ प्रतिनिधि र ४ प्रदेश सभाका लागि गठबन्धनमा एमालेले प्रतिनिधिसभाका २ र प्रदेश सभाका २ सिट तथा माओवादी केन्द्रले प्रदेश सभामा २ सिटको टिकट पाएका छन् । गठबन्धनको तर्फबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका केन्द्रिय सचिव प्रदिप ज्ञवाली र २ मा अर्का केन्द्रिय सचिव गोकर्ण विष्ट चुनावी मैदानमा छन् ।

त्यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश १ मा बाम गठबन्धनबाट माओवादी केन्द्रका सुदर्शन बलाल र प्रदेश सभा २ बाट एमालेका कमलराज श्रेष्ठले उम्मेद्धारी दर्ता गराएका छन् । प्रतिनिधिसभा निर्वाचन २ को प्रदेश सभा १ मा एमालेका खड्ग केसी र प्रदेश सभा २ मा माओवादी केन्द्रका केन्द्रिय पोलिटब्युरो सदस्य दिनेश पन्थी उम्मेद्धारी दर्ता गराई चुनाव प्रचारमा लागेका प्रेस चौतारीका अध्यक्ष शिव सुवेदीले जानकारी दिए ।