मौराखारा गुरिल्ला म्याराथनको उपाधि अर्जुन बस्नेतलाई - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

मौराखारा गुरिल्ला म्याराथनको उपाधि अर्जुन बस्नेतलाई



रुकुम(पश्चिम)। जिल्लामा भएको सानीभेरी मौराखारा गुरिल्ला म्याराथनमा सानिभेरी गाउँपालिका– ३ का अर्जुन बस्नेतले उपाधि हात पारेका छन् । अर्जुनले तीन घण्टा पन्ध्र मिनेटमा २३ किलोमिटर दुरी पार गरेका थिए । त्यस्तै दोस्रो स्थानमा मुसिकोट नगरपालिका ६ का दुर्गराज बुढा भएका छन् । उनले तीन घण्टा सत्र मिनेटमा सो दुुरी पार गरेका थिए । तेस्रो स्थानमा नौबनी गाउँपालिका प्युठानका दामोदर बुढा रहेका छन् । उनले तीन घण्टा उन्नाइस मिनेटमा दुरी पार गरेका थिए ।

सानीभेरी गाउँपालिकाको पर्यटन विकासको लागि आयोजना गरिएको गुरिल्ला म्याराथनले सानीभेरी गाउँपालिकाको विभिन्न पर्यटकीय क्षेत्रहरू समेटिएको छ । सानीभेरी गाउँपालिकाको पूर्वदेखि पश्चिम भागसम्म बग्ने सानीभेरी नदी तथा तत्कालीन जनययुद्धमा जनमुक्ति सेनाले तालिम गरेको स्थान मौराखारा आफैमा ऐतिहासिक महत्व बोकेको क्षेत्र हो । समुद्री सतहबाट ३ हजार मिटरको उचाईमा रहेको मौराखाराबाट विभिन्न जिल्लाहरूको अवलोकन गर्न सकिने र विशाल फाँट भएको रमणीय स्थल हो । मौराखारा रुकुम(पश्चिम) कै युद्ध पर्यटकीय स्थलको रूपमा रहेको छ ।

गुरिल्ला म्याराथन बिहान ७ः ५० बजे सानीभेरी गाउँकार्यपालिकाको प्रांगणबाट सुरु भएको थियो । सानीभेरी नदी पार गरी पर्यटकीय स्थल मौराखारा हुँदै टुरा, चाख्लीमेला, सानीभेरी र ठुलिभेरी नदीको संगम स्थल रिम्ना दोभान, जाजरकोटको रिम्ना, रुकुम, पश्चिमको चाइनाबगरबाट मध्यपहाडी लोकमार्ग हँुदै पुन बिहान ११ः०५ मा सिम्लीमा रहको गाउँकार्यपालिका कार्यलयमा पुगी म्याराथनको समापन भएको थियो । प्रतियोगी पहिलो, दोस्रो र तेस्रो आइपुग्ने समय २÷२ मिनेटको फरक रहेको थियो । सानीभेरी गाउँपालिकाले मौराखारा क्षेत्रलाई पर्यटकीय स्थल निर्माण गर्न प्याराग्लाइडिङ, भ्यू टावर तथा सिम्लीबाट मौराखारा केवलकारको विस्तार गर्ने आफ्नो गुरुयोजनामा समाबेश गरेको छ ।

म्याराथनमा १७ जना प्रतियोगीले भाग लिएका थिए । विभिन्न रुटहरू गरायलाको पेदी, तिमीले, कमैदे, नाग्ना, चेत्रे ओढार, मौराखारा टप मुलथला, टुरा, चाख्लीमेरा, गौरा, रिम्ना, चाइनाबागर, गिठाकोट क्षेत्रहरूमा स्वयं सेवक तथा प्राथमिक उपचारको टोली खटाइएको थियो ।
उक्त म्याराथमा प्रथम हुनेले नगद रु ५० हजार, कप, मेडल र प्रमाणपत्र, दोस्रो हुनेले नगद रु ४० हजार, मेडल र प्रमाणपत्र, तेस्रो हुनेले नगद रु ३० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।