ट्रेलर देखाएका गोकर्ण विष्टको फिल्म देखाउने पालो ! - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

ट्रेलर देखाएका गोकर्ण विष्टको फिल्म देखाउने पालो !



किङ खनाल

२०६५ सालमा जनताले एउटा ऊर्जाले भरिएको उर्जामन्त्री देखे जसले ठुला ब्यापारी र सरकारी कार्यालयको बिजुलीका तार काटेर बहादुरी देखाएका थिए । उनको त्यो बहादुरीको कथाभित्र जनताको ठुलो आशाका रिल अड्केका थिए । संभवत गोकर्ण विष्टलाई सबैभन्दा बढी उचाइ प्रदान गर्ने र जनतामा विष्टले केही गर्छन् कि भन्ने आशा भर्ने मिठो समय थियो । छोटो कार्यकालमा उनले जति काम देखाए त्यो ट्रेलरको हिसाबले बुझ्ने हो भने अब विष्टले पुरै फिल्म देखाउनु पर्छ । उनले देखाउने फिल्मको दृश्य भने त्यति सजिलो भने छैन ।

गोकर्ण विष्ट श्रम तथा रोजगार मन्त्रालय सम्हाल्न दोस्रो पल्ट सरकारी पर्दामा देखिएका छन् । उनी मन्त्री बन्दा दुई खाले तरङ्ग श्रीजना भएका छन् पहिलो जनताका हड्डी हाँसेका छन् भने दोस्रो म्यानपावर व्यवसायीको प्रेसर बढेको छ । एकातिर ओली प्रधानमन्त्री बनेको केही दिनमै देशका सबै म्यानपावर बन्द हुन्छन् भन्दै दहाडेका थिए भने अर्कोतिर विष्टले लाइन काटेजस्तै म्यानपावरको लाइन क्लियर गर्ने त होईनन भन्ने त्रासले खोलाको किनारामा परेका माछा जस्तै बनेका छन् म्यानपावर व्यवसायी । खासमा नेपालका म्यानपावर व्यवसायीहरू ब्वाँसा बनिसकेका छन् । समस्या त यो मात्र होइन सबै भन्दा बढी चलखेल र भ्रष्टाचार हुने श्रम मन्त्रालयका कर्मचारी र इर्द गिर्द चर्ने दलालको निन्द्रा पनि हराम भएको छ ।

देश हल्लाउने र सरकारलाई प्रभाव पार्न सक्ने यी मान्छे बेच्ने थोक व्यापारीलाई तह लगाउन भने फलामकै चिउरा चवाउनु सरह छ तर असम्भव भने छैन ।

लोकप्रियता कमाउन त यो क्षेत्रमा केही गर्नु पर्दैन जम्मा २-४ कुराको घोषणा मात्र गरे पनि पुग्छ । तर काम गर्न भने निकै दलदल छ, हिजो देखाएको बहादुरीको कैयौँ गुणा बहादुरी देखाउन सक्नु पर्छ । म्यानपावर कम्पनी र श्रम मन्त्रालयमा हुने खुल्लम खुल्ला तस्करी र ठगीको किच्चड सफा गर्नु पर्छ । त्यो मात्र होइन विदेश पुगेर कामदारले पाउने सास्तीमा यो मन्त्रालय साथी बन्न सक्नु पर्छ ।

श्रमका समस्या पछाडि अझै ठुलो पहाड रोजगार मन्त्रालय बन्ने छ उनलाई । बाम गठबन्धनले भोट माग्दा बेचेका धेरै बाचा पनि यही मन्त्रालय अन्तर्गत नै पर्छन र ती बाचाको भरपाई विष्टले नै गर्नुपर्ने भएको छ जनतासँग । ५ वर्ष भित्रमा श्रोत र साधन जुटाएर देशमा रोजगारी श्रीजना गर्ने कुरा पनि सामान्य भने होइन । त्यसैले अब गोकर्ण विष्टले फिल्म कस्तो देखाउलान भनेर जनताले बढी आशा गर्नेछन ।

हरेक ठुला चुनौतीका पछाडि अवसरका झन् ठुला सम्भावना पनि झुन्डिएका हुन्छन् । ती सम्भावनालाई केलाएर अगाडी बढे भने उनलाई यो ठुलै अवसर पनि हो । आवेग र उत्तेजनामा आएर लोकप्रिय मात्र बन्ने गरी भन्दापनि गहन अध्यन गरेर समस्या जरैदेखि पहिलाएर अगाडी बढ्ने हो भने उनले देखाउने फिल्मको मात्र होइन वास्तविक हिरो सम्झनेछन जनताले ।